तंग्रने प्रयासमा भूकम्प र नाकाबन्दीले थलिएको सौराहा
सौराहा – वैशाख १२ को भूकम्प र झण्डै ६ महिनाभन्दा लामो नाकाबन्दीले थलिएको सौराहाको पर्यटन व्यवसाय विस्तारै उकालो लाग्न थालेको छ । भूकम्पले कुनै क्षति नपुगे पनि लामो समय सौराहा सुनसान थियो । अब सौराहा घुम्दै रमाउनेहरुको विस्तारै आवतजावत बढ्दै गएको पर्यटन व्यवासायीहरु बताउँछन् । लामो समयदेखि लागेको अघोषित नाकाबन्दी खुलेसँगै सौराहमा पर्यटकको आवागमन विस्तारै बढ्ने क्रममा रहेको क्षेत्रीय होटल व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन घिमिरे बताउँछन् । ‘भूकम्पपछि सौराहामा पर्यटकको आवागमन ह्वात्तै घटेको थियो, विस्तारै पर्यटक आउने क्रम बढ्दै छ,’ घिमिरेले भने, ‘अहिले नाकाबन्दी खुलेसँगै विस्तारै पर्यटक बढ्दैछन् ।’ भूकम्पपछि अहिलेसम्म कति पर्यटक आए ? गएको वैशाख यता झण्डै ५० हजार पर्यटक निकुञ्जको पूर्वी सेक्टरबाट मात्र सौराहा छिरेका तथ्याङ्क छ । यो संख्या गएको वर्षभन्दा निकै कम रहेको पूर्वी सेक्टरका छत्र बहादुर खड्काले जनाए । गत १२ वैशाखमा भूकम्प गएकोले पर्यटकको आवागमन ह्वात्तै घटेको चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा छ । गत वैशाखमा ९ हजार ३ सय २१ पर्यटक सौराहभित्र घुमेका छन् । यसैगरी भूकम्प गएको कारण जेठमा पर्यटकको संख्या एकदमै घटेको छ । जेठमा जम्मा १ हजार ४ सय ५६ जना पर्यटक पूर्वी सेक्टरबाट सौराहामा पसेका छन् । यसैगरी असारमा १ हजार ३ सय ९५, साउनमा २ हजार ४ सय ८३ भदौमा २ हजार २० पर्यटक सौराहा आएको तथ्याङ्क छ । असोजमा ३ हजार ९ सय २४, कात्तिकमा ७ हजार २ सय ५१, मंसिरमा ५ हजार १ सयर ८९ पर्यटक सौराहा घुमेका छन् । यसैगरी माघमा ७ हजार २ सय ३१ पर्यटक चितवनको सौराहा आएका छन् ।
किन जाने सौराहा ?
सौराहामा हात्ती सफारी, घोडा सफारी, जंगल वाक, बोटिङ र स्थानीय थारु समुदायलगायतका सांस्कृतिक कार्यक्रम हेर्नुका साथसाथै विभिन्न जनावरहरुको बारेमा अध्ययन गर्न सकिन्छ । सौराहमा पाईने सबै प्रजातिका जनावरहरुको अवेशष संग्राहलयमा देख्न पाइन्छ । यसैगरी हात्ती प्रजनन् केन्द्रमा छावासहितका हात्ती हेर्दा समय कटेको पत्तै हुन्न । त्यसैले सौराहामा वर्षैभरि पर्यटक डुल्छन् । चितवन राष्ट्रिय निकुञ्जबाहिर राप्ती किनारको बस्ती सौराहा । उत्तर–दक्षिण फैलिएको सौराहा बजारमा होटल, रिसोर्ट र रेस्टुरा छन् । सयभन्दा बढी होटल छन् । निकुञ्जमा ५०३ गैंडा, लगभग १५० बाघ छन् । जंगल सफारीमा जरायो, बँदेल, चितुवा, बाँदर, मयुर पनि अनगिन्ति देखिन्छन् । बर्ड वाचिङ मात्रै गर्न पनि विदेसी आउँछन् । जंगलमा जीवजन्तु, मृग, रतुवा, जरायो, नीलगाई, बाघ, गैंडा, चरा आदि पनि प्रसस्त छन् । वसन्त ऋतुमा केही चराले बच्चा कोरल्छन् । चराहरु आफ्ना बचेरासँगै नदी छेउमा डुल्छन् । नदिको नजिकै किनारामा गोहीहरु देख्न पाइन्छ । काठे डुंगामा बोटिङ गर्दै तलतल बग्दै जाँदा किनारतिर थरीथरीका चरा हेर्न पाइन्छ । साथै सौराहाबाट साइक्लिङ गर्दै बीस हजारी ताल समेत घुम्ने व्यवस्था छ । पर्यटन व्यवसायी केशव पाण्डेकाअनुसार सौराहमा हात्तीमा चढेर नुहाउने व्यवस्था छ । यो वर्षको सूरुवातादेखि संचालन गरिएको युनाइटेड हात्ती सञ्चालन सहकारी लिमिटेडले टिकट काटेर नुहाउने व्यवस्था मिलाएको छ । राप्तीमा हात्तीसँगै १५ मिनेट नुहाएको जम्मा एक सय रुपैयाँ पर्दछ । ‘पुस–माघ बाहेक १० महिना हात्ती स्नान गर्न सकिन्छ’ पर्यटन व्यवसायी पाण्डेले भने, ‘बिहान जंगल सफारी सिध्एिपछि हात्तीलाई राप्तीमा नुहाइन्छ । त्यही बेला पर्यटकलाई हात्तीसँगै स्नान गराईन्छ ।’
यसरी नामाकरण गरियो चितवन राष्ट्रिय निकुञ्ज पहिले शाही चितवन राष्ट्रिय निकुञ्ज) (चितवन राष्ट्रिय निकुञ्ज) नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना सन् १९७३ मा गरिएको हो । यसलाई १९८४ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो । यसको क्षेत्रफल ९३२ किमी स्क्वायर (३६० वर्ग माइल) छ । यसको अवस्थिति उचाई तल्लो नदी उपत्यकामा १०० मी (३३० फिट) देखि चुरे पहाड क्षेत्रमा ८१५ मी (२,६७४ फिट) सम्म रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज नेपालको मध्य तराईमा अवस्थित छ, जुन जैविक विविधताको लागि धनी छ । यस निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको छ । सबै प्रकारका प्रशासनिक कामहरू कसराबाट नै हुने गर्दछन् । सन् १९५१ सम्म चितवन उपत्यका तत्कालीन शासकहरूका बीचमा सिकार खेल्नको लागि निकै प्रचलित थियो । जसले पछि गएर चितवन राष्ट्रिय निकुञ्जको रूप लियो । चितवन राष्ट्रिय निकुञ्जको मुख्यद्वार नजिकैको सहर भरतपुरबाट १० किलोमिटरको दुरीमा रहेको छ । यो निकुञ्जको भ्रमण गर्न सडकमार्ग हुँदै भरतपुर भएर टाँडीबाट भित्र पस्दै जान सकिन्छ भने भरतपुर विमानस्थलमा दैनिक उडान उपलब्ध छन् । हात्तीसँगै उँट पनि हात्ती–घोडा मात्र हैन सौराहामा उँट समेत चढ्ने सुविधा छ । पर्यटनकर्मी केशव खनालले ६ वर्षअघि भारतको बिहारबाट उँट ल्याएर सफारी सुरु गराएका थिए । उँटको जुरोमा बस्ने सिट राखिन्छ । त्यसमाथि यात्रु बसाइन्छ । त्यसपछि माहुतेले उँट डोर्याउँछन् । तर, हात्ती घोडा जसरी उँट चढेर जंगल पस्ने होइन, बजार मात्र घुम्न सकिन्छ । मुल्य र सुविधा कस्तो झण्डै ४० वर्ष नाघ्यो सौराहामा पर्यटन व्यवसाय सुरु भएको । सरकारले २०३० सालमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो । निकुञ्ज बनाएपछि पर्यटक आउन थालेको व्यवसायीहरुको भनाई छ । समयक्रम सँगै पर्यटक बढ्दै जाँदा होटल थपिदैँ गएका छन् । होटलहरु अन्तर्राष्ट्रिय स्तरका छन्, एसीयुक्त कोठा छन् । होटल परिसरमा निशुल्क वाइफाई सुविधा छ । हेल्थ क्लव, स्मिड पुल, हेलप्यिाड, वार्वीक्युवलगायतका सुविधा छ । थारू चिचर र घुगीदेखि विदेशी परिकारसम्म पाक्ने रेस्टुरा छन् । सौराहाको बाघमारामा अत्याधुनिक होटल होटल ग्रिनपार्क चलाईरहेका व्यवसायी पाण्डे बताउँछन् । हामीले अन्तर्राष्ट्रिय क्वालीटीको सेवा दिएका छौँ, ग्राहक पूर्ण सन्तुष्ट छन्, व्यवसायी पाण्डे भन्छन्, ‘त्यसैले एकपटक आएका स्वदेशी वा विदेशी पर्यटक दोहोर्याएर आउने गर्छन् ।’ होटलले पर्यटकहरु प्याकेजमा घुमाउँछन् । दुई रात सौराहा घुम्न ७ हजार रुपैयाँ लाग्छ । एक जनाको लागि एक दिनको ४ हजार रुपैयाँ लाग्छ । त्यति रकमले काठमाडौं–सौराहा बसभाडा, हात्ती सफारी, बोटिङ, सांस्कृतिक कार्यक्रम र खानालाई तिर्न पुग्ने होटल सेभेन स्टारका मेनेजर दिपक घिमिरे बताउँछन् । उनी भन्छन्, ‘हाम्रो विशेषता भनेको सस्तो प्योकजमा अन्तर्राष्ट्रिय लेभलको सुविधा दिने र पर्यटकलाई धेरैभन्दा धेरै मनोरञ्जन दिनु हो ।’ क्षेत्रीय होटल व्यवसायी संघका उपाध्यक्ष ज्ञानेन्द्र कुमार विष्टकाअनुसार सौराहामा भएका होटलबीच मुल्यभन्दा गुणस्तरमा प्रतिस्पर्धा छ । ‘हामी मूल्य भन्न्दा पनि स्ट्याण्डर यण्ड क्वालिटीमा प्रतिस्पर्धी छौं,’ विष्टले भने । कसरी पुग्ने सौराहा काठमाडौंबाट एक सय ६५ किमि रहेको सौराहा जान काठमाडौंको कान्तिपथबाट बिहान ७ बजे पर्यटक बस छुट्छन् । पर्यटक बसमा यात्रा गर्दा आरामदायी हुन्छ । बसले ५ घन्टामा सौराहा पुर्याउँछ । विषेश आकर्षण मकवानपुरे गैंडा बाघ, हात्ती, गैंडालगायतका जंगली जनावर हेर्न चितवनको सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको दिनहुँ घुईंचो लाग्ने गर्छन् । यसरी आउनेमध्ये धेरैजना घरपालुवा हात्ती या जीपमा चढेर जंगल पस्छन् । जंगलभित्र जाँदा कहिले धित मर्नेगरी जनावर हेर्न पाइन्छ । कहिले चाहिँ हेर्न खोजेको जनावर देख्न पाईंदैन । तर, हात्ती चढेर जंगल पस्दा पनि राम्रोसग गैंडा हेर्न नपाउनेहरुलाई हिजोआज राहत पुगेको छ । किनकी एउटा जंगली गैंडा मान्छे भएकै ठाउँ जंगल छेउछाउ घुम्ने गर्छ । मान्छेलाई देखेर झम्टिदैंन । उसको आनीबानी थाहा पाएपछि हेर्न जानेहरु पनि उसको केही नजिक पुगेर धित मर्नेगरी हेर्छन् । मान्छेलाई नजिक देख्दा पनि हतपति केही नगर्नेे यो गैंडालाई मकवानपुरे नामले चिनिन्छ । मकवानपुरबाट झण्डै ६ महिना अघि उद्दार गरेर ल्याइएको हुनाले यसको नाम मकवानपुरे भएको लामो समयदेखि माउतेको काम गर्दै आएका जगली चौधरीले बताए । व्यवसायीका समस्या व्यवसायी सिएन पाण्डेका अनुसार पार्क प्रवेश गर्ने पास समयअविधी बढाउन माग गरेपनि यसको सुनुवाई भएको छैन् । अहिले पार्क प्रवेश गर्ने पासको समयाअवधी १ दिनको छ । तर, व्यवसायीहरुले यसको ३ वा ५ दिन बनाउनुपर्ने माग गरेका छन् । त्यस्तै जनावर उद्दार केन्द्र स्थापना गर्न व्यवसायीहरुले पहल गरेपनि यो पनि सफल हुन सकेको छैन् । तालको छेउछाउमा टावर स्थापना गर्नुपर्ने माग पनि रहेको छ । यो कुराको लागि धेरै नै प्रक्रिया अघि बढिसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण