साउदी अरबमा विचल्लीमा परेका १० नेपाली कामदारले जरिवाना नतिरी स्वदेश फर्कन नपाउने
साउदी अरब - म्यानपावर कम्पनीको प्रलोभनमा परी रोजगारीका लागि साउदी अरब आएका १० नेपाली कामदार विचल्लीमा परेका छन् । काठमाडाँैं थापागाँउस्थित ‘अल नसिर ओभरसिज प्रालि’मार्फत् साउदीको ‘अम्जाद फइज अल ओटाबी स्टाबिलीस्ट फर कन्ट्रक्सन’ कम्पनीमा आएका ती नेपाली कामदार विचल्लीमा परेका हुन् । राम्रो काम पाउने र मनग्य दाम कमाउने आशामा यहाँ आएका ती कामदार रोजगारदाता कम्पनीले परिचयपत्रलगायतका महत्वपूर्ण कागजात नबनाइ दिएका कारण बन्दीजीवन बिताउन बाध्य भएका हुन् । बन्दीजीवन बिताउनु परेपनि आफूहरुको उद्धारमा दूतावासले समेत चासो नदिँदा स्वदेश फर्कन नपाएको उनीहरुले बताएका छन् । रातो सूचीमा सूचीकृत कम्पनी भएकै कारण २२ महिनाअघि साउदी आएका ती नेपाली कामदारको हालसम्म पनि आवास अनुमतिपत्र बनेको छैन । उनीहरु अवैध कामदारका रुपमा बस्न बाध्य भएका छन् । कामदारहरु अहिले सो कम्पनीको पश्चिमी क्षेत्र जेद्धामा रहेको शाखा कार्यालयको आवासगृहमा बस्दै आएका छन् । उनीहरुलाई यहाँ ल्याएर अन्य कम्पनीमा एकवर्ष जति लुकाएर काममा लगाइएको बताइएको छ । अवैध कामदार भएका कारण स्वदेश फर्कनका लागि यहाँको १७ देखि २० हजार साउदी रियाल अर्थात् पाँच लाखदेखि छ लाखसम्म जरिवाना भुक्तान गर्नुपर्ने बताइएको छ । ती कामदारलाई पटक/पटक प्रहरीले पक्राउ गर्दै छाड्ने गरेको छ । रकम भुक्तान नगरी स्वदेश फर्कन नपाइने भन्दै उनीहरुले उद्धारका लागि पहलको याचना गरेका छन् । “यहाँको परिचयपत्र नभएकै कारण बिरामी परेका नेपालीले औषधि उपचार समेत गर्न पाएका छैनन्,” सर्लाही बर्मपुरेका सोमन राउतले रुँदै भने – “काम छाडेको १० महिना भइसक्यो, मागेकै भरमा बाँचेका छाँ ।” म्यानपावर कम्पनीलाई रु एक लाख ३५ हजार बुझाएर आएको भए पनि कर्जासमेत चुक्ता गर्न बाँकी रहेको उनले सुनाए ।
रकम नतिरी स्वदेश फर्कन नपाइने भन्दै कामदार आत्तिएका छन् । “घर कसरी पुग्ने, हाम्रो त विजोग नै भएको छ । मलाई आठ पटक प्रहरीले पक्राउ गरिसकेको छ । करिब रु ६ लाख जरिवाना बुझाउन भनेको छ, त्यत्रो पैसा कहाँबाट बुझाउने हो ?” बाँके कोहलपुरका खड्ग बिकले पीडा सुनाए । विचल्लीमा पर्नेमा सर्लाही बर्मपुरेका सोमन राउत, सुनसरी नरसिङका कमुद्र्धिन मियाँ, सप्तरी बसवलपुरका हरिनारायण पण्डित, सप्तरी राजविराजका प्रेम नारायण झा, मोरङ नोचाका सैलुन मियाँ, अर्घाखाँची पटौतीका कृष्णप्रसाद घिमिरे, बाँके कोहलपुरका खड्ग बिक, सर्लाही बेलवाजम्दीका नथुनी साह, भुवन थापा र डम्बर सरदार रहेका छन् । पटक÷पटक जेद्धास्थित महावाणिज्य दूतावासलाई उद्धार गरिदिन आग्रह गरेपनि बेवास्ता गरिएको अर्घाखाँची पटौतीका कृष्णप्रसाद घिमिरले बताउनुभयो । “दूतावास धाउन थालेको एक वर्ष भइसक्यो” उनले भने । दूतावासका कर्मचारीले आश्वासन मात्र दिने गरेका छन् । साउदी सरकारले कम्पनी सुधारका लागि चेतावनी स्वरुप रातो सूचीमा सूचीकृत गरेको उक्त कम्पनीमा नेपाली कामदारलाई पठाएर म्यानपावर कम्पनीले महिनाँैदेखि अलपत्र पारेको बताइएको छ । रातोसूचीमा सूचीकृत भएको कम्पनीले कुनै कारोबार गर्न नपाउने, विदेशी कामदार ल्याउन भिसा नपाउने र त्यहाँ कार्यरत कामदार अन्यत्र स्थानान्तरण गर्न समेत नपाउने यहाँको कानुनी प्रावधान रहेको छ । बन्द हुने स्थितिमा पुगिसकेको कम्पनीमा आफुहरुलाई पठाएको पीडित कामदारको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण