शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सरकारी योजनामै करोडौंको रक्तचन्दन तस्करीको चलखेल

बिहीबार, २० फागुन २०७२, ०८ : ३९
बिहीबार, २० फागुन २०७२

वनमन्त्रीले रोके स्थानान्तरण नुवाकोट–नेपालमा बेचविखनका लागि कानुनतः प्रतिबन्धित मानिएको अवैध रक्तचन्दन सरकारी योजनामै तस्करी भइरहेको छ । भारतबाट नेपाली भूमी हुँदै चीनतर्फ तस्करी हुने क्रममा यसअघि विभिन्न समयमा बरामद भएको ठूलो परिमाणको तस्करीको रक्त चन्दन सरकारकै मिलेमतोमा तस्करी हुने लागेको रहस्य खुलेको हो । उत्तरी चीनतर्फको सीमानाका रसुवा जिल्लामा प्रहरीद्धारा बरामद भएका विगत ९ वर्षअघिदेखिको करिब १४ हजार किलो रक्तचन्दन असुरक्षाको कारण देखाउँदै सरकारी स्तरबाटै ठाउँ सार्ने बहानामा बेच्ने तयारी भएको छ ।

वन मन्त्रालयको निर्देशनमा चन्दन राजधानीस्थित वन विभागमा बुधवार नै ल्याउने तयारी भएको थियो । ठाउँ सारी गर्ने नाममा बीचैबाट अन्य प्रजातिका काठसँग साटेर तस्करी गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेका छन् । विरोधपछि विभाग ल्याउने योजना स्थगित भएको जिल्ला वन कार्यालय रसुवाले जनाएको छ । स्थानियको विरोधपछि वनमन्त्री अग्नीप्रसाद सापकोटाले त्यसको आवश्यक प्रक्रिया पुरा गरेर मात्रै ल्याउन निर्देशन दिएपछि उक्त चन्दन लैजाने योजना स्थगित गरिएको वन कार्यालय रसुवाकी प्रमुख उमा पौडेलले जानकारी दिइन् । ‘मन्त्रीज्यूले त्यसको फाइल हेरेर र अध्ययन गरेर मात्रै चन्दन स्थानान्तरण पछि गर्नेगरी विभाग लाने योजना स्थगित गर्न निर्देशन दिनुभएको छ, उनले भनिन्, ‘कानुनी प्रकृयामा टेकेर मात्रै सानुपर्ने उहाँकै निर्देशनपश्चात् रोकिएको हो ।’

यसअघि पनि तत्कालिन वनमन्त्री महेश आचार्यको ठाडो निर्देशनमा चन्दन राजधानी ल्याउन खोजिएको थियो । तर स्थानीयले सडकमै सुतेर अवरोध गरेपछि रोकिएको थियो । अहिले वनमन्त्री सापकोटाले भने विभाग लाने बहानामा बेच्न खोजिएको चन्दनलाई रोकेका छन् । त्यसबेला नक्कली कागजात बनाएर बेच्न खोजिएको विषयलार्ई वन कार्यालय प्रमुख पौडेलले भने स्विकार गर्नुभएको छ । ‘म त्यो समयमा त थिइन । तर, बेच्ने प्लान भने भएको रहेछ ।’ त्यसैगरी ६५ सालमा पनि विभाग सार्ने सरकारी योजना स्थानियकै विरोधपछि तुहिएको थियो । रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वन मन्त्रालयको लिखित निर्देशनका आधारमा १३ हजार ९ सय ५० किलोग्राम चन्दन राजधानी पठाउने तयारी भएको बताए । नुवाकोट हुँदै रसुवा भएर चीनको केरुङ लाने क्रममा ८ वर्षअघि २०६४ सालमा उक्त रक्त चन्दन एकिकृत नेकपा (माओवादी) को सहायक संगठन वाइसीएलले गोल्जुङबाट नियन्त्रणमा लिएर प्रहरी र जिल्ला वनको जिम्मा लगाएको थियो ।

चिनियाँ बजारमा रक्त चन्दनको मूल्य हाल प्रतिकेजी १८ हजार छ । १४ टनको मूल्य झण्डै २० करोड रुपैयाँ पर्छ । आठ वर्षदेखि जिल्ला वन कार्यालयको कम्पाउण्डमै रक्तचन्दन राखिएको थियो । तर, हाल असुरक्षा भएको भन्दै मन्त्रालयले रक्तचन्दन विभाग सार्न लागेको हो । तर स्थानियले भने सेनाको घेराभित्र रहेको चन्दन असुरक्षाको नाममा तस्करी हुन लागेको दाबी गरिरहेका छन् । यसअघि पनि विभाग सार्ने नाममा चन्दन तस्करी हुने गरेको थियो । विभागकै गोदामबाट समेत तस्करी हुने गरेको छ । सरकारी मिलेमात्तोमा बेचिन लागेको विषयमा वन कार्यालय रसुवाका प्रमुख पौडेलले भने यो आरोप पूर्ण रुपमा गलत भएको बताउँदै भनिन्, ‘अफवाह फैलाउने हिसावले आएको आरोप मात्रै हो । यो विभागको प्रोसेसिङमा हुन लागेको हो ।’ सुरक्षाको लागि मात्रै पठाउन लागिएको कुरा दोहो¥याउँदै पौडेलले विभागमा पठाएपछि त्यहाँबाट भारतमा पठाउने योजना सरकारको रहेकोसमेत खुलासा गरिन् । ‘चन्दन साइटिक्स भित्र परेको प्रतिबन्धित प्रजाति हो । त्यसभित्र परेको वस्तु हामीले बेच्न सक्दैनौँ, यो विभागले गर्ने काम हो ।’ वन उच्च अधिकारीकै मिलेमतोमा तन्दनको ठाउँमा अरु काठका मुढा राखेर चन्दन तस्करी हुने गरेको छ । वाइसीएल रसुवाका अध्यक्ष गणेश विकले कुनै हालतमा चन्दन राजधानी लान नदिइने बताए । असुरक्षाको नाममा चन्दन तस्करी गर्न लागिएको उनले बताए । ‘आठ वर्षदेखि वन कार्यालयमा सुरक्षितै रहेको चन्दन अहिले किन असुरक्षाको नाममा राजधानी लान लागियो हामीले बुझेका छैनौं’, उनले भने । प्रमुख जिल्ला अधिकारी गेलालले पनि चन्दन राजधानी लान लागिएकामा विरोध भएको स्वीकार गरे । ‘पहिला पक्राउ गर्दा मुचुल्कामा राजनीतिक दलका प्रतिनिधि र सरोकारवालालाई साक्षी राखेर ल्हाछाप लगाइएको थियो’, गेलालले भने, ‘अहिले सिल तोड्ने बेलामा उहाँहरु चाहिन्छ, उनीहरुमध्ये केही व्यक्ति आएको छैनन् ।’ वन मन्त्रालयले चन्दन राजधानी ल्याउन पत्राचार गरेपछि सिन्धुपाल्चोक तातोपानी नाकामा तस्कर सदरमुकाम धुन्चेमा डेरा जमाएर बसेका छन् । रक्तचन्दन तस्करले जिल्लामा डेरा जमाउनु र चन्दन राजधानी सार्न लाग्नुले शंका उत्पन्न भएको विकले बताए । ‘सरकारले आफ्नो नियन्त्रणमा रहेको चिज आवश्यक ठान्दा अर्को ठाउँमा लान नपाउने भन्ने होइन’, विकले भने, ‘जतिबेला वन मन्त्रालयले चन्दन सार्नु भन्ने व्यवहोराको चिठी पठायो, त्यतिबेलादेखि सिन्धुपाल्चोकका तस्करको बास नै धुन्चेमा छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप