शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

Exclusive : बाबुरामको नयाँ शक्ति निर्वाचन आयोगमा दर्ता नहुँदै कमल थापाको मन्त्रालयमा दर्ता

आइतबार, ३० फागुन २०७२, २२ : २८
आइतबार, ३० फागुन २०७२

काठमाडौं– निर्वाचन आयोगमा हालसम्म दर्ता नभएको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले राजनीतिक भागभण्डा खोज्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा निवेदन दर्ता गराएको खुलासा भएको छ । आर्थिक समृद्धि विना देशविकास असम्भव रहेको भन्दै आएको नयाँ शक्तिले स्थानीय राजनीतिक संयन्त्रहरुमा राजनीतिक भागबण्डाको माग गर्दै मन्त्रालयमा निवेदन दर्ता गराएको खुलासा भएको हो । उपप्रधानमन्त्री तथा संघीय मामला तथा स्थानीय विकास मन्त्री कमल थापालाई सम्बोधन गरिएको निवेदनमा नेपालको संवैधानिक प्रावधान, कानुनी व्यवस्था र प्रचलित अभ्यासका आधारमा सबै तहका राजनीतिक सहभागिताका क्षेत्रहरु र स्थानीय राजनीतिक संयन्त्रहरुमा नयाँ शक्ति नेपालका प्रतिनिधिहरुलाई संलग्न गराउन माग गरिएको छ । भट्टराईको हस्ताक्षर रहेको उक्त निवेदनमा नयाँ शक्तिले केन्द्रदेखि स्थानीय तहसम्म नीतिगत सहकार्य र स्वामित्व चाहेको उल्लेख गरिएको छ । ‘हामी राजनीतिक दलको रुपमा देशको केन्द्रिय तहदेखि स्थानीय तहसम्म नीतिगत सहकार्य र स्वामित्व चाहन्छौं’, थापालाई बुझाइएको निवेदनमा भनिएको छ, ‘ यहि अभिष्टका साथ नेपालको संवैधानिक प्रावधान, कानुनी व्यवस्था र प्रचलित अभ्यासका आधारमा सबै तहका राजनीतिक सहभागिताका क्षेत्रहरु र स्थानीय राजनीतिक संयन्त्रहरुमा हाम्रो पार्टी नयाँ शक्ति नेपालका प्रतिनिधिहरुलाई संलग्न गराउनु हुन अनुरोध गर्दछौं ।’ भट्टराईले निवेदन मन्त्रालयमा दिएको १६ दिनपछि सोको दर्ता भएको पनि खुलेको छ । भट्टराईले गत फागुन ४ गते मन्त्रालयमा निवेदन बुझाएकोमा १९ गतेमात्रै दर्ता भएको थियो । जसको दर्ता नम्बर ८४० रहेको छ । निवेदनमा भट्टराईले नयाँ शक्ति राजनीतिक दलको हैसियतमा देशभर र देशबाहिरका २२ देशमा समेत नेपाली समुदायका बीच क्रियाशिल रहेको उल्लेख गरेपनि आधिकारिकताको विषयमा भने मौन रहेका छन् । निवेदनमा अगाडि भनिएको छ , ‘पार्टीका सातओटै प्रदेशहरुमा प्रादेशिक संरचना सबै जिल्लाहरुमा जिल्ला संरचना र नगर र गाउँतहसम्म स्थानीय पार्टी संरचनाहरु बनेका छन् । स्थानीय तहमा पार्टीका सदस्य तथा अभियन्ताहरु राजनीतिक अभियानमा क्रियाशिल रहेका छन् । ’ निवेदनमा बबरमहलमा केन्द्रिय कार्यालय रहेको र स्थानीय तहमा पनि कार्यसञ्चालनका लागि कार्यालय रहेको उल्लेख गरिएको छ । तर, एमाओवादी परित्याग गरेर भट्टराईले गत पुस १० गतेदेखि नयाँ शक्तिको अभियान चलाउँदै आएपनि हालसम्म पार्टी निर्वाचन आयोगमा दर्ता भएको छैन । नयाँ शक्तिको हाल २६५ सदस्यीय जम्बो अन्तरिम केन्द्रिय परिषद् र ५१ सदस्यीय केन्द्रिय सचिवाल भएपनि नयाँ नामबाहेक नयाँ कुनै काम हुन सकेको छैन । बरु हालै पार्टीको झण्डा सार्वजनिक गरेको नयाँ शक्तिलाई अर्काको लोगो कपी गरेको आरोप लागेको छ । एमाओवादी निकट वाईसिएलले नयाँ शक्तिले आफ्नो संगठनको लोगो कपी गरेको आरोप लगाएको हो । तर, नयाँ शक्तिले भने झण्डा कसैको नक्कल नभएको दाबी गरेको छ ।

पढ्नुहोस्, झण्डा विवाद बारेको दुई समाचार

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप