शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

शुरु भयो ‘मिनी सार्क’ : सहसचिव स्तरीय कार्यक्रम समितिको बैठक जारी

सोमबार, ०१ चैत २०७२, १४ : ५५
सोमबार, ०१ चैत २०७२
पोखरा – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) विदेश मन्त्रीस्तरीय बैठक आजदेखि पोखरामा सुरु भएको छ । चार दिने बैंठकको पहिलो दिन आज सार्क डेक्स हेर्ने सहसचिवस्तरीय कार्यक्रम समितिको बैंठक सुरु भएको हो । कार्यक्रम समितिको बैंठक भोलि सम्म चल्नेछ । ५२ औं कार्यक्रम समिति बैंठकको अध्यक्षता मणि प्रसाद भट्टराईले गरेका छन् ।

पार्दी स्थित होटल पोखरा ग्राण्डमा सुरु भएको बैंठकको तेस्रो दिन ४२ औं सचिव स्तरीय बैंठक र चौथो तथा अन्तिम दिन ३७ औं विदेशमन्त्री स्तरीय बैंठक हुनेछ । विदेशमन्त्री स्तरीय बैंठकको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नेछन् । बैठकमा सहभागी हुन सबै सदस्य मुलुकका विदेशमन्त्री चैत्र ३ गते काठमाडौं विमानस्थलबाट सिधै पोखरा आउनेछन् । बैठकमा ६ सदस्य मुलुकका विदेशमन्त्री उपस्थित हुनेछन् भने अफगानिस्तानबाट उपविदेशमन्त्री र पाकिस्तानबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकारले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री सुष्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौमुन, श्रीलंकाली विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी हुनेछन् । बैठकले २०७१ मंसिरमा काठमाडौंमा भएको शिखर सम्मेलनले पारित गरेका एजेन्डाको समीक्षा गर्नेछ । बैठकमा आतंकवाद नियन्त्रण, सडक तथा हवाई सञ्जाल, ऊर्जा हब, गरिबी निवारण लगायत विषयमा छलफल हुने स्रोतले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप