शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विज्ञापनमा विकृति ! : नियमविपरित विज्ञापनदेखि विदेशीको नक्कलसम्म

सोमबार, ०१ चैत २०७२, १४ : ३१
सोमबार, ०१ चैत २०७२

कुनै पनि उत्पादन ग्राहकसम्म पुर्याउन र आफ्नो सेवा तथा उत्पादनलाई चर्चित बनाउन आवश्यक माध्यम हो– विज्ञापन । नेपालमा पनि सञ्चारमाध्यमको बढ्दो विकाससँगै विज्ञापन बजार फराकिलो बन्दै गएको छ । विज्ञापनको नेपाली बजार अर्बौंको बनिसकेको छ । विज्ञापन निर्माण गर्ने संस्था दिनानुदिन बढिरहेका छन् भने विज्ञापन एजेन्सीको संख्या पनि बढिरहेका छन् । तर, नेपाली सञ्चारमाध्यममा नियमविपरीत विज्ञापन प्रकाशन/प्रसारण हुन थालेका छन् । नेपालका ठूलै सञ्चारमाध्यमबाट त्यस्ता विज्ञापन प्रकाशित/प्रसारित हुँदै आएका छन् । हिन्दु धर्मावालम्वी भन्छन्– शिवरात्रिसँग जोडेर निर्मित ‘भर्जिन’ को विज्ञापनबाट अपमान गत फागुन २४ गते सोमवार शिवरात्रिमा विभिन्न पत्रपत्रिकामा प्रकाशित विज्ञापन हो– यो । विज्ञापनमा शिवरात्रिको शुभकामना दिँदै ‘भर्जिन’ ब्रान्डको रक्सीको विज्ञापन गरिएको छ । विज्ञापनमा ‘भर्जिन खुसीका रङहरू’ नारा दिएर शंख बजाइरहेका बाबालाई प्रस्तुत गरिएको छ भने पृष्ठभूमिमा अन्य सन्तबाबालाई पनि देखाइएको छ । विज्ञापनले हिन्दु धर्मलाई अपमान गरेको भन्दै धेरैले यसको विरोध गरेका छन् । फागुन २४ गते पाशुपत क्षेत्रमा पशुपति दर्शनका लागि लामबद्ध दर्शनार्थीबीच यो विषयले राम्रै ठाउँ पायो । काभ्रेपलान्चोक घर भई कोटेश्वरमा बस्दै आएकी सुमिता पौडेलले उक्त विज्ञापनले हिन्दु धर्मावलम्बीको अपमान गरेको आरोप लगाइन् । ‘शिवरात्रिलाई जोडेर रक्सीको विज्ञापन गरिनु हिन्दु धर्ममाथिको अन्याय हो । यस्तो विज्ञापन डिजाइन गर्ने वा प्रकाशित गर्नेलाई कारबाही गरिनुपर्छ ।’ पशुपति दर्शनकै लागि लामबद्ध चाबहिलका रितेश पौडेलले यस्तो विज्ञापनले हिन्दु धर्मावलम्बीको आस्थामा ठेस पुगेको बताएका छन् । शिवजीले रक्सी खाएको कुनै शास्त्रमा उल्लेख छैन । यसरी व्यावसायिक विज्ञापनमा शिवरात्रिको नाम जोडेर यस्तोखालको विज्ञापन छापिनु खेदजनक छ । यसैगरी, रक्सीको विज्ञापनमा बाबालाई शिवरात्रिको नाम जोडेर गरिएको विज्ञापनबारे रातोपाटीकर्मीको प्रश्नमा भारतबाट आएका बाबाले विज्ञापन खेदजनक भएको बताएका छन् । ‘यो त सरासर हाम्रो अपमान हो,’ एक सन्तबाबाले आक्रोश पोखे । उनीहरूका अनुसार यसरी भगवान् शिवको नाममा रक्सीको विज्ञापन गरिनु निन्दनीय कुरा हो । भारतबाट आएका अर्का सन्तबाबा भन्छन्, ‘शिवले खाने भनेको भाङ, धतुरो, गाँजा, चरेस हो । शिवजीले ‘भर्जिन’ रक्सी खाएको थाहा छैन । हाम्रो अपमान हुने विज्ञापन प्रकाशन÷प्रसारण गर्नेलाई सरकारले किन कारबाही गर्दैन ?’ त्यस्तै क्रिसमसलगायतका पर्वहरुमा पनि रक्सी कम्पनीहरुले यस्तै प्रकारका विज्ञापनहरु प्रकाशित गर्ने गरेका छन् । छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन २०४८ ले कुनै पनि सामग्री पत्रपत्रिकामा प्रकाशित गर्दा धार्मिक स्वतन्त्रतालाई प्रहार हुने नहुने स्पष्ट रूपमा उल्लेख छ । नेपालको संविधान–२०७२ मा सञ्चारसम्बन्धी हकअन्तर्गत यस्तो गर्न नपाइने स्पष्ट व्यवस्था छ । संविधानमा सञ्चारका हकमा कुनै पनि जातजाति, धर्म वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुर्याउने सामग्री प्रकाशित तथा प्रसारित गर्न नपाइने व्यवस्था छ । यसो गरेमा कानुनअनुसार कारबाहीको भागीदारसमेत बन्नुपर्ने व्यवस्था छ । उक्त नियमको बर्खिलाप शिवरात्रिको नाम जोडेर भर्जिन रक्सीको विज्ञापन गरिएको छ । यसबारे कानुनविद्को समेत स्पष्ट धारणा छ । अधिवक्ता जीबी आचार्य भन्छन्, ‘कानुनमा स्पष्ट व्यवस्था भएकाले यसखाले विज्ञापन प्रकाशन÷प्रसारण गर्नु सरासर कानुनविपरीत छ । नेपालको कानुनमा सञ्चारसम्बन्धी हकमा के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने व्यवस्था छ । कानुनमा कुनै पनि जातजाति, धर्म वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुर्याउने सामग्री प्रकाशित÷प्रसारित गर्न नपाइने व्यवस्था छ । त्यसैले यो विज्ञापन कानुनको ठाडो उल्लंघन हो । नेपालमा मात्र होइन, विश्वका धेरै मुलुकमा यस्ता विज्ञापन प्रकाशन÷प्रसारण गर्न बन्देज लगाइएको छ । भारतको कानुनमा धार्मिक दंगा उत्पन्न हुन सक्ने वा अरूको धर्म वा जातलाई होच्याउने किसिमका कुनै पनि सामग्री प्रकाशित÷प्रसारित गर्न नपाइने नियम छ । यसैगरी, बंगलादेश, पाकिस्तानमा पनि यसरी अरूको धार्मिक आस्थामा खलल पुर्याउने कुनै पनि सामग्री प्रकाशन÷प्रसारण गर्न बन्देज छ । उता, कानुनको उत्पत्तिस्थल मानिएको बेलायतको कानुनमा पनि कसैको व्यक्तिगत स्वतन्त्रता वा धर्मलाई आघात पुर्याउने किसिमका सामग्री प्रकाशित÷प्रसारित गर्न नपाइने स्पष्ट व्यवस्था छ । यसबारे बुझ्न राटपाटीले ‘भर्जिन’ रक्सीको उत्पादन संस्था हाइल्यान्ड डिस्टिलरीमा सम्पर्क गर्न खोज्दा कार्यालयको फोन उठेन । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐनविपरीत विज्ञापन  काठमाडौंबाट प्रकाशित एक साप्ताहिकको वर्ष ६, अंक ३४, २०७२ फागुन २४ मा प्रकाशित विज्ञापन हो– यो । नेपालमा लेखा व्यवसायको नियम गर्न बनेको ऐन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ को नियमअनुसार यो विज्ञापन नियमविपरीत हो । विज्ञापनको छैटौं बुँदामा ‘बैंक ऋणका लागि अडिट रिपोर्ट’ भनेर लेखिएको छ । उक्त विज्ञापनअनुसार बैंक ऋणका लागि अडिट रिपोर्ट बनाउनुपरे विज्ञापनमा दिइएको नम्बरमा सम्पर्क गर्नु भनिएको छ । उक्त विज्ञापनमा कर तथा लेखापरीक्षण सेवा भन्दै मोबाइल नम्बरसमेत प्रदान गरिएको छ । लेखापरीक्षणलाई लिएर यस्तो विज्ञापन गर्न निषेध गरिएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका एक सदस्य भन्छन्, ‘यस्तो विज्ञापन गर्नु सरार गलत हो । लेखापरीक्षणसम्बन्धी सेवा दिन्छौं वा बैंक ऋणका लागि अडिट रिपोर्ट बनाइदिन्छौं भनेर पत्रिकामै विज्ञापन गर्नु गलत हो ।’ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐनले स्पष्टसँग यस्तो गर्न नपाइने व्यवस्था गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाकै अर्का एक सदस्य भन्छन्, ‘बैंक ऋणका लागि अडिट रिपोर्ट बनाइदिन्छौं भन्नु नै गलत हो ।’ विज्ञापनमा भएको नम्बरमा रातोपाटीकर्मीले फोन गर्दा जीबी गोर्खाली नाम बताउने विज्ञापनदाताले आफूले परामर्शमात्र दिने दाबी गरेका छन् । बैंक ऋणका लागि ‘अडिट रिपोर्ट’ भनेर लेख्नुभएको छ नि ? भन्ने रातोपाटीकर्मीको प्रश्नमा उनले भने, ‘हाम्रो काम भने अडिटरलाई भेट्टाइदिने हो ।’ उनले आफू दर्तावाला लेखापरीक्षक (आरए) वा चार्टर्ड एकाउन्टेन्ट (सीए) नभएको स्पष्ट पारेका छन् । नियमअनुसार अडिट रिपोर्ट बनाउन कुनै पनि संस्था र लेखापरीक्षकबीच मध्यस्थकर्ताको काम गर्न पाइँदैन । लामो समयदेखि लेखापरीक्षण गर्दै आएका एक सीए भन्छन्, ‘लेखापरीक्षण गर्न लेखा परीक्षक नियुक्त गर्न निश्चित प्रक्रिया छन् । यसरी कोही मध्यस्थकर्ता बनेर लेखापरीक्षक र कुनै संस्थाको काम गर्नु गलत हो ।’ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐनबारे रातोपाटीको प्रश्नमा विज्ञापनदाताले आफूलाई त्यसबारे थाहा नभएको बताएका छन् । चोरीका विज्ञापनको बिगबिगी उस्तै  नेपालमा पछिल्लो समय सिर्जनशील विज्ञापन सामग्री देखिएका छन् । विज्ञापनको बजार बढेसँगै नेपाली विज्ञापन बजारमा निकै उत्कृष्ट विज्ञापन पनि आउन थालेका छन् । तर, नेपालका टेलिभिजन वा रेडियोमा प्रसारित वा पत्रपत्रिकामा कतिपय चोरीका विज्ञापनसमेत प्रकाशित छन् । मुलुकका विभिन्न टेलिभिजनमा लामो समयदेखि प्रसारित ‘जहाँ जोश छ, जाँगर छ....’ शीर्षकको लक्ष्मी स्टिलको विज्ञापन भारतीय विज्ञापन ‘बुलन्द टिएमटी’ बाट चोरिएको छ । लक्ष्मी स्टिलको उक्त विज्ञापनमा शब्ददेखि, संगीतसम्म र विज्ञापनमा प्रस्तुत दृश्यसमेत चोरिएका छन् ।

तान्जानियामा बन्ने ‘टुइयाँ सिमेन्ट’ को विज्ञापनलाई हुबहु सारेर नेपालमा फोर्स सिमेन्टको विज्ञापन बनाइएको छ । यस्तै, नेपाली टेलिभिजनमा प्रसारित नानो चाउचाउको विज्ञापन श्रीलंकामा बज्ने कोकाकोला विज्ञापनबाट चोरिएको छ । यस्तै ऋद्धिसिद्धि ज्वेलर्सदेखि कुकुराको दाना पोसाक प्लेट्सको विज्ञापनसमेत अरूको विज्ञापनबाट चोरेर बनाइएको छ । विज्ञापन व्यवसायी राजन न्यौपाने भन्छन्, ‘यसरी अरूको सिर्जना चोरेर विज्ञापन बनाउनु नियमविपरीत मानिन्छ । तर, अहिलेसम्म यसरी चोरी गरिएका विज्ञापनबारे कसैले पनि आवाज उठाएका छैनन् ।’ उनका अनुसार कतिपय अवस्थामा विज्ञापनदाता संस्थाले नै ‘फलानोको जस्तो बनाउनुपरयो’ भन्ने हुनाले पनि चोरीको विज्ञापनको बिगबिगी बढेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप