शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बन्धक बनाइएका नेपालीको अझैं उद्धार भएन

सोमबार, ०१ चैत २०७२, १७ : १६
सोमबार, ०१ चैत २०७२

साउदी अरब– साउदी अरबमा अलपत्र परेका नेपाली कामदारले आफूहरुको उद्धारमा दूतावासले चासो नदिएको गुनासो गरेका छन् ।

रोजगारदाता कम्पनीले बन्धक बनाई अलपत्र पारेपछि दूतावासलाई हारगुहार गरिएको भए पनि उद्धारमा चासो नदिइएको पीडित नेपालीले गुनासो गरेका हुन् । उद्धारमा दूतावासले चासो नदिँदा स्वदेश फर्कन नपाएको उनीहरुले बताएका छन् ।

काठमाडौँ थापागाउँस्थित ‘अल नसिर ओभरसिजप्रालि’मार्फत २२ महिनाअघि साउदीको पश्चिमी क्षेत्र जेद्धामा रहेको ‘अम्जाद फइज अलओटाबी स्टाबिविस्ट फर कन्ट्रक्सन’ कम्पनीमा आएका १० नेपालीको अझै उद्धार हुन सकेको छैन । पटक–पटक जेद्धास्थित महावाणिज्य दूतावासलाई उद्धार गरिदिन आग्रह गरिए पनि बेवास्ता गरिएको सुनसरीका कमुद्र्धिन मियाँले गुनासो गरे ।

“दूतावास धाउन थालेको वर्षदिन भइसक्यो, कर्मचारीले आश्वासन मात्र दिने गरेका छन् । भोकै बस्नुपर्ने स्थिति आएको छ,” उनले भने– “यता हामी रोइरहेका छौँ, उता घरपरिवारमा रुवाबासी चलेको छ ।”

कम्पनीको अवस्था नाजुक बनेपछि यहाँको सरकारले रातो सूचीमा राखेको कारण २२ महिनाअघि साउदी आएका ती नेपाली कामदारको हालसम्म पनि आवास अनुमतिपत्र बन्न सकेको छैन । रोजगारदाता कम्पनीले परिचयपत्र लगायतका महत्वपूर्ण कागजात नबनाइदिएका कारण उनीहरु अलपत्र परेका हुन् ।

नेपाली कामदारलाई गैरकानुनी ढङ्गबाट लुकाईछिपाई अन्य कम्पनीमा काममा लगाइएको थियो । अवैध कामदारका रुपमा काममा लगाई एकातिर नेपालीले १० महिनादेखि काम गर्न पाएका छैनन् । यहाँको आवास अनुमतिपत्र नभएकै कारण बिरामी परेका उनीहरुले औषधी उपचारसमेत गर्न पाएका छैनन् ।

रातोसूचीमा परेका कम्पनीले सुधार नगरेसम्म कुनै कारोबार गर्न नपाउने, विदेशी कामदार ल्याउन भिसा नपाउने र त्यहाँ कार्यरत कामदारलाई अन्यत्र स्थानान्तरण गर्न नपाउने भएका कारण उनीहरु समस्यामा परेका हुन् । बन्द हुने स्थितिमा पुगेको कम्पनीमा पठाएर म्यानपावर कम्पनीले आफूहरुलाई फसाएको सप्तरी राजविराजका प्रेमनारायण झा बताउँछन् ।

अवैध कामदार भएकै कारण ती नेपालीले स्वदेश फर्कनका लागि रु पाँच लाखदेखि रु छ लाखसम्म जरिवाना भुक्तान गर्नुपर्ने बताइएको छ । सो बराबरको रकम भुक्तान नगरी स्वदेश फर्कन नपाउने पीडित नेपालीले बताएका छन् । पटक पटक प्रहरीले पक्राउ गर्दै छाड्ने गरेका कारण पनि जरिवाना बढ्दै गएको छ ।

लाखौँ रुपैयाँ भुक्तान नगरी स्वदेश फर्कन नपाइने भन्दै उनीहरुले उद्धारका लागि सहयोगको याचना गरेका छन् । “ जरिवाना तिर्न त्यत्रो पैसा कहाँबाट ल्याएर तिर्ने हो, हामीलाई म्यानपावरले नराम्रोसँग फसायो” सर्लाही बर्मपुरेका सोमन राउतले रुँदै पीडा सुनाए ।

“काम छाडेको पनि १० महिना भइसक्यो, छाक टार्न धौ–धौ भएको छ” उनले भने । स्वदेश फर्कने कुनै उपाय नदेखिएपछि केही नेपाली कामदार बन्धक बस्ने सर्तमा अन्य कम्पनीमार्फत लाखौँ रकम जरिवाना तिराएर राहदानी ट्रान्सफर गरी वैध कामदारका रुपमा सरेका छन् । जरिवाना तिरेर राहदानी ट्रान्सफर गरिदिन मञ्जुर भई रोजगारी दिएको सो कम्पनीको रकम मिलानका लागि थप २ वर्ष काम गर्नुपर्नेछ ।

यता जेद्धास्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत रेवतीरमण पौडेल भने उद्धारको पहल भइरहेको बताउँछन् । लामो समयसम्म गैरकानुनी रुपमा बसेका कारण पनि स्वदेश फिर्तीका लागि जरिवाना तिर्नुपर्ने कानुनी बाध्यता भएकाले समस्या देखिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप