शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नगरपालिकाले कर मात्र लिने कि सेवा पनि दिने ?

सोमबार, ०१ चैत २०७२, १७ : ३४
सोमबार, ०१ चैत २०७२

अधिकांश सरकारी कार्यालय सार्वजनिक सुनुवाईमा उपस्थित हुँदैनन् भक्तपुर – सार्वजनिक सुनुवाईमा धेरै सर्वसाधरणहरुले नयाँ नगरपालिको कर प्रणाली र कार्यप्रति गुनासो गरेका छन् । सूर्यविनायक, नगरकोट र अन्नतलिङ्गेश्वर नगरपालिकाको आयोजना तथा सूचना अधिकार समाज र ग्रामिण पूर्वाधार तथा वातावरण विकास केन्द्रको सहजिकरणमा आयोजित उक्त कार्यक्रममा सेवाग्राहीले गाविसलाई गाभेर नगरपालिका घोषणा गरेपनि कर बढ्नु बाहेकका कुनै कार्य अघि बढ्न नसकेकोमा दुख व्यक्त गरे ।

उनीहरुले नयाँ नगरपालिकाहरुमा फोहोर व्यवस्थापन, ढल व्यवस्थापन नभएको, गुणस्तरहीन सडक निर्माण गर्नुका साथै लक्षित वर्गको कार्यक्रमलाई नगरपालिकाले बेवास्ता गरेको सेवाग्राहीको गुनासो रहेको छ ।

सूर्यविनायक नगरपालिका वडा नम्बर–११ का राम तामाङले भने– ‘१० रोपनी जग्गाको काम गर्दा २ रोपनी बेच्नुपर्ने नगरपालिकाको कर प्रणाली कस्तो हो ?’

उनले कार्यक्रममा उपस्थित जिल्ला तहका सरकारी कार्यलयका प्रमुखहरुलाई प्रश्न गर्दै भने– ‘नगरपालिकाले कर मात्र लिने की सेवा पनि दिने ?’

सूर्यविनायक नगरपालिकाको केही वडा काभ्रे जिल्लाको सिमानासम्म भएको र ति वडाहरुमा विकासमा पूर्वधार अझैं पुग्न नसकेको र नगरपालिकाले लिने विभिन्न शीर्षकको करदर उच्च भएको बताए ।

धेरै सहभागीहरुले नगरपालिका घोषणा भएपनि पाहाडी क्षेत्र र शहरी क्षेत्र बीचको कर र समान नहुदाँ न्युन आय भएका जनतालाई समस्या परेको धारणा राखेका छन् ।

कार्यक्रमका सहभागिहरुले विकास निर्माण, कृषि, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा भएको कार्यको गुनासा र जिज्ञासाहरु राखेका हुन ।

कतिपय सहभागीले नगरपालिकाले उपभोक्ता समिति गठन गर्दा स्थानीयलाई थाहै नदिई पहुँचवालाले मात्रै समिति बनाउने गरेको गुनासो गरे ।

नगरकोट नगरपालिकाका देव प्रसाद घोरसाइनेले नगरपालिका क्षेत्रमा स्थापना भएका इटा भट्टाका कारण प्रदुषण बढेर स्थानीयमा बिभिन्न प्रकारका रोगहरु देखिएकाले प्रदुषण नियन्त्रणका लागि नगरपालिकाले प्रयास नगरेको गुनासो गरे ।

स्थानीयको गुनासो र प्रश्नको उत्तर दिंदै प्रमुख जिल्ला अधिकारी तेज प्रसाद पौडेल, जिविसका स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइराला, जिल्ला प्राविधिक कार्यालय भक्तपुरका इन्जिनियर मदन आले, जिल्ला कृषी कार्यालयकी प्रमुख पूर्ण ढुङ्गाना, डिभिजन सडक कार्यलयका प्रमुख देबेन्द्र शाह लगायतले जवाफ दिएका थिए ।

नगरपालिकाका अधिकृतहरु नगरकोटका शिशिर पौडेल, सूर्यविनायकका यामलाल अधिकारी, अनन्तलिङ्गेश्वरका होत्तराज लम्साल, मध्यपुर थिमीका भुपेन्द्र सापकोटाले स्थानीयको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लामा रहेका महत्वपूर्ण ४४ सरकारी कार्यलयकामध्ये तीन दर्जनभन्दा धेरैले निकायका प्रतिनिधीहरुले सार्वजनिक सुनुवाइमा उपस्थिति जनाएनन् ।

जसमा नेपाल विद्युत प्राद्यिकरण, भक्तपुर अस्पताल, नेपाल टेलिकम, जिल्ला जनस्वास्थ्य, डिभिजन सहकारी, काठमाडौं उपत्यका खानेपानी लिमिटेड लगायतका निकाय रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप