प्रधानमन्त्रीको चीन भ्रमण : पश्चिम सेती आयोजनाबारे ठोस सहमति गर्न आग्रह
काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लागेको चीन भ्रमणका क्रममा पश्चिम सेती जलविद्युत् आयोजना अगाडि बढाउने विषयमा ठोस कुराकानी गर्न सांसदले सुझाव दिएको छ ।
लगानी बोर्ड र चिनियाँ लगानीकर्ता थ्री गर्जेजको सहायक कम्पनीबीच आयोजना अगाडि बढाउने विषयमा समझदारीपत्रमा हस्ताक्षर भए पनि हालसम्म कुनै प्रगति हुन सकेको छैन । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा आयोजना अगाडि बढाउने विषयमा प्रभावकारी सहमति र लगानीका लागि चिनियाँ पक्षलाई सहमत गराउनुपर्नेमा सांसदहरुको जोड छ ।
सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको भए पनि कुनै पनि प्रक्रिया अगाडि बढ्न नसक्दा स्थानीयवासी मानसिक पीडामा रहेका छन् । स्थानीयवासी आयोजना तत्काल अगाडि बढाउने विषयमा प्रस्ट निर्णयको प्रतीक्षामा छन् । तर सधैँ चर्चा र परिचर्चाको केन्द्रमा आयोजना रहने गरे पनि निर्माण प्रक्रिया सुरु हुन नसक्दा अन्योलता बढ्दै गएको छ ।
सन् १९९६ देखि वातावरणीय प्रभाव मूल्याङ्कनबाट सुरु भएको सो आयोजना हालसम्म पनि अगाडि नबढेकामा सांसदले चिन्ता व्यक्त गर्दै यसपटक भने अगाडि बढाउने वा नबढाउने भन्नेमा टुङ्गो लगाउनुपर्नेमा जोड दिएका छन् ।
डोटीका सांसद वीरबहादुर बलायरले लामो समयदेखि आश गरेर बसेका स्थानीयवासीलाई विश्वासमा लिएर तत्काल आयोजना अगाडि बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिए । ‘‘आयोजनाका कारण स्थानीय विकास निर्माणका काम अगाडि बढ्न सकेका छैनन् । जनता अन्धकारमा बस्न बाध्य छन् । विकास निर्माण रोकिएको छ । आयोजना बनाउने हो भने बनाउने भन्नुप¥यो, होइन भने चर्चा गर्न पनि बन्द गर्नुप¥यो”, उनले भने ।
गरिबीको रेखामुनि रहेका जनताको आर्थिक स्तर उकास्न पनि सो आयोजना अगाडि बढाउनुपर्ने र लगानी बोर्ड तथा चिनियाँ पक्षसँग प्रधानमन्त्रीले स्पष्ट कुरा गर्न सुझाव दिन्छन् सांसद बलायर ।
यस्तै अर्का सांसद् ओफिलाल ओखेडा पश्चिम सेती अविलम्ब कार्यान्वयनको चरणमा प्रवेश गर्नुपर्नेमा जोड दिँदै यसपटक प्रधानमन्त्रीले स्पष्ट कुरा गर्नुपर्नेमा जोड दिन्छन् । हाल स्थानीयस्तरमा पहुँच मार्ग निर्माण र आवासका लागि भवनसमेत निर्माण सुरु भइसकेको सन्दर्भमा लगानी बोर्डसँग भइरहेको छलफलाई टुङ्गो लगाउन, आवश्यक निर्णय गरिदिन नेपाल विद्युत् प्राधिकरण र सम्बद्ध पक्षसँग आफूहरु निरन्तर छलफलमा रहेको उल्लेख गर्दै उनले आयोजना जुनसुकै हालतमा अगाडि बढ्नुपर्ने बताए ।
यस्तै आयोजना प्रभावित क्षेत्र डोटीका सांसद प्रेमबहादुर आले प्रधानमन्त्री ओलीले चिनियाँ पक्षलाई पश्चिम सेती सहज आयोजना हो, निर्माण सुरु गर्नुस् भनेर विश्वास दिलाउनुपर्नेमा जोड दिन्छन् । “सधैँ प्रचार गरेर मात्र हुन्न, आयोजना अगाडि बढ्नुपर्छ । त्यसमा आवश्यक सहयोग गर्न स्थानीयवासी तयार छन्”, आलेले भने ।
सन् २०१३ को डिसेम्बरमा बोर्ड र थ्री गर्जेजको सहायक कम्पनीबीच आयोजना अगाडि बढाउने विषयमा पत्राचार भए पनि थप प्रगति हुन सकेको छैन । व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले गत कात्तिक २ गते सो आयोजना तत्काल अगाडि बढाउन बोर्ड, नेपाल सरकारलाई निर्देशन दिएको थियो ।
समग्र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको भविष्यसँग गाँसिएको पश्चिम सेती जलविद्युत् आयोजना सम्पन्न गर्न करिब रु एक खर्ब २० अर्ब लाग्ने बताइएको छ । चिनियाँ पक्षले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको पुनः स्थापना, प्रसारण लाइन, विद्युत्को बजारलगायतका विषयमा बोर्डसँग चासो राख्दै आएको बताइएको छ ।
डोटी, डडेल्धुरा, बैतडी र बझाङ जिल्ला हुँदै बग्ने सेती नदीमा पहिलोपटक झन्डै ३४ वर्ष पहिले फ्रान्सेली कम्पनीले सो आयोजनाको अध्ययन गरेको थियो । अध्ययनका आधारमा सन् १९८७ मा जलाशययुक्त आयोजनाको पहिचान गरिएको थियो । अस्ट्रेलियाको स्मेक हाइड्रोले आयोजनास्थलको वातावरणीय, सामाजिक र भौतिक अवस्थाको प्रभाव मूल्याङ्कन गरे पनि लगानी जुटाउन नसकेपछि बाहिरिएको थियो ।
स्मेक बाहिरिएपछि सरकारले सो आयोजना चिनियाँ कम्पनीलाई दिएको हो । तर आयोजना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण, मुआब्जा वितरणका विषयमा सरकारको प्रस्ट धारणा आउन नसक्दा थप जटिलता पैदा भएको छ । आयोजना प्रभावित क्षेत्र सडक सुविधाबाट टाढा भए पनि प्राकृतिक सम्पदाले भने सम्पन्न रहेको छ ।
आयोजना बन्नुपूर्व अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावितको पुनर्वास गराएर मात्रै काम सुरु गर्नुपर्ने स्थानीयवासीको माग छ । आयोजना अगाडि बढ्छ भन्दाभन्दै बझाङ, बैतडी, डोटी र डडेल्धुराका डुबान÷प्रभावित १२ वटा गाविसमा स्थानीय निकाय, सरकार र गैरसरकारी संस्थाले विकास निर्माणका काम अगाडि बढाएका छैनन् ।
पछिल्लो पटक गत माघ ११ गते प्रधानमन्त्री ओलीले पश्चिम सेती आयोजना अगाडि बढ्न नसकेको सन्दर्भमा चासो व्यक्त गरेका थिए । आयोजना विकास सम्झौता ९पिडिए०को तयारी भए पनि हालसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
थ्री गर्जेज, ऊर्जा मन्त्रालय र बोर्डबीच पटकपटक पिडिएका सम्बन्धमा छलफल भए पनि अन्तिम निष्कर्ष निस्केको छैन । चिनियाँ पक्षले विद्युत् व्यापारको सुनिश्चितता, प्रसारण लाइन, आयोजना प्रभावितको पुनर्र्वास, पुनः स्थापना विषयमा चासो राखेको र प्रधानमन्त्रीको भ्रमणको क्रममा केही न केही सहमति हुने विश्वास लिइएको छ ।
लगानी बोर्डको गत माघ ११ गतेको बैठकले सो परियोजनाको विकासमा ढिलाइ हुनुको कारण खोज्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिँदै पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनसमेत आग्रह गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण