शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको चीन भ्रमणमा आधा दर्जन विषयमा समझदारी

सोमबार, ०१ चैत २०७२, १८ : २१
सोमबार, ०१ चैत २०७२

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणमा दुई देशबीच करिब आधा दर्जनजति विषयमा समझदारी हुने भएको छ ।

परराष्ट्रमन्त्री कमल थापाले मिडिया नेपालद्वारा आज यहाँ आयोजित घोषणासभालाई सम्बोधन गर्दै छिमेकी मित्र राष्ट्रको भ्रमणका अवसरमा पारवहन, व्यापार, लगानी लगायत विषयमा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने जानकारी दिए । साथै नेपालको पूर्वाधार विकासका बारेमा प्रधानमन्त्रीको भ्रमणका क्रममा महत्वपूर्ण कुराकानी र निर्णय हुने अपेक्षा नेपाली पक्षले गरेको छ ।

भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले चीनका शीर्षस्थ नेतासँग दुई देशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउने बारेमा विचारविमर्श गर्नेछन् । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँस्थित एक विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले यही चैत १० देखि सुरु हुने बोआओ फोरम सम्मेलनलाई पनि सम्बोधन गर्नेछन् । सो अवसरमा त्यहाँ उपस्थित विश्वका विभिन्न राष्ट्रका नेतासँग प्रधानमन्त्री ओलीले द्विपक्षीय र बहुपक्षीय कुराकानी गर्नेछन् । प्रधानमन्त्रीको भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ आयाम प्रदान गर्न कोसेढुङ्गा साबित हुने उपप्रधानमन्त्री थापाले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणामा साताव्यापी भ्रमणका लागि यही चैत ७ गते त्यसतर्फ प्रस्थान गर्दै छन् । चैत ८ गतेदेखि नै बेजिङमा नेपाल र चीनबीच प्रधानमन्त्रीस्तरमा औपचारिक वार्ता हुने कार्यक्रम तय गरिएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को पोखरामा हुने मन्त्रिपरिषद् बैठकको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र हो । अध्यक्ष राष्ट्रको हैसियतले सार्क मन्त्रिपरिषद्को बैठक नेपालमा आयोजना गर्ने सिलसिलामा यस पटकको बैठक प्राकृतिक पर्यटकीय नयरी पोखरामा आयोजना गरिएको हो । सार्क मन्त्रिस्तरीय बैठकलाई सार्कको ‘मिनी समिट’ समेत भन्ने गरिएको छ ।

बैठकमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स र अफगानिस्तानको प्रतिनिधित्व हुनेछ । सार्क मन्त्रिपरिषद्को बैठकमा विगतका सार्क शिखर सम्मेलनले गरेको निर्णयको समीक्षा हुनेछ । साथै आगामी दिनका लागि रणनीति, योजना र कार्यक्रमबारे बैठकमा विस्तृत रुपमा छलफल हुने परराष्ट्रमन्त्री थापाले जानकारी दिए । बैठकले सदस्य राष्ट्रबीचमा आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझ थप सुदृढ तुल्याउन महत्वपूर्ण निर्णय गर्ने उनले बताए । ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप