शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सोमपालको सम्झनामा नेपालले खेलेको सन् २०१४ को टी–२० विश्वकप

मङ्गलबार, ०२ चैत २०७२, २० : ०८
मङ्गलबार, ०२ चैत २०७२

सोमपाल कामी छोटो समयमै नेपाली क्रिकेटमा आफ्नो पहिचान छाड्न सफल खेलाडी हुन् । सन् २०१४ मा नेपालमै आयोजना भएको जर्नी टु वल्र्डकप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि सोमपाल नेपाली टोलीका तत्कालिन प्रशिक्षक पुबुदु दासनायकेको नजरमा परेका थिए । उनले टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सम्पूर्ण विश्वकै ध्यान खिचे । फास्ट बलर सोमपालसँग रातोपाटीले २०१४ को विश्वकपको प्रसंग कोट्याउँदा टेलिफोनमा उनले यस्तो प्रतिक्रिया दिए । ‘मेरा लागि विश्वकप खेल्नु एउटा सपना थियो । त्यति धेरै दर्शकमाझ नेपालको प्रतिनिधित्व गर्दै विश्वकप खेल्न पाउँदा सपना साकार भयो । तर उत्कृष्ट खेल्दै दर्शकको विश्वास जित्नु त्योभन्दा ठूलो चुनौती थियो । हामीले पहिलो खेलमा हङकङलाई ८० रनले हरायौँ । त्यतिबेला २ विकेट लिन पाउँदा खुसीको सिमा थिएन । मुख्य कुरा विश्वकपमा जीत थियो । त्यसपछि दोस्रो खेलमा पनि हामीले बंगलादेश विरुद्ध राम्रो खेल्यौं । तर बलियो टोलीसामू जीत हासिल गर्न सकिएन । अन्तिम खेलमा अफगानिस्तान विरुद्ध जीत हालिस गर्नसके हामी दोस्रो चरणमा पुग्ने सम्भावना कायमै रहने थियो । यस खेलमा हामी अफगानिस्तानलाई खेल जित्न १ सय ४२ रनको चुनौती दिएका थियौं । त्यसैले पनि बलिङ गर्दा हाम्रो आत्मबल बलियो थियो । तर अफगानिस्तानले पनि उत्कृष्ट खेल्दै हामीलाई निरन्तर चुनौती दिइरह्यो । १८ ओभरको समाप्तिमा अफगानिस्तान ७ विकेट गुमाएर १ सय १८ रनको अवस्थामा थियो । अन्तिम ६ बलभित्र २४ रन बनाउनुपर्ने चुनौती भएपनि असगर स्टानिकजाई क्रिजमा भएका कारण अफगानिस्तान कमजोर अवस्थामा थिएन । उनले ३५ रन बनाइसकेका थिए । मैले १९ औँ ओभरको पहिलो बलमा १ सय ४१ को स्पिडमा बलिङ गरे । प्रतिउत्तरमा उनले चौका प्रहार गरे । फेरि, अर्को बलमा उनले गरेको प्रहारलाई रोक्न सकेनौँ । बलले बाउन्ड्री क्रस ग¥यो । तेस्रो बलमा उनले २ रन बटुले । त्यसपछि पाँचौ बलमा उनले चौका प्रहार गरे । यतिबेलासम्म अफगानिस्तानले खेल जित्न २ बलमा १० रन बनाउनुपर्ने थियो । पाँचौ बलमा मैले योर्कर फाले , उनले छक्का प्रहार गर्ने कोसिस गरे । तर उनको लामो प्रहारलाई ज्ञानेन्द्रदाई (ज्ञानेन्द्र मल्ल) ले क्याचआउट गर्नुभयो । अन्तिम बलमा मैलेँ कुनै रन दिइँन । खेल हामीले जित्यौँ । बंगलादेश हङकङसँग त्यही दिन पराजित भएपनि रनरेटमा हामीभन्दा माथि रहदैँ दोस्रो चरणमा पुग्यो । हामीले विश्वकप खेल्नु नै ठूलो थियो । विश्वकपमा दुई जीत हासिल ग¥यौ । यसपटक हामीले विश्वकप खेल्ने अवसर गुमाएका छौ । मलाई लाग्छ खेलमा हार–जीत सामान्य हो । ओमान र स्कटल्याण्डले छनोट चरणमा खेलेका खेल हेर्दा मैले धेरै कुरा मिस गरेँ । छनोट हुन सकेको भए , एशियन पिच, त्यसमा पनि भारतमा हामीले राम्रो गर्न सक्थ्यौ । हामी छनोट भएको भए नेपालबाट धेरै दर्शकहरु खेल हेर्न भारत जानुहुन्थ्यो होला । तर हामी यसपटक छनोट भएनौ । ओमान र स्कटल्याण्डजस्ता देशको खेल हेर्न खासै दर्शक आएको देखिएन । हामी छनोट भएका बेला बंगलादेशमा धेरै समर्थकहरु रंगशालामा उपस्थित हुनुभएको थियो । यसपटक पनि छनोट हुन सकेको भए धेरै राम्रो हुनेथियो । मेरो बाबु–आमा भारतमै बस्नुहुन्थ्यो । मेरो सपना मैले खेलेको विश्वकपको खेल बाबु–आमाले हेर्न पाए हुन्थ्यो भन्ने छ । यसपटक हामी छनोट भएको भए मोहालीमा मेरा बाबु–आमा मेरो खेल हेर्न आउनुहुन्थ्यो । बंगलादेशमा उहाँहरु जान पाउनुभएको थिएन । तर छनोट हुन नसक्दा खल्लो लागेको छ । नेपालले टी–२० विश्वकपमा राम्रो खेलेपछि टी–२० अन्तर्राष्ट्रिय मान्यता समेत पायो । हङकङ विरुद्धको खेलमा मैले दशौ नम्बरमा ब्याटिङ गर्दै ४० रन बनाए । टी–२० क्रिकेटमा दशौ नम्बरमा ब्याटिङ गर्दै ४० रन बनाउनु असंभवजस्तै हुन्छ । तर म १० ओभरमै मैदान छिरेको थिए , त्यसैले धेरै रन बनाउन पाए । यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमै नयाँ किर्तिमान हो । मलाई छिट्टै विश्वास गरेर प्रशिक्षक पुबुदु दासनायके र कप्तान पारस खड्काले एकदिवसीय विश्वकप छनोट तथा टी–२० विश्वकप खेल्ने टोलीमा मौका दिनुभएको थियो । उहाँहरुकै कारण यो सबै संभव भयो । मलाई लाग्छ, कुनै पनि टिममा यति छिटै मौका पाउन गाह्रो हुन्छ । हामीले क्रिकेटका लागि अझै धेरै गर्नु छ । अहिले अफगानिस्तान सुपर एटमा छनोट भएको छ । हामीसँग गत संस्करणको विश्वकपमा पराजित भएको टोलीका अधिकांश खेलाडीहरु अहिले राम्रो खेलेर सुपर एटमा पुगेका छन् । म उनीहरुलाई अझै राम्रो गर्न शुभकामना दिन्छु । उनीहरुले यो प्रमाणित गर्न सकून् कि एशोसियट राष्ट्रले पनि विश्वकपमा राम्रो खेल्न सक्छन् । ठूला टिमलाई उनीहरुले पराजित गर्नसके भने मलाई धेरै खुसी लाग्नेछ ।

कसले जित्ला ?

मेरो बुझाईमा यसपटक भारत, दक्षिण अफ्रिका र अस्टे«लिया उपाधीका दाबेदार हुन् । आयोजक भएका नाताले भारतलाई ब्याटिङ विकेटको फाइदा छ । कप्तान महेन्द्रसिंहले चाहेजस्तो विकेट बनाउन पाएका छन् । टिममा शिखर धवन, रोहित शर्मा, विराट कोहली,सुरेश रैना, महेन्द्रसिंह धोनी, युवराजसिंहजस्ता एकसे एक खेलाडी छन् । त्यसैले भारतकै संभावना बलियो छ । एबी डि विलियर्स चम्कन सके भने दक्षिण अफ्रिकाले पनि धेरै राम्रो गर्नसक्छ । उनी विश्वकै सर्वोत्कृष्ट ब्याट्सम्यान हुन् । अर्का ब्याट्सम्यानन कप्तान फाप डु प्लेसी पनि राम्रो फर्ममा छन् । बलरहरु पनि उत्कृष्ट छन् । अस्टे«लियाको टोलीमा ग्लेन म्याक्सवेल, वाट्सन, डेभिड वार्नर, स्टेफेन स्मिथजस्ता अलराउन्डरहरु छन् । त्यसैले अस्टे«लिया उपाधीको अर्को दाबेदार हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप