१९ मधेसी पत्रकारको बुझाई : मोर्चा मिडिया र अन्तर्राष्ट्रिय सम्बन्धमा फेल भयो
काठमाडौं – बैशाखदेखि आन्दोलन गर्ने घोषणा गरेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीले केही दिनदेखि विभिन्न तह तप्का तथा पेशाकर्मीसँग छलफल शुरु गरेको छ । छ महिना लगातार भएको आन्दोलन बिना उपलब्धि तुहिएपछि अबको आन्दोलन उपलब्धीमूलक कसरी बनाउने विषयमा सो पार्टीले सल्लाह तथा छलफल जारी राखेको हो । केही दिन पहिले त्रिपुरेश्वरस्थित मासाला कटेजमा बुद्धिजिवी तथा नागरिक समाजका अगुवाहरुसँग छलफल गरिएको थियो भने चैत २७ गते अमृतभोगमा पहाड केन्द्रीत पत्रकारहरुसँग छलफल गरिएको थियो । हिजो विभिन्न सञ्चारमाध्यममा कार्यरत मधेसी पत्रकारहरुसँग सोही ठाउँमा छलफल गरेका छन् ।
‘मधेस आन्दोलन–३ का मुद्दा र सञ्चार’ शीर्षक दिएर गरेका छलफलमा काठमाडौमा क्रियाशिल अधिकाँश मधेसी पत्रकारहरुको उपस्थिति थियो । आफ्नो धारणा राख्ने क्रममा पत्रकारहरुले आन्दोलन गर्ने क्रममा मधेसवादी दल चुकेको कुरा राखेका थिए । मधेस आन्दोलन अरु बाह्य हस्तक्षेप तथा राज्यको रणनीतिभन्दा पनि मधेसी मोर्चाभित्रको आन्तिरिक द्वन्द्वका कारण समाप्त भएको धारणा कतिपयले राखेका थिए भने कतिपयले आन्दोलनको क्रममा सञ्चार रणनीतिमा मधेसी मोर्चा असफल रहेको धारणा राखेका थिए । त्यस्तै पत्रकारले मधेसी पत्रकार तथा सञ्चारमाध्यम मधेसवादी दलकै कारणले अपहेलित भएको कुरा पनि राखेका थिए भने कतिपयले मधेसी पत्रकारहरुलाई आन्दोलनमा सहभागि गराउने तर उपलब्धी सबै आफै लिने गरेको पनि आरोप लगाएका थिए । कार्यक्रमा तमलोपाका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्षद्वय सर्वेन्द्रनाथ शुक्ला, बृषेशचन्द्र लाल, महासचिवद्धय गोविन्द चौधरी र जितेन्द्र सोनलको उपस्थितिमा मधेसी पत्रकारहरुले राखेको धारणाको सम्पादित अंश जस्ताको त्यस्तैः
सुरेशकुमार यादव, गोरखापत्र यत्रो दिन आन्दोलन गर्नुभयो । यो बीचमा मिडियाको भूमिका कस्तो रह्यो, मधेसी पत्रकारहरुबाट कस्तो सहयोग पाउनु भयो, अब आउने दिनमा तपाईहरुको मिडिया रणनीति कस्तो हुन्छ त्यसको बारेमा तपाईहरु स्पष्ट हुनुस् । त्यो कुराको स्पष्ट पारि दिएपछि मात्र हामीलाई बोल्न सजिलो हुन्छ ।
ओलोक तिवारी, नेपाल टेलिभिजन मधेस अहिले पनि आन्दोलनकै मुडमा छ । म भर्खर गौरबाट फर्केको छु । मधेसी जनता सुसुप्त अवस्थामा छन् । जुनसुकै बेला जाग्न सक्छन् । मधेसमा आन्दोलन भएपनि त्यसलाई अन्तर्राष्ट्रियकरण गर्न सकिएको छैन । अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपालमा रहेका विदेशी पत्रकारहरुसँग पनि यस्तै खालको छलफल गर्नुपर्छ । जति छलफल गरियो त्यति नै मुद्दा विस्तार हुन्छ र मधेस आन्दोलनलाई सहयोग पुग्छ ।
द हिमालयन टाइम्स (विरगञ्जबाट) म त वीरगञ्जबाट द हिमालयन टाइम्समा रिर्पोटिङ गर्छु । आन्दोलनको क्रममा म दैनिक रिर्पोटिङमा हुन्थे । मेरो अनुभवले के भन्छ भने यो आन्दोलन तुहिनुमा अरु कोही होइन मधेसी नेता मात्र दोषी रहेका छन् । मधेसी मोर्चाभित्र देखिएको अन्तरद्वन्द्व छताछुल्ल भएको थियो र त्यही अन्तरद्धन्दका कारण आन्दोलन कमजोर भयो र अन्त्यमा समाप्त भयो । अहिले पनि केही विग्रेको छैन । मोर्चाभित्रको अन्तरद्वन्द्वलाई समाप्त गर्न सकिएन भने आन्दोलन सफल गर्न सकिदैन ।
विजय वर्मा, नेपाल टेलिभिजन मधेस आन्दोलनको बारेमा धेरै भ्रमहरु फैलाउने काम भयो तर त्यसलाई चिर्ने काम कही कतैबाट भएको छैन । तपाईंहरुले अर्को आन्दोलन शुरु गर्नुभन्दा पहिले भ्रमहरु चिर्ने काम गर्नुस् । तपाईहरुले सुशील कोइरालालाई प्रधानमन्त्रीमा भोट हालेपछि उहाँ जितेको भए के तपाईहरु सरकारमा जानु हुन्न थियो ? यो कुराको निकै चर्चा रहेको छ । कतै न कतैबाट यो भ्रम फैलाउने काम भएको छ । तपाईंहरु भारतबाट गाइडेड हुनुहुन्छ भने आरोप छ त्यसलाई तपाईंहरुले राम्रो चिर्न सक्नु भएको छैन ।
रमेश रञ्जन, एभिन्यूज टीभी तपाईहरुले आन्दोलन गर्नुभयो तर मिडिया स्ट्राटिजीमा फेल हुनुभयो । आन्दोलनको शुरुवात हुँदैछ । अब हुने आन्दोलनमा मिडिया रणनीति के हुनसक्छ त्यो कुरा अहिलेसम्म आएको छैन । मिडियालाई राम्रोसँग प्रयोग गर्न सक्नु भएन भने आन्दोलन सफल हुँदैन ।
बीपी साह, हुलाकी न्यूज मधेसी मोर्चाले आन्दोलन गरेपनि मिडिया पोलिसीमा फेल खाएको छ । आन्दोलनको क्रममा मधेसी मोर्चाले मिडिया रणनीति छुट्टै बनाउनु पथ्र्यो । आन्दोलनमा मिडियालाई कसरी प्रयोग गर्ने भन्दै अलगै रणनीति बनाएर अगाडि बढ्नु पथ्र्यो तर त्यसमा मधेसवादी दल चुकेका छन् । मैले मधेसी मोर्चाका नेताहरु पटक–पटक भने कि आन्दोलनको क्रममा मिडिया डेस्कको स्थापना गर्नुस् तर मानेन् । मैले संघीय समाजवादी फोरम नेपालको बैठकमै गएर यो कुरा भनेका थिए तर वास्ता गरेनन् ।
राजेश मिश्र, इकान्तिपुर मधेस आन्दोलन यो अवस्थामा आएर यसरी तुहिए पनि मधेसी मोर्चाका नेताहरु अझै सचेत नभएको देखिएको छ । अहिले आन्दोलनको तयारीको क्रममा मधेसमा एउटै कार्यक्रम एउटै भ्वाइस जानु पर्ने अवस्थामा मधेसी मोर्चामा रहेका दलहरु टिका टोलोमा लागेका छन् । सबैले कार्यकर्ता भर्ति गरिरहेका छन् । कुनै दलले आज पाँच जना कार्यकर्ता भर्ति गरेका छन् भने अर्को दलले भोली दश जना भित्र्याएका छन् । अहिले पनि मोर्चामा रहेका दलहरु बीच सहकार्यको अभाव छ ।
सिताराम अग्रहरी, पूर्व प्रधानसम्पादक, गोरखापत्र लोहा गरम थियो अहिले ठण्डा भएको छ । आन्दोलन सेटब्याक भएको छ । मधेसी मोर्चा कमजोर भएको कारणले यस्तो भएको हो । आफ्नै कमजोरीका कारण यो अवस्था भएको छ । हामी भारतप्रति धेरै निर्भर भयौं । आवश्यकताभन्दा बढी भारतमाथि निर्भर भएको छ । यसरी भारतबाट प्रयोग भएको आरोप लाग्यो र अहिले कारणले नेपाल सरकार चाइना कार्ड प्रयोग गरेका छन् । भारतसँग धेरै नजिक पनि होइन धेरै टाढा पनि होइन ठीकको सम्बन्ध राख्नुपर्छ । मधेसको मुद्दा अन्तर्राष्ट्रियकरण भयो जुन हल्ला गरिरहनु भएको छ नि त्यो तपाईंहरुको कारणले होइन भारतको कारणले भएको हो । भारतले नै मधेसको मुद्दा अन्तर्राष्ट्रियकरण गरेको छ । अर्को कुरा तपाईहरुले भारतका विपक्षी दललाई कन्भिन्स गर्न सक्नु भएन । यदि कन्भिन्स गर्न सकेको भए राष्ट्रिय सभामा मधेसको बारेमा यस्तो कुरा उठ्ने थिएन ।
जितेन्द्र झा, कान्तिपुर टेलिभिजन मधेसी मोर्चा आफै अन्योलनमा छ । मोर्चामा को संयोजक हुनुहुन्छ, को प्रवक्ता हुनुहुन्छ त्यसको कुनै ठेगान छैन । एउटै कुराको फरक फरक धारणा आइरहेका हुन्छन् । मधेसी मोर्चाले मिडियालाई पटक–पटक दोषी देखाउँदै लखेटेका छन् । क्यामरा फुटाई दिने भन्दै धम्की दिएका छन् तर मोर्चा आफै कति दोषी छन् त्यो हेरेका छैन ।
अनन्त अनुराग, एबीसी टीभी आन्दोलन समाप्त भएको धेरै दिनपछि तपाईहरुले यसरी कुरा राख्न बोलाउनु भयो त्यसका लागि धन्यवाद । हामीले बोल्ने र तपाईहरुले सुन्ने यस्तो कार्यक्रम गरेकोमा धेरै–धेरै धन्यवाद यस्तो कार्यक्रम भविष्यमा पनि होस् ।
अमरेन्द्र यादव, द राइजिगं नेपाल आन्दोलन समाप्त भएपछि पक्कै पनि तपाईहरुले समिक्षा गर्नुभएको होला । समिक्षा गरेर नै अलग खालको आन्दोलन गर्ने तयारीमा हुनुहुन्छ । विगतमा जुन तरिकाको आन्दोलन गर्नुभयो, त्यो भन्दा फरक आन्दोलन हुने संभावना देखिएको छ । तर मिडिया रणनीति एकदमै कमजोर देखिएको छ । मधेसी मोर्चाभित्रको बेमेलले गर्दा पनि मिडिया रणनीति कमजोर भएको हो । मिडिया रणनीति के हो ? आउने दिनमा के गर्न खोज्नु भएको छ ती कुराहरु बोल्नु भएको छैन । रामकुमार कामत, द हिमालयन टाइम्स मधेसमा आन्दोलनमा जुन अन्तर्राष्ट्रिय सहयोग प्राप्त भइरहेको छ त्यो मधेसी मोर्चाको देन हो । यसलाई कन्टिन्यु गर्नुपर्छ । यसलाई बरकरार राख्नुपर्छ । मधेसको माग आजैको आज पूरा हुँदैन । आन्दोलन गर्दैमा माग पूरा हुन्छ भने छैन यसका लागि लामो लडाई लड्नुपर्छ । दुई चार वर्ष लाग्न सक्छ र यो कुरामा मधेसी जनतालाई पनि सचेत गराउनु पर्छ मधेसको माग पूरा भएन भनि मधेसी जनता निराश भएका छन् । मधेसी जनतालाई निराश हुन दिनुहुँदैन । सचेत गराई राख्नुपर्छ । अर्को कुरा मधेसी पत्रकाहरुले मधेस आन्दोलनमा धेरै ठूलो योगदान दिएको छ । त्यसलाई नजर अन्दाज गर्नु हुँदैन । मधेसको बारेमा कुनै मधेसी पत्रकार लेखेका छन्, भोलि उसलाई कुनै प्रकारको थ्रेट आयो भने त्यसलाई जोगाउने काम तपाईहरुबाट हुनुपर्छ ।
सुकेश्वर पाठक, विश्लेषण साप्ताहिक यहाँले कसैले कसैलाई आरोप लगाउने ठाउँ छैन । सबै उस्तै छन् । मधेसी पत्रकार र मधेसवादी दलको अवस्था उस्तै उस्तै छन् । राजनीतिक दलले म मात्र ठिक छु भनेर हुँदैन त्यस्तै मधेसी पत्रकारले पनि म मात्रै ठिक छु अरु सबै गलत हो भनेर पनि हुँदैन । अर्थात एक अर्काको सहयोगमा काम गर्नुपर्छ । अर्को कुरा मधेसी मोर्चा साँच्चै मिडिया रणनीतिमा फेल खाएकै हो । मधेसी मोर्चाका नेताहरुले आफ्ना निकटका पत्रकारलाई प्रयोग गरेर सूचना चुहाएर आन्दोलन कमजोर पार्ने काम भएको छ । मधेसी मोर्चा आदिवासी जनजातिमाथि धेरै भर परेका छन्, त्यो सुखद सपना मात्र हो ।
विणा सिन्हा मधेसी मोर्चा अन्योलनमा देखिएको छ । कुनै कुरामा प्रष्ट छैन । राज्यको तर्फबाट सविधान संशोधन गर्ने काम भयो तर मधेसी मोर्चाको तर्फबाट ठोस रुपमा विरोधका स्वरुहरु आएन । विरोधका लागि विरोध गरे जस्तो देखियो । कुन संशोधन ठिक छ कुन बेठिक । के संशोधन गर्दा हुन्छ के हुँदैन त्यो कुरामा मोर्चा प्रष्ट भएर आउनु पथ्र्यो त्यो देखिएन । आफ्नो विरोधमा लेख्नेलाई पनि प्रहार गर्नुहुँदैन । आन्दोलनमा मिडिया रणनीति बनाउन आवश्यक छ ।
मोहन सिंह, नेपाल टेलिभिजन आन्दोलनमा मधेसी मोर्चाको कुनै कमजोरी छैन । आन्दोलन रोकिनुमा आन्दोलनकारीको कुनै दोष छैन । बरु मधेसी पत्रकारबाट त्रुटी भएको होला । कमजोरी भएको होला । त्यति कमजोरी हुनु स्वभाविक पनि हो । किनभने अरु पहाडि पत्रकारभन्दा मधेसी पत्रकारको पहुँच कम रहेको छ । महन्थ ठाकुरले मधेस आन्दोलनमा जति योगदान दिएका छन् त्यो आफैमा सह्रानीय कुरा हो । मधेस आन्दोलनको अबको मुद्दा मिडिया पनि हुनुपर्छ ।
अनिल कर्ण, सञ्चारक नेपाल मिडियाको अभिभावकत्व राजनीतिक दल वा नेतृत्वबाट हुनुपर्छ । मधेसी मिडिया तथा पत्रकारले जे जति गरेका छन् आफ्नै मनले गरेका छन्, यसमा मधेसी दल वा नेताको कुनै योगदान छैन । त्यसैले आउने दिनमा मधेस केन्द्रीत सञ्चारमाध्यमलाई संस्थागत गर्नुपर्छ । नेपाली सञ्चारमाध्यममा काम गर्ने सबै पत्रकार खसवादी सोचका रहेका छन् । उनीहरुमाथि भर परेर आन्दोलन गर्नु हुँदैन । मधेसमा पनि थुप्रै मिडिया छन् त्यसलाई संरक्षण गर्नुपर्छ अनि मात्र आन्दोलन सफल हुन्छ ।
विरेन्द्र केएम, कमाण्डरपोष्ट मधेसवादी दलले नै हामी मधेसी पत्रकारलाई दोस्रो दर्जामा राखेको कुरा पुष्टि भएको छ । हिजो पहाडी पत्रकारहरुलाई बोलाएर कुरा गरेपछि मात्र आज हामीलाई बोलाएर कुरा गरेका छन् यसले हामी दोस्रो दर्जाका पत्रकार रहेका छौ भनि पुष्टि भएको छ । तपाईहरुले गर्ने निर्णयमा प्रश्न उठाउने अधिकार हामीलाई छ किन भने हामी पनि मधेसी हौं । यही समाजका व्यक्ति हौं । तपाईहरुले मधेस आन्दोलन गर्नुभयो तर कहिले त्यसमा बारेमा मधेसी पत्रकार, बुद्धिजिवीहरुसँग सल्लाह गर्नुभएन । सल्लाह लिनु कता हो कता उल्टै आलोचना गर्नुभयो । आज हामीलाई आन्दोलनमा सहयोग गर्नुस् भन्नु भएको छ तर भोलि गएर आन्दोलन सफल भयो भने हामीलाई बिर्सनु हुन्छ । आन्दोलनमा मात्र होइन, उपलब्धीमा पनि हामीलाई सामेल गराउनुस् । आन्दोलनपछि तपाईहरु मन्त्री भएपछि आफ्ना भतिजालाई पीए बनाउनु हुन्छ, श्रीमतीलाई सभासद् बनाउनु हुन्छ अनि हामीले तपाईहरुलाई किन सहयोग गर्ने, यसको बारेमा हामीले सोच्नै पर्छ ।
विवेकानन्द मिश्र, गोरखापत्र मधेसी राजनीतिक दल जस्तै मधेसी मिडिया पनि विभेदमा परेका छन् र त्यसको विरोधमा संघर्ष गरिरहेका छन् । नेपाल पत्रकार महासंघदेखि प्रेस काउन्सिलसम्म हामी संघर्ष गरिरहेका छौ । मधेसमा आन्दोलनमा मधेसी पत्रपत्रिका तथा सञ्चारमाध्यमको ठूलो भूमिका थियो । तर मधेसी मोर्चाले त्यस किसिमको कुनै रणनीति बनाउन सकेन । मधेसी पत्रकारले जे जति गरे ती सबै आफ्न मनले गरे । त्यसलै मधेसी पत्रकाहरु उपलब्धिमा पनि हिस्सा पाउनु पर्छ ।
हृदयकान्त झा, रेडियो नेपाल बच्चाले पनि जय मधेस भन्छन्, पूर्वदेखि पश्चिमसम्म मधेसीमा एकताको सन्देश गएको छ, आन्दोलनका कारण नेताहरु जन्मेका छन् यी हुन् मधेस आन्दोलनका उपलब्धि । तर छ महिनासम्म जुन मधेस आन्दोलन भयो त्यो बिना लगामको घोडा जस्तै भयो । बिना सेनापतिको युद्ध भयो । त्यसैले आन्दोलन अर्थहिन भयो । मधेस आन्दोलन शुरु गर्नुभन्दा पहिले मिडिया रणनीति तयार गर्नुस् । मिडिया रणनीति भए मात्र आन्दोलनको समाचारमा एक रुपता आउन सक्छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण