विदेशी विद्यार्थीको भिसा नियम कसिलो बनाउँदै अमेरिका
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले विदेशी विद्यार्थी, सांस्कृतिक आदानप्रदान कार्यक्रममा सहभागी हुने आगन्तुक र विदेशी सञ्चारकर्मीका लागि भिसा नियम कडा बनाउने निर्णय गरेको छ ।
- नयाँ नियमअनुसार विद्यार्थी र आदानप्रदान कार्यक्रमका सहभागीको भिसा अवधि अधिकतम चार वर्ष, विदेशी पत्रकारको २४० दिन र चिनियाँ पत्रकारको ९० दिन हुनेछ ।
- स्नातकोत्तर तहका विद्यार्थीले स्वीकृतिबिना अध्ययनको उद्देश्य परिवर्तन गर्न वा अर्को संस्थामा स्थानान्तरण हुन नपाउने र अमेरिका छाड्न पाउने समय ६० दिनबाट घटाएर ३० दिन बनाइएको छ ।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी विद्यार्थी, सांस्कृतिक आदानप्रदान कार्यक्रममा सहभागी हुने आगन्तुक र विदेशी सञ्चारकर्मीका लागि भिसा नियम थप कडा बनाउने निर्णय गरेको छ ।
अमेरिकी गृह सुरक्षा मन्त्रालय (डीएचएस)ले जारी गरेको नयाँ अन्तिम नियमअनुसार अब एफ (विद्यार्थी भिसा), जे (विद्यार्थी आदानप्रदान कार्यक्रम भिसा) र आई (सञ्चारकर्मीका लागि दिइने) भिसा निश्चित अवधिका लागि मात्र जारी गरिनेछ । यसअघि यी भिसा अध्ययन, कार्यक्रम वा रोजगारीको सम्पूर्ण अवधिसम्म मान्य हुने व्यवस्था थियो ।
नियम संघीय राजपत्रमा प्रकाशित भएको ६० दिनपछि कांग्रेसको समीक्षा प्रक्रियापछि लागू हुनेछ । नयाँ व्यवस्थाअनुसार विद्यार्थी र आदानप्रदान कार्यक्रमका सहभागीको भिसा अवधि अधिकतम चार वर्ष हुनेछ । विदेशी पत्रकारको भिसा अधिकतम २४० दिनका लागि दिइनेछ भने चिनियाँ नागरिकका हकमा यो अवधि ९० दिन मात्र रहनेछ । आवश्यकता परे भिसा अवधि थप्न आवेदन दिन सकिने व्यवस्था पनि राखिएको छ ।
यसका साथै स्नातकोत्तर तहका विद्यार्थीले सम्बन्धित निकायको स्वीकृतिबिना अध्ययनको उद्देश्य परिवर्तन गर्न वा अर्को शैक्षिक संस्थामा स्थानान्तरण हुन पाउने छैनन् । अध्ययन वा तालिम पूरा गरेपछि अमेरिका छाड्न पाउने समय पनि ६० दिनबाट घटाएर ३० दिन बनाइएको छ । डीएचएसका अनुसार सन् २०२४ मा १८ लाखभन्दा बढी विद्यार्थी भिसा जारी गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशत धेरै हो । सोही आर्थिक वर्षमा पाँच लाखभन्दा बढी आदानप्रदान कार्यक्रमका सहभागी र ३७ हजार ३०० भन्दा बढी विदेशी सञ्चारकर्मीलाई पनि भिसा प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
यस्ता भिसाधारकको संख्या तीव्र रूपमा बढेकाले उनीहरूको निगरानी र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको डीएचएसले उल्लेख गरेको छ । उसका अनुसार केही विद्यार्थी र आदानप्रदान कार्यक्रमका सहभागीहरू दशकौँसम्म अमेरिकामै बसिरहेका उदाहरण पनि छन् । यद्यपि नयाँ नियमको आलोचना पनि भएको छ ।
पूर्व डीएचएस अधिकारी डग र्यान्डले यसलाई अनावश्यक प्रशासनिक जटिलता थपेर अन्तर्राष्ट्रिय विद्यार्थीलाई निरुत्साहित गर्ने कदम भनेका छन् । क्याटो इन्स्टिच्युटका आप्रवासन विशेषज्ञ डेभिड जे. बियरले पनि अध्ययनको उद्देश्य परिवर्तन र शैक्षिक संस्था परिवर्तनमा लगाइएका प्रतिबन्धको स्पष्ट कानुनी आधार नभएको टिप्पणी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण