शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विद्यालय पुनःनिर्माणमा सघाउँदै सेना

बुधबार, ०८ वैशाख २०७३, ०७ : १६
बुधबार, ०८ वैशाख २०७३

बागलुङ– भूकम्पले चर्काएको बागलुङ सदरमुकामस्थित विद्यामन्दिर उच्च माविको भवन पुनःनिर्माणमा नेपाली सेनाले सघाएको छ । ७५ वर्षअघिको पुरानो भवन भूकम्पपछि झन् जीर्ण बनेपछि नयाँ बनाउन लागिएको हो । पुरानो भवन भत्काउन नेपाली सेनाको यहाँस्थित सूर्यदल गणका जवान परिचालित छन् ।

यसअघि पनि भूकम्पले क्षतिग्रस्त बनेको सोही विद्यालयको पुरानो चारकोठे भवन सेनाले नै भत्काएको थियो । मङ्गलबारदेखि सुरु भएको भवन भत्काउने कार्य एक साताभित्र पूरा हुने प्रमुख सेनानी इन्दीवर विष्टले बताउनुभयो । १४ कोठे भवन पूरै भत्काएर नयाँ भवन बनाउने विद्यालयले जनाएको छ ।

“पुरानो भवन भत्काएर जग तयार गर्न एक साता लाग्छ, नेपाली सेना मात्र यहाँ परिचालित छ”, प्रमुख सेनानी विष्टले भने, “भूकम्पपछिको उद्धार र पुनःनिर्माणमा सेनाले पु¥याउँदै आएको सहयोगको एउटा भाग हो यो ।” जिल्लाकै पुरानो र इतिहास बोकेको विद्यालय भएको हुँदा सेनाले पनि सहयोगमा सक्रियता देखाउँदै आएको छ ।

नेपाली सेनाले जिल्लाका अन्य स्थानमा पनि विद्यालय भवन पुनःनिर्माणमा सहयोग गर्दै आएको छ । नेपाली सेनाले कतिपय स्थानमा तत्कालका लागि अस्थायी टहरा बनाएर समेत पढ्ने व्यवस्था मिलाएको थियो । आवश्यकता परेको ठाउँमा सेना सधँै खटिन तयार रहेको सूर्यदल गणका सेनानी गणेश पौडेल क्षत्रीले बताए ।

प्रमुख सेनानी विष्टसहित अधिकृत र जवान सहयोगमा खटिनुभएको छ । विद्यामन्दिर उच्च माविका प्राचार्य जगन्नाथ आचार्यले नेपाली सेनाले विद्यालय पुनःनिर्माण कार्यमा सधैं सहयोग गर्दै आएको बताए । “बढी क्षति पुगेको चारकोठे भवन भत्काउन गत वर्ष पनि सेनाले सहयोग गरेको हो, अहिले पनि गरिरहेको छ”, प्राचार्य आचार्यले भने, “सेनाको सहयोग र सद्भावप्रति हामी ऋणी छौँ ।”

आचार्यले आठकोठे नयाँ भवनका लागि जिल्ला शिक्षा कार्यालयमार्फत ६० लाख रुपैयाँ बजेट छुट्टिएको जानकारी दिए । सो बजेट मात्र पर्याप्त नभएको भन्दै उनले अन्य दाताबाट सहयोग जुटाएर भवनलाई पूर्णता दिने बताए । “नयाँ भवनका लागि दुई करोडको बजेट आवश्यक छ, सहयोग जुटाउँदै भवन थप्दै जाने योजनामा छौँ”, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप