बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ

बिहीबार, ३२ असार २०८३, २२ : ४०
बिहीबार, ३२ असार २०८३

सारांश

  • सप्तरीको शम्भुनाथ नगरपालिकामा मोटरसाइकल दुर्घटना गराई घाइतेलाई बाटोमा अलपत्र छाडेर फरार भएका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
  • गत असार ३१ गते प्रतिवादीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सादिक हुसेनलाई उपचारका लागि अस्पताल पुर्‍याउनुको सट्टा बाटोमा फालेर फरार भएका थिए ।
  • उपचारकै क्रममा मृत्यु भएका घाइते हुसेनको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका भारतीय नागरिकमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा मोटरसाइकल दुर्घटना गराई घाइतेलाई बाटोमा अलपत्र छाडेर फरार भएका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सवारी ज्यान मुद्दामा संलग्न रहेको आरोपमा भारतको मधुबनी जिल्ला, ग्राम पञ्चायत चतुर्भुज पिपराही वडा नं‍ १ नटुवा टोल बस्ने २८ वर्षीय मोहमद सदर आदम नटलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार, गत असार ३१ गते साँझ करिब ६ः५० बजेको समयमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ६ स्थित कठौना बजारमा प्रतिवादीले चलाएको बीआर ३२ बीडी ९७६४ नम्बरको अपाची मोटरसाइकलले सादिक हुसेनलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका हुसेनलाई आफ्नै मोटरसाइकलमा राखी घटनास्थलबाट लगेका थिए । तर, उनले घाइतेलाई उपचारका लागि अस्पताल पुर्‍याउनुको साटो खडक नगरपालिका वडा नं. १ सुन्दरपुरस्थित बाटोमा फालेर फरार भएका थिए ।

गम्भीर घाइते हुसेनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पुर्‍याइएकोमा सोही दिन राति करिब ८ः५० बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापश्चात फरार रहेका प्रतिवादीको खोजतलास गर्ने क्रममा खडक नगरपालिका वडा नं. १ बाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा सवारी ज्यान मुद्दा दर्ता गरी  सप्तरी जिल्ला अदालतबाट असार ३१ गतेदेखि लागू हुने गरी ५ (पाँच) दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप