शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नदी किनारमा बस्नेका दुःख

बुधबार, ०८ वैशाख २०७३, ०८ : २३
बुधबार, ०८ वैशाख २०७३

म्याग्दी – म्याग्दी सदरमुकाम बेनीसँगै रहेका उत्तरी पर्वतको माझफाँट गाविसको तीन वटा बस्तीका तीन सय भन्दा धेरै घरधुरी कालीगण्डकी नदीको कटानका कारण जोखिममा परेका छन् ।

माझफाँट गाविसको २, ३, ७ र ८ नम्बर वडामा पर्ने लामाखेत, वारीबेनी गुफाटोल र बगरफाँटको बस्ती कालीगण्डकीको कटानको जोखिममा परेका हुन् । कालीगण्डकीमा बर्षेनी बाढीको सतह बढेर आउने र कटान गर्न थालेपछि तीन वटा बस्तीका तीन सय भन्दा धेरै धरधुरी जोखिममा परेका बगरफाँटका बासिन्दा हिराबहादुर बरुवालले बताए ।

कालीगण्डकी किनारमा रहेको बगरफाँटमा दुई सय ५०, वारीबेनीको गुफाटोलमा ५० र लामाखेतमा १० भन्दा धेरै घरधुरीको बसोबास रहेको छ । म्याग्दीको बेनीबजारमा बस्ती बसाउन जग्गाको अभाव हुन थालेपछि कालीगण्डकी पारिका बगरफाँट, वारीवेनी र लामाखेतमा नयाँ घरहरु निर्माण गर्ने क्रम बढेको छ ।

बसाईंसराई गरेर म्याग्दीका विभिन्न ग्रामिण क्षेत्रबाट आएकाहरुले नयाँ घर बनाएर बस्ती विस्तार हुने क्रम बढेपनि संरक्षणको दिगो प्रयास हुन नसकेको बरुवालले गुनासो गरे । कालीगण्डकी नदीको सतहभन्दा करिब पाँच मिटरमाथिको उचाईमा रहेको जग्गामा घर निर्माण भएका छन् ।

कटान र नदी नियन्त्रणका लागि किनारमा तटबन्ध हुन सकेको छैन् । बगरफाँटको झाँक्रीखोला, बाँसको थान, साघुरोघाँटी, ठूलोढुंगा, पुलको नजिक र माटेपानीबाट कालीगण्डकीले कटान सुरु गरेको छ । गत वर्षको जेठमा बैसरीमा कालीगण्डकी थुनिएर खुल्ने क्रममा आएको बाढी बगरफाँटको बस्तीमा पसेको थियो भने वारीबेनी हुदै बगरफाँट जोड्ने पचास मिटरभन्दा बढी सडक कटान गरेर बगाएको थियो ।

म्याग्दी बेनीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वारीबेनीका गुफाटोलका चार वटा घर, कुखुरा फार्म र ग्यारेजमा गत वर्ष बाढीले क्षत्ती पुराएको थियो । बर्खा याममा कालीगण्डकी उर्लेर आउँदा रातभर जाग्राम बस्ने गरेको गुफाटोलका बासिन्दा प्रेमबहादुर नेपालीले बताए । त्यहाँका बासिन्दाहरुको बर्खायाम त्रासमा बित्ने गरेको छ । कालीगण्डकी पारी रहेको म्याग्दी बेनीमा नदी नियन्त्रणका लागि वर्षेनी करोडौं लगानीमा तटबन्ध र आरसीसी पर्खाल बनाउने योजना सञ्चालन भैरहेको छ ।

म्याग्दीबेनीको संरक्षणसँगै कालीगण्डकीले पर्वततर्फ धार परिवर्तन गर्न थालेको छ । पर्वततर्फ नदी नियन्त्रणको काम हुन नसक्नु र कालीगण्डकीमा बाढीको सतह बर्षेनी बढ्दै गएको छ । धेरै लामो दुरीमा तटबन्ध र संरक्षणको काम गर्नुपर्ने आवश्यकता भएपनि सिमित मात्रामा बजेट आउने हुँदा अन्यौलको अवस्था सिर्जना भएको कालीगण्डकी नदी नियन्त्रण उपभोक्ता समिति माझफाँट बगरका अध्यक्ष मुकुन्द बैरागीले बताए ।

उनका अनुसार जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय बागलुङले यस वर्ष बगरफाँटदेखि लामाखेतसम्मको करिब चार किलोमिटर दुरीको नदी किनार क्षेत्रमा तटबन्ध गर्न ४० लाख रुपैयाँ उपलब्ध गराएको छ । ४० लाखलाई तीन वटा भागमा विभाजन गरेर उच्च जोखिम रहेको स्थानमा संरक्षण गर्न प्राथमिकता दिने अध्यक्ष बैरागीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप