शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

तरकारी बेचेरै सदरमुकाममा चार तल्ले पक्की घर

शुक्रबार, १० वैशाख २०७३, १८ : २९
शुक्रबार, १० वैशाख २०७३
गुल्मी–‘आजभन्दा त्यस्तै १६/१७ वर्षअघि त्यस्तै २० हजारको तरकारी पसल राखेका थियौँ, तम्घासमा साढे सात सय सटरको भाडा तिरेर’ छिमेकी जिल्ला अर्घाखाँचीको भगवती–९ काउले पुर्खेयौली घर भएकी भगवती पाण्डेले भनिन– ‘अहिले यसरी गुल्मीको तम्घासमा घर बनाउन सकौंला भनेर उति बेला कल्पना समेत गरेका थिएनौं ।’ उनले थपिन– ‘मेरा श्रीमान भारतमा मजदुरी गर्नुहुन्थ्यो । उहाँ घर आएको बेला अब भारत नजानुस् तम्घासमा सानोतिनो तरकारी पसल गरौं भनेर भने । अनि उहाँले मान्नुभयो र तम्घासको क्याम्पस रोडमा पसल सुरु गरेका हौं, जुन बेला महिनाको साढे सात सय भाडा तिर्न पनि मुस्किल थियो ।’ तरकारी पसललाई बढाउँदै जाँदा उनीहरु खुद्र पसलेबाट होलसेल बिक्रेता बने । उनीहरुलाई ढुवानीका लागि गाडी आवश्यकता प¥यो र एउटा जिप किने । त्यसलाई बेचेर ट्रक किने । ट्रकले आम्दानी झन बढाउँदै गयो । उनका श्रीमान तिलक पाण्डे हरबखत तरकारी खरिदमा हिँडिरहे । श्रीमति पाण्डेले पसल चलाईरहिन् र एक पैसा अनावश्यक खर्च हुन दिइनन् । अन्ततः २०६६ सालमा आएर सदरमुकाम तम्घासको मुटु मानिने शहिद चोक नजिकै व्यस्त बजारमा उनीहरुले ३६ लाखमा घडेरी किने । त्यसै घडेरीमा अहिले ५० लाखभन्दा बढि खर्च गरेर चार तले पक्की घर ठडाएका छन् । ‘यस घर ठडाउने यिनै तरकारी र फलफुल हुन’ श्रीमती पाण्डेले भनिन् – ‘यो घर बनाउँदा पचास लाखभन्दा बढि खर्च भएको छ, अलिकती ऋण पनि लागेको छ ।’ सुरुमा पसलका लागि मािसक साढे सात सय र आजभन्दा सात महिना अघिसम्म साढे सात हजारसम्म सटरको भाडा तिरेर वाक्क भएको बताउँदै ति दम्पत्तीले अहिले आफ्नै घरको सटरमा तरकारी पसल राख्न पाएकोमा खुसी छन् । ‘चर्को भाडाले वाक्क थियौँ, अहिले आफ्नै घरको सटरमा पसल राख्न पाएकोमा खुशी छौं’ भगवतीले भनिन्– ‘६ वटा कोठाहरुमध्ये केही कोठाहरु भाडामा पनि दिएका छौं ।’ भारतमा मजदुरी गर्दाका ती दुखका दिनहरु सम्झिँदै उनका श्रीमान पाण्डे भन्छन् – ‘झण्डै दश वर्षसम्म त्यहाँ बसेर दुख गरें, तर कमाउने कुनै उपाय नचलेपछि यतै बसेको हुँ ।’ आफ्नै ट्रकमा तरकारी, फलफुल ओसार–पसारमा कहिले तम्घास कहिले वुटवल गर्ने उनका श्रीमान तिलक पाण्डेका बारेमा छिमेकी पसले जनक पन्थ भन्छन– ‘यो उनीहरुको कडा परिश्रम र मेहनतको फल हो ।’ उनीहरुले सुरुमा तम्घासमा आएर पसल राख्दादेखि अहिलेसम्म नजिकबाट चिनेका अर्का व्यवसायी घनाश्याम पाण्डे भन्छन्– ‘अहिले पनि उहाँका श्रीमान तिलक बजारमा बोरा बोकेर हिँड्न हिच्किचाउँदैनन्, उनीहरुको जस्तो मेहेनत– परिश्रम जो कोहीले गर्न सक्दैनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप