बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पत्रकार सूर्यकुमारको परिवारलाई एक लाख सहयोग

शनिबार, १८ वैशाख २०७३, १९ : ४६
शनिबार, १८ वैशाख २०७३

काठमाडौं – ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवं पत्रकार सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादिक्षाका लागि कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

हालै वैवाहिक बन्धनमा बाँधिएका प्रदीप पौडेल एवं नेविसंघ केन्द्रीय सदस्य एन्जिला न्यौपानेले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विवाह खर्चबाट कटाएर क्षेत्रीका छोराको उपचारका लागि कोष निर्माणका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने जनाएका हुन् । वैशाख १५ गते वैवाहिक बन्धनमा बाँधिएका पौडेल–न्यौपाने जोडीले नेपाल प्रेस युनियन काठमाडांै शाखामार्फत समन्वय गरी कोष निर्माण गर्ने बताएका छन् ।

‘परिवारका सदस्यहरूसँग प्रेस युनियन काठमाडौं शाखामार्फत समन्वय गरी यथाशीघ्र छोराको शिक्षादीक्षाका लागि उपयोगी हुने गरी कोष निर्माण गर्न एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ । पौडेलले दुःखमा सहयोग गर्न नेपाली समाजको विशेषता रहेको भन्दै क्षेत्री परिवारलाई सानो सहयोग गरेको जनाएका छन् । शनिबार विवाहको उपलक्ष्यमा जलपान समारोह आयोजना गरेका पौडेलले सोलगत्तै सहयोगको घोषणा गरेका हुन् ।

‘हाम्रो विवाहकै भोलिपल्ट क्षेत्रीको निधनको खबरले हामीलाई स्तब्ध बनायो । हामीले सकेको सहयोग गर्नुपर्छ भन्ने लागेर विवाहको खर्चबाट कटौती गरेर सानो सहयोग गरेका हौं ।’, पौडेलले भने । सामान्य चियापान मात्रै गरिएका कारण अमेरिकामा रहेका दाजुले दिएको विवाह खर्चमध्ये बचत भएको रकमबाट सहयोगको घोषणा गरेको बताए । विज्ञप्तिमार्फत पौडेल र न्यौपानेले सो कोषमार्फत स्वर्गीय क्षेत्रीका छोराको शिक्षादिक्षाका लागि सहयोग गर्न सबैलाई आव्हानसमेत गरेका छन् ।

नेपाल प्रेस युनियन काठमाडौं शाखाको अगुवाइमा सो कोष निर्माणका लागि सहयोगको घोषणा भएको हो । प्रेस युनियन काठमाडौं शाखाका सदस्यसमेत रहेका केन्द्रीय सचिव क्षेत्रीको वैशाख १६ गते उपचारका क्रममा निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप