तमलोपापछि सद्भावनाद्वारा गठबन्धन बहिस्कार
काठमाडौं – मधेसी मोर्चा र जनजाति पार्टीहरुको संघीय गठबन्धन एकपछि अर्को विवादमा फँस्दै गइरहेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी मोर्चालाई ‘मिनिमाइज’ गर्ने गरी गठबन्धन गठन गरेको भन्दै असन्तुष्ट रहेका मधेसी मोर्चाका अन्य पार्टीहरुले गठबन्धनलाई बहिस्कार गर्ने क्रम शुरु भएको छ ।
गठबन्धनको बैठकलाई तराई मधेस लोकतान्त्रिक पार्टीले यसअघि नै बहिस्कार गरेकोमा आजको बैठक तमलोपासँगै सद्भावना पार्टीले पनि बहिस्कार गरेको छ ।
हिजो फोरम नेपालको पार्टी कार्यालयमा बसेको गठबन्धन बैठकमा तमलोपाको उपस्थिति बिनै गठबन्धनको संयोजकमा यादवलाई चयन गरिएको थियो ।
तमलोपाका पार्टी अध्यक्ष महन्थ ठाकुर भारतको नयाँ दिल्ली गएपछि पार्टीका अन्य नेताहरु बैठकमा सहभागी हुने मानेका थिएनन् ।
हिजोको बैठकमा सद्भावनाका नेताहरुको उपस्थिति रहे पनि यादव संयोजकमा चयन भएपछि सद्भावना पनि आजको बैठकमा उपस्थित भएन । सद्भावना पनि यादव चयन भएपछि असन्तुष्ट रहेको बुझिएको छ ।
यद्यपि, पार्टीका महासचिव मनिष सुमनले भने आफूहरुको कार्यव्यस्तताका कारण बैठकमा अनुपस्थित भएको बताए ।
गठबन्धनको संयोजक को हुने भन्ने विषयमा मधेसी मोर्चामा ठूलो विवाद रहेको छ । संयोजक पदका लागि यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको दाबी थियो भने धेरैले मोर्चापछि महन्थ नै गठबन्धनको संयोजक रहनुपर्ने मत राख्दै आइरहेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण