सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

बेवास्ता नगरौँ रक्तचापलाई

मङ्गलबार, ०४ जेठ २०७३, १७ : ०७
मङ्गलबार, ०४ जेठ २०७३
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा मिलनप्रकाश श्रेष्ठ अहिले २० देखि ३० वर्षका युवामा रक्तचापको समस्या देखिन थालेको बताउँछन् । धेरैलाई नियमित औषधि खानुपर्ने अवस्था देखिएको उनको भनाइ छ । उच्च रक्तचापको कारणमध्ये करिब दुईदेखि तीन प्रतिशतको मात्रै कारण प्रस्ट देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण अझै पत्ता लागेको छैन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१३ मा गरेको नसर्ने रोगको जोखिम पक्षसम्बन्धी सर्भेक्षणले २५ प्रतिशत नेपालीमा उच्च रक्तचाप भएको देखाएको थियो । परिषद्ले सन् २०१२ को जुलाईदेखि २०१३ जुनसम्म ५० जिल्लाका २१० वडाका १५ देखि ६९ वर्षसम्मका चार हजार १४३ जनामा त्यस्तो सर्भेक्षण गरेको थियो । हरेक पाँच वर्षमा गरिने सर्भेक्षणमा उच्च रक्तचापको समस्या देखिएका कुल २५ प्रतिशतमा ३१ प्रतिशत पुरुष र २०।६ प्रतिशत महिला छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डा कृष्ण अर्याल बदलिँदो जीवनशैली, अव्यवस्थित खानपान र रहनसहनका कारण अहिलेका युवा पुस्तामा उच्च रक्तचाप र यसका कारण हुने हृदयाघात, मतिष्काघात र मिर्गौला खराबीका समस्या दिन प्रतिदिन बढ्दै गएको बताउँछन् । मानिसहरु अरु समस्याका लागि औषधि खान डराउँदैनन् तर रक्तचापको औषधि भनेपछि हच्किने गरेको डा श्रेष्ठको अनुभव छ । उनले भने – ‘‘रक्तचापको खतराबारे आवश्यक ज्ञान नभएकाले नै मानिस यति साह्रो हच्केको हुन सक्छ, रक्तचाप त्यति धेरै उच्च नभएको तथा पहिलो पल्ट देखिएको रक्तचाप तथा शरीरका अङ्गमा क्षति नपुगिसकेको अवस्थामा केही महिना औषधि नखाई अन्य उपाय अवलम्बन गरेर रक्तचाप घटाउन कोसिस गर्न सकिन्छ तर यी उपाय अपनाउँदा पनि रक्तचाप उच्च नै रहिरहेमा औषधि सुरु गर्न धेरै ढिला गर्नु हुँदैन ।’’ विश्व स्वास्थ्य सङ्गठनले उच्च रक्तचापलाई ‘सुषुप्त हत्यारा’को संज्ञा दिएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल भन्छन् –‘‘पछिल्ला दिनमा मानिसको खानेबानीमा आएको परिवर्तन, शारीरिक निष्क्रियता, नुनको अत्यधिक प्रयोग, ‘जङ्कफुड’ र ‘फास्टफुड’ खाने बानी, मानसिक तनाब, धूमपान र रक्सी सेवनजस्ता कारणले उच्च रक्तचापको समस्या बढ्दै गएको हो ।” पछिल्ला सर्भेक्षणले पनि नेपालमा उच्च रक्तचापको बढ्दो अवस्थालाई पुष्टि गरेका छन् । नेपालमा गरिएका पछिल्ला सर्भेक्षणअनुसार युवामा हुने हृदयाघातको ५० प्रतिशत कारण उच्च रक्तचाप हो । मस्तिष्काघातमा ७४ प्रतिशत र मिर्गौला खराबी हुनामा ९० प्रतिशत कारण उच्च रक्तचाप भएको पुष्टि भएको चिकित्सक अनिलको भनाइ छ । नेपाल हृदयाघात सचेतना केन्द्रले काठमाडाँै उपत्यकाका सहरी युवा तथा वयस्क माझ गरेको एक सर्भेक्षणले १८ देखि ४० वर्षसम्मका २८ प्रतिशत युवामा उच्च रक्तचापको समस्या रहेको देखाएको छ । सर्भेक्षणले त्यसभन्दा डरलाग्दो तथ्यका रूपमा सो उमेर समूहका ४४ प्रतिशतमा उच्च रक्तचापको जोखिम रहेको देखाएको छ । अनुसन्धानमा पाँच हजार ४४३ जनाको दुवै हातको पाँच÷पाँच मिनेटको अन्तरमा उच्च रक्तचाप जाँच गरिएको थियो । उच्च रक्तचापको समस्या भएपछि यो पूर्ण रुपमा निको नहुने तर यसलाई रोकाम गरी यसबाट हुने अन्य रोगको खतरालाई रोक्नु आवश्यक भएको डा अर्यालको भनाइ छ । उनले यस्ता पीडितले नियमित औषधि खानुपर्ने र हरेक एक वर्षमा रगतमा चिल्लो चिनीको मात्रा र उच्च रक्तचापको मात्रा जाँच गराउन आवश्यक रहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप