पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
सारांश
- २४ वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको चर्चा चले पनि काम सुरु हुन सकेको छैन ।
- सरकारले उद्योग मर्मतका लागि ३३ लाख रुपैयाँ निकासा गरिसकेको र नेपाली सेनालाई परीक्षण उत्पादनको जिम्मेवारी दिने तयारी गरेको दाबी गरेको छ ।
- मन्त्रीले उद्योग सञ्चालनको विश्वास दिलाए पनि हालसम्म सामान्य सरसफाइबाहेक मर्मतको काम सुरु नभएको उद्योग व्यवस्थापनले जनाएको छ ।
मकवानपुर । बन्द भएको २४ वर्षपछि हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने चर्चा चुलिएको छ । नयाँ सरकार बनेसँगै यो उद्योग सञ्चालनको चर्चा चले पनि त्यसअनुसार काम भने सुरु भइसकेको छैन ।
नेपाल सरकारले उद्योगलाई प्रारम्भिक चरणमा सानो स्केलमा परीक्षण उत्पादन गर्ने गरी नेपाली सेनालाई जिम्मेवारी दिने तयारी थालेको छ । उद्योगका मेसिन मर्मतका लागि बजेटसमेत निकासा भएको दाबी गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले केही अघि राष्ट्रिय सभामा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जबाफ दिँदै हेटौँडा कपडा उद्योग मर्मतका लागि अर्थ मन्त्रालयमार्फत ३३ लाख रुपैयाँ निकासा भइसकेको र मर्मत कार्यसमेत अघि बढिसकेको बताइन् ।
‘कपडा उद्योगका लागि ३३ लाख रुपैयाँ निकासाका लागि अर्थ मन्त्रालयमा लेखी पठाएका थियौँ । त्यो रकम निकासा भइसकेको छ । उद्योगमा रकम पुगिसकेको छ र मर्मत कार्य पनि अगाडि बढिसकेको छ । अब केही महिनामै उद्योग सञ्चालनमा आउँछ भन्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भनिन् ।
_GPrw6MPBXv.jpg)
मन्त्री यादवका अनुसार हेटौँडा कपडा उद्योगमात्र होइन, बुटवल धागो कारखाना र नेपालगञ्जमा कपास उत्पादन कार्यक्रमसमेत पुनः सञ्चालन गर्ने गरी सरकारले योजना अघि बढाएको छ । सरकार अहिले बन्द रहेका सरकारी उद्योगको दीर्घकालीन सञ्चालन मोडालिटी तयार गर्न ड्यु डिलिजेन्स अडिट (डीडीए) प्रतिवेदनको प्रतीक्षामा छ । प्रतिवेदनपछि अन्य रुग्ण उद्योग कसरी सञ्चालन गर्ने भन्ने टुङ्गो लाग्ने मन्त्री यादवको भनाइ छ ।
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सरकारको १०० दिने उपलब्धिमा समावेश गरिएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतका अनुसार सरकारले उद्योगलाई प्रारम्भिक चरणमा परीक्षण उत्पादन गर्न नेपाली सेनालाई स्वीकृति दिएको छ । उद्योगको जीर्ण भौतिक संरचना मर्मतका लागि करिब ५० लाख रुपैयाँको लागत अनुमान तयार गरी अर्थ मन्त्रालयमा पठाइएको र आवश्यक रकम निकासा भइसकेको उनको भनाइ छ ।
- सरसफाइ भयो, तर भएन मर्मतको काम
सरकारले उद्योगमा मर्मत कार्य सुरु भएको दाबी गरे पनि उद्योग परिसरको वास्तविक अवस्था भने फरक देखिएको छ । उद्योग परिसरमा सामान्य सरसफाइको काम भए पनि मेसिन मर्मत तथा सञ्चालनको विषयमा भने ठोस काम हुन सकेको छैन ।
हेटौँडा कपडा उद्योग व्यवस्थापनको जिम्मेवारी रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकी प्रमुख संगीता कुँवरका अनुसार अहिलेसम्म उद्योग परिसरमा सामान्य सरसफाइबाहेक अन्य कुनै उल्लेखनीय निर्माण वा मर्मत कार्य सुरु भएको छैन । केही समय अघि उद्योगमन्त्री गौरीकुमारी यादव, उद्योग मन्त्रालय, अर्थ मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयका प्रतिनिधिहरूले पटक–पटक उद्योगको निरीक्षण गरेको उनले बताइन् । निरीक्षणका क्रममा भवन, मेसिन तथा भौतिक पूर्वाधारको अवस्थाबारे अध्ययन गरिए पनि मर्मतको काम भने औपचारिक रूपमा सुरु नभएको उनको भनाइ छ ।
_9S3CVflcV6.jpg)
‘सरकारले उद्योग सञ्चालनको तयारी थालेपछि उद्योग परिसर सफा गर्ने काम सुरु गरेका छौँ, तर धेरै वर्षदेखि बन्द रहेकाले झाडी हटाउनेदेखि संरचना सफा गर्न समय लाग्ने अवस्था छ । अहिले क्रमिक रूपमा सरसफाइ भइरहेको छ,’ कुँवरले भनिन् ।
२०७५ सालदेखि उद्योग परिसरमा सशस्त्र प्रहरी बलको सुरक्षा पोष्ट रहँदै आएको छ । केही दिनअघि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा उद्योग परिसरको सरसफाइ गरेका थिए । उद्योग बन्द भएपछि पहिलो पटक भवनको बाहिरी संरचना र कङ्क्रिट भागसमेत सफा गरिएको व्यवस्थापनले जनाएको छ ।
- उद्योग सञ्चालनमा सेनाको प्रस्ताव
हेटौँडा कपडा उद्योग सञ्चालनका लागि नेपाली सेनाले यसअघि नै करिब दुई अर्ब रुपैयाँ लगानीको प्रस्ताव सरकारलाई बुझाइसकेको छ । पछिल्लो पटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका बेला सेनाले उद्योगको प्राविधिक अध्ययन गरी चरणबद्ध रूपमा सञ्चालन गर्न सकिने निष्कर्षसहित विस्तृत प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
अहिले सोही अध्ययनलाई आधार बनाएर परीक्षण उत्पादनको तयारी अघि बढाइएको सरकारी अधिकारी बताउँछन् । सेनाको अध्ययनमा तत्काल एक अर्ब ९३ करोड सुरुवाती लगानी र वार्षिक ७८ करोड सञ्चालन खर्च आफैँ जुटाएर उद्योग सञ्चालन गर्न सकिने उल्लेख थियो । त्यसका लागि सेनाको सैनिक कल्याणकारी कोषमा बजेट पर्याप्त रहेको भन्दै उद्योग चलाउन आवश्यक पुँजी सरकारले दिनुनपर्ने सेनाले जनाएको थियो ।
_HQ2r7JtynU.jpg)
उद्योगबाट उत्पादित कपडा सुरक्षा निकाय र निजामती कर्मचारीलाई प्रयोगका लागि बाध्यकारी बनाउन सके बजारको समस्यासमेत नपर्ने सेनाको भनाइ छ । उद्योगको स्वामित्वमा एक सय ६६ रोपनी जग्गा उपलब्ध रहेको, उद्योगका लागि आवश्यक न्यूनतम पूर्वाधार रहेको र उद्योग सञ्चालनका लागि अधिकांश कच्चा पदार्थ देशभित्रै उपलब्ध रहेको पनि सेनाको प्रतिवेदनमा उल्लेख छ ।
- ४८ वर्षअघि स्थापना, २४ वर्षदेखि बन्द
हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएको कपडा उद्योगले २०३५ सालदेखि उत्पादन सुरु गरेको थियो । २०३५ माघ ५ गते औपचारिक रूपमा उदघाटन भएको उद्योगले सुती धागो, कोरा, रङ्गीन, बुट्टेदार र सेतो कपडासँगै नेपाली सेनाका लागि आवश्यक पोसाकसमेत उत्पादन गर्थ्यो । कुनै समय उद्योगमा करिब १ हजार २०० श्रमिक प्रत्यक्ष रोजगारीमा थिए । उत्पादन राम्रो हुँदा कर्मचारीलाई बोनससमेत वितरण हुने अवस्था थियो ।
_fLjhOakM00.jpg)
तर, २०४६ सालपछि बढ्दो राजनीतिक हस्तक्षेप, बन्द–हडताल, कमजोर व्यवस्थापन, पुराना मेसिन, उत्पादन लागत वृद्धि तथा विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग निरन्तर घाटामा गयो । अन्ततः २०५७ माघ १८ गते उद्योग बन्द गर्ने निर्णय गरियो ।
उद्योग बन्द भएपछि पनि विभिन्न सरकारले पटक–पटक पुनः सञ्चालनको घोषणा गरे । निजीकरणको प्रयास भयो, अध्ययन समिति बने, बजेट छुट्ट्याइयो, उद्योगमन्त्रीहरू परिवर्तनसँगै नयाँ योजना पनि आए, तर कुनै पनि प्रयास कार्यान्वयनमा सार्थक हुन सकेन । पूर्वउद्योगमन्त्रीहरू अष्टलक्ष्मी शाक्य, महेन्द्रप्रसाद यादव, अनिलकुमार झा, महेश बस्नेत, नविन्द्रराज जोशीलगायतले उद्योग सञ्चालनको प्रतिबद्धता व्यक्त गरेका थिए । तत्कालीन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूको पालामा पनि मन्त्रालयको टोलीले अध्ययन गरेको थियो ।
गत चैत १५ गते गृहमन्त्री सुधन गुरुङले प्रहरीका लागि आवश्यक पोसाक स्वदेशमै उत्पादन गर्ने उद्योग स्थापना गरिने बताएपछि नयाँ उद्योग खोल्ने कि हेटौँडा कपडा उद्योग पुनर्जीवित गर्ने भन्ने बहस फेरि सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण