बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

संघीय गठबन्धनको आन्दोलनको कुनै औचित्य छैनः सञ्चारमन्त्री

बुधबार, ०५ जेठ २०७३, १४ : ०७
बुधबार, ०५ जेठ २०७३

काठमाडौ– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संघीय गठबन्धनले सुरु गरेको राजधानी केन्द्रीत आन्दोलनको कुनै औचित्य नभएको दावी गरेका छन् । बुधवार रिपोर्टर्स क्लब नेपालमा सुरुवात कार्यक्रममा उनले गठबन्धनको आन्दोलन आवश्यकता नभएकोले जनताको सहभागिता नरहेको भन्दै अन्तमा आन्दोलनबाट थाकेर बार्तामा फर्किन बाध्य हुने ठोकुवा गरे । मन्त्री राईले भने,‘ नाकाबन्दी गरेर जनतालाई दुख दिने गरी गरिएको आन्दोलनको तुक नदेखेर उहाँहरुले काठमाडौमा दवाव दिन आएको भन्नु हुन्छ । यस्तो आन्दोलनले दवाव नपर्न पनि सक्छ ।’ उनले सरकारलाई दवाव पुगेर नै संविधान संसोधन, सीमांकन मिलाउन राजनीतिक समिति र बार्ताकोलागि लिखित आब्हान गरेको स्पष्ट पार्दै आन्दोलनले संविधानको जग हल्लाउने र स्वाभिमान र स्वाधिनतामा प्रश्न उठाएकोले त्यसमा सरकार नझुेको दावी गरे । संविधानमा कुनै विभेद नभएको दावी गर्दै मन्त्री राईले अब पनि बार्तामा आएर समस्या समाधानमा नलागे सरकारले गठबन्धनको २६ बुँदे माग, संविधानमा त्यस सम्बन्धमा रहेको ब्यवस्था र सरकारले त्यसकोलागि गरेको कामको विवरण राखेर तथ्य सार्वजनिक गर्ने चेतावनी दिए । उनले संविधान पुर्नलेखनको कुरा अत्यन्तै खतरनाक भएको भन्दै यो जनताको अपमान भएकोले कुनै पनि हालतमा सम्भव नभएको ठोकुवा गरे । मन्त्री राईले भने,‘ यो कसैको कृपाले जारी भएको संविधान होईन । आन्दोलनकारीहरु संविधान कार्यान्वयन हुन नदिएर मुलुकलाई गृहयुद्ध तर्फ धकेल्ने योजनामा छन । सरकारले यो चाहना कदापी पुरा हुन दिदैन । ’ उनले देश यथास्थितिमा रहने वा पछि फर्कन नसक्ने दावी गर्दै आन्दोलनले भ्रम र अन्यौला सृजना गरेको बताए । मन्त्री राईले सरकार संविधानको कार्यान्वयन, पुनःनिर्माण र स्थायित्व कायम गर्दै आर्थिक विकासको बाटोमा अघि बढी रहेको भन्दै आगामि बजेट पनि जनताको परिवर्तित चाहना अनुसार नै आउने स्पष्ट पारे । उनले संविधानको मर्म र भावना अनुसार सञ्चारमाध्यममा अकुंश, नियन्त्रण र हस्तक्षेप नगर्ने गरी जिम्मेवार, मर्यादित, ब्यवसायिक र जिम्मेवार बनाएर मुलुकलाई अघि बढाउने गरी सरकारले तयारी गरिरहेको भन्दै सञ्चारमाध्यमलाई विकास, समृद्धि र सुशासनसँग जोडेर अगाडि लिएर जाने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप