बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

भन्सार छलेको शंकामा ६ कम्पनीका गाडीको जाँचपास रोकियो

बुधबार, ०५ जेठ २०७३, १४ : १६
बुधबार, ०५ जेठ २०७३

काठमाडौं - अन्य मुलुकबाट नेपालमा इलेक्ट्रोनिक्स सामान, गाडी, गाडीका पाटपुर्जालगायतका सामानमा न्यून विजीकरण गरी नेपाल भित्र्याउने काम हुने गरेको आरोप विगतमा धेरैपटक लागेको थियो । कम शुल्कको विजीकरण गर्ने र सोहीअनुसार भन्सार तिरी नेपालमा ल्याएर महँगोमा सामान बेच्ने गरेका घटना थुप्रैपटक सार्वजनिक भइसकेका छन् । यस्तै प्रकृतिको घटना वीरगन्ज भन्सारमा फेरि घटेको छ । वीरगन्ज भन्सार विभागले न्यून विजीकरण शंकामा नेपालमा बिक्री हुँदै आएका ६ कम्पनीका गाडीको भन्सार जाँचपास रोकेको छ ।

२० दिनदेखि रोकिए कम्पनीका गाडी

विभागले केही समयदेखि न्यून मूल्यांकन गरेर गाडी भित्रिएको शंकामा अनुसन्धान गरिरहेको थियो । यही अनुसन्धान सिलसिलामा आएको सूचनाका आधारमा उक्त गाडी भन्सारमा रोकिएका हुन् । स्रोतका अनुसार तेस्रो मुलुकबाट नेपालका लागि आयात ६ कम्पनीका गाडी २० दिनदेखि विभिन्न भन्सार कार्यालयको यार्डमा रोकिएका न्छ । सम्बन्धित मुलुकमा निकै कम मूल्यमा विजीकरण गराएर भन्सार छल्ने र नेपालमा उक्त गाडी ल्याएर महँगोमा बेच्ने गरेको उजुरीका आधारमा ती गाडी रोकिएको बताइएको छ । भन्सारमा अड्किएका गाडीमा भक्सवागन, ल्यान्डरोभर, टोयोटा, फोर्ड, मित्सुबिसी र किया कम्पनीका गाडी छन् ।

गाडी रोकिएकोबारे गरिएको प्रश्नको उत्तर दिँदै वीरगन्ज भन्सार कार्यलायलप्रमुख सेवन्त पोखरेलले मूल्यांकनमा समस्या भएपछि केही ब्रान्डका गाडीको जाँचपास रोकिएको बताएका छन् ।

के भन्छन् भन्सार विभाग प्रमुख ?

गाडी रोकिएकोबारे गरिएको प्रश्नको उत्तर दिँदै वीरगन्ज भन्सार कार्यलायलप्रमुख सेवन्त पोखरेलले मूल्यांकनमा समस्या भएपछि केही ब्रान्डका गाडीको जाँचपास रोकिएको बताएका छन् । ‘न्यून विजीकरण भएको शंकामा केही ब्रान्डका गाडी रोकिएको सत्य हो । हामीले पहिला कम्पनीलाई आफैँ मूल्यांकन गर्न भनेका छौँ ।’ उनका अनुसार वीरगन्ज नाकामा अहिले टोयोटा र कियाका गाडीको जाँचपास रोकिएको हो । खास विवाद के हो ?

गाडीको मूल्यांकनमा न्यून विजीकरण गरिएको विषय नै विवादको मुख्य विषय बनेको छ । भन्सार विभागले तेस्रो कम्पनीको बिलिङमा आयात हुने गाडीमा न्यून विजीकरण हुने शंका गरेपछि गाडी भन्सारमै अड्किएका हुन् । भन्सार कम तिरेर छुटाइएका गाडी सस्तो मूल्यमा बिक्री गर्दा सरकारको भ्याट गुम्ने भएपछि यस्तो कडाइ गरिएको बुझिएको छ । स्रोतका अनुसार दुबई, ताइवानलगायतका देशमा कम्पनी खडा गर्ने र तिनैबाट बिलिङ गरेर न्यून विजीकरण गरी नेपालमा गाडी भित्र्याइने गरेको छ ।

विभागले माग्यो ट्राइपाटी सम्झौता

न्यून विजीकरण भएको भन्दै भन्सारमा गाडी रोकिएसँगै विभागले ट्राइपाटी सम्झौता मागेको छ । गाडी उत्पादन गर्ने कम्पनी, त्यसको निर्यात गर्ने अधिकार पाएको कम्पनी र नेपाली अधिकृत बिक्रेताबीचको सम्झौता ट्राइपाटी सम्झौता हो । स्रोतले भन्छ, ‘सम्झौता छ भन्ने तर नल्याउने काम भएको छ । सम्झौता ल्याएपछि मात्रै हामी गाडी छाड्छौँ । बीचमा आफैँ कम्पनी खडा गरेको रहेछ भने त्यसले गरेको बिलिङलाई हामी मान्यता दिँदैनौँ,’ भन्सारका एक अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप