बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

भारतीय नेपाली समाजमा 'नेपाली लोकगीत'

बुधबार, ०५ जेठ २०७३, १४ : ५५
बुधबार, ०५ जेठ २०७३

दार्जिलिङ–भारतमा नेपाली लोकगीतको कुरा गर्ने हो भने उहिले लोकप्रिय गायिका स्व हिरादेवी वाइबाले बिडो थामेकी थिइन्। पछि भने लोकगीतको क्षेत्रमा महिला गायिका पाउनै गाह्रो भयो। अझ भनौं भने नेपाली लोक गीतको बिडो भारतीय नेपाली समाजमा नेपालले नै थाम्यो। यस्तो अवस्थामा लोक कलाकारको खडेरीलाई थोरै भएपनि पूर्ति गर्न सुचिता खातीले लोकगीतको एल्बम ‘नौमती’ बजारमा ल्याएकी छन् । भारतमा नेपाली लोकगीतको एल्बम निकाल्नु भनेको फलामको चिउरा चपाउनु जस्तै हो। तर दार्जिलिङ पहाडी भेककै नागरी चियाबगानमा जन्मिएकी र बिहे भएर खरसाङमा बस्दै आएकी खातीले भने पहिलो एल्बम ‘नौमती’ निकालेकी हुन् ।

भारतीय नेपालीहरूको सबैभन्दा जेठो संस्था खरसाङस्थित गोर्खा जन पुस्तकालयमा आइतबार भव्य कार्यक्रम बीच गीतको सुपरिचित गायक संगीतकार दुर्गा खरेलको मुख्य आतिथ्यमा लोकार्पण गरिएको थियो। यसअघि सन् २००४ मा दार्जिलिङ–सिक्किम भेगबाट लोकगीतकै मात्र एल्बम दुई दाज्यू(भाई चन्द्रदीप वाइबा र सुदीप वाइबाले निकालेका थिए ।

त्यसपछि भने अहिलेसम्म लोकगीतको एल्बम निस्किएको थिएन। एक दशक बितेपछि सुचिता खातीले आँटै गरेर लोकगीतको एल्बम निकालेकी हुन् । यसमा उनलाई पति विकाससिंह लोहारले पूर्ण सहयोग दिएका छन्। विकाससिंह स्वंय भारतभरमै बी म्यूज्को परीक्षामा तेस्रो स्थान ओगट्न सङ्गल एकजना यस भेकका सुपरिचित तबला वादक हुन्। एल्बम ‘नौमती’मा पूर्वेली भाकाहरूले भरिएका रौसिलो वातावरण जमाउने गीतहरू छन्। प्रायः जसो सबै गीतहरूले नेपालको पूर्वेली डाडासित जोडिएको दाजीर्लिङको डाडाका काढाको लोक जनजीवनलाई झल्काउन सकेको छ। कवि कालुसिंह रणपहेंलीको शब्द संकलन भएको एल्बमको शीर्षक गीत ‘नौमती’ सुन्दा बिहे घरको दृश्य स्मृतिपटमा आउन थाल्छ। चुडका, ख्याली, गर्रा, तामाङ सेलो जस्ता झर्रा नेपाली लोक भाकाहरूका नौवटा गीतहरूले एल्बम भरिएको छ। यसमा नेपाली साहित्यका चर्चित समालोक डा जस योञ्जन ‘प्यासी’, सुपरिचित संगीतकार शिलाबहादुर मोक्तान, राजु सुन्दास, इन्द्र सिंह र उपेन्द्र प्रधानका गीत(संगीतहरू रहेका छन्। संगीतकार महेश्वार लामाले संगीत संयोजनमा आफ्नो कला पूर्ण रूपले प्रस्तुत गरेका छन्। गायिका सुचिता खाती अल इण्डिया रेडियो आकाशवाणी खरसाङमा मादले गीतमा अडिशन पास गरेकी महिला गायिका हुन भने लोकगीतमा उनी रेडियोका ‘बी हाई’ ग्रेडकी कलाकार हुन्। तस्वीर सौजन्यः अञ्जनसिंह घतानी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप