बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रतिकूल मौसमले दुई दिनदेखि सगरमाथाको आरोहण भएन

बुधबार, ०५ जेठ २०७३, १६ : ४८
बुधबार, ०५ जेठ २०७३

काठमाडौँ - प्रतिकूल मौसम भएपछि दुई दिनदेखि सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न हिँडेका आरोही रोकिएका छन् ।

मौसममा उतारचढाव आएपछि आरोहीले चुचुरो चुम्नलाई नसकिरहेका पर्यटन विभागले जनाएको छ ।

सगरमाथाको चुचुरो नजिक हावा चलेका कारण मङ्गलबार र बुधबार कुनै आरोहण नभएको आधार शिविरमा रहनुभएका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धेरै आरोही क्याम्प दुई, तीन र चारमा छन् । उनीहरु बिहीबार, शुक्रबार र शनिबार चुचुरोमा पुग्नेछन् । केही आरोही भने अहिले आधार शिविरमै रहेका छन् । उनीहरु पनि उँभोतिर लाग्ने तयारीमा रहेको श्रेष्ठले बताए ।

वसन्त ऋतुको यो मौसममा गत वैशाख २९ गते बुधबारदेखि सुरु भएको सगरमाथा आरोहण निरन्तर छ दिनसम्म अर्थात् जेठ ३ गतेसम्म चलेको थियो ।

सगरमाथा आरोहणको छ दिनको अवधिमा ८८ जना स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।

विभागको अनुमानअनुसार आज ५८ नेपाली र ४१ विदेशी गरी ९९ आरोही चुचुरोमा पुग्ने योजनामा थिए । तर आज कुनै आरोहण भएन ।

त्यसैगरी बिहीबार ११० नेपाली ८७ विदेशी, शुक्रबार ७० नेपाली र ५६ विदेशी तथा शनिबार २१ नेपाली र २१ विदेशी गरी जम्मा ४६४ आरोही सगरमाथाको चुचुरोमा पुग्ने अनुमान गरिएको थियो ।

प्राकृतिक विपत्तिका कारण सन् २०१४ र २०१५ मा सगरमाथा र अन्य हिमालको आरोहण रोकिएको थियो । सन् २०१६ को वसन्त ऋतुमा सगरमाथाको सफल आरोहणले विश्वको ध्यान केन्द्रित गरिरहेको छ ।

पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ पर्यटक आरोहणका लागि गएका छन् ।

तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोलीले अनुमति लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप