बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीन–नेपाल –भारत सम्बन्ध र नयाँ विकास रणनीति विषयक सम्मेलन शुरु

बिहीबार, ०६ जेठ २०७३, १७ : १६
बिहीबार, ०६ जेठ २०७३

काठमाडौं – चीन– नेपाल – भारत सम्बन्धका प्रमुख प्रवृत्ति र नेपालको लागि नयाँ विकास रणनीति विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ ।

साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (सियाम), इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज् र सिङ्गापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीले संयुक्तरुपमा आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विजयकुमार गच्छदारले नेपाल विश्वको द्रूतरुपमा विकास गरिरहेका मुलुकहरुको बीचमा रहेको हुँदा चीन र भारतले हासिल गरेको विकासबाट नेपालले सिक्नुपर्ने बताए ।

उनले भने—“नेपालका लागि विगतलाई समीक्षा गरेर वर्तमानलाई बुझ्दै मुलुकको विकासका लागि उपयुक्त रणनीतिक मार्ग निर्धारण गर्ने यो महत्वपूर्ण समय हो ।”

विकासका रणनीति निर्धारण नगरी निष्क्रिय रहँदा कहिँ पनि नपुगिने उपप्रधानमन्त्री गच्छदारको भनाई थियो । उनले विगतका रणनीतिहरुको समिक्षा गर्नुका साथै असफलता र त्रुटिबाट सिक्दै नयाँ उत्साहका साथ अग्रसर हुनुपर्नेमा जोड दिए ।

उनले एसियाली मुलुकलाई जल र स्थलमार्गबाट जोड्ने चीनको एक क्षेत्र एक सडक नीति नेपालको उच्च व्यापार लागत घटाउन सहयोगी हुने अपेक्षा गर्दै उक्त नीति एशियासहित विश्व बजारमा सम्पर्कका लागि लाभदायी हुने बताए ।

अनादिकालदेखि भारत नेपालको व्यापारिक साझेदार रहेको र दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक एवम् आर्थिक सम्बन्धका सुदृढ आधारले झिनामसिना असमझदारीका बिचमा पनि सम्बन्धमा कुनै प्रभाव नपार्ने उनले भने ।

भारतको छिमेकी पहिले तथा ‘पूर्व फर्कने र त्यतैतर्फ आफ्नो ध्यान केन्द्रित गर्ने’ नीतिले नेपाल र भारतबीतको सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा रहेको स्पष्ट पारे ।

गत वैशाखको भूकम्प र त्यसपछि अत्यावश्यक वस्तुको आपूर्तिमा भएको अवरोधले नेपालीको जीवनलाई अति कष्टकर तुल्याए पनि अति असहज परिस्थितिमा पनि नेपालीले धैर्य र एकता प्रस्तुत गरेका बताउनुभयो । यसले नेपाल भारतबीचका समस्याहरु आपसी समझदारी र सहयोगबाट नै समाधान हुनुपर्ने चाहना नेपाली जनताले व्यक्त गरेको उनको भनाई थियो ।

साउथ एसियन इन्सटिच्युट अफ म्यानेजमेन्टका अध्यक्ष एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले चीन र भारत दुबै मुलुक नेपालका शुभेच्छुक हुन् भन्दै खुला सीमाना, सांस्कृतिक एवम् धार्मिक सम्बन्धका कारण भारतसँग नेपालको अधिक सम्पर्क एवम् अन्तरक्रिया हुने गरेको बताए ।

भारत र चीनमा द्रुत गतिमा बढिरहेका मध्यमवर्ग र तिनीहरुको यात्राप्रतिको अभिरुचि नेपालको पर्यटन प्रवद्र्धनमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

सियामका डीन डा. विजय केसी, इन्सटिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज्का कार्यकारी निर्देशक डा विष्णुदत्त पन्त र सिङ्गापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका प्राध्यापक मिङ जियाङले भारत र चीनबीचको रणनीतिक उपस्थिति तीनवटै मुलुकको समृद्धिमा केन्द्रित हुनुपर्ने बताए ।

सम्मेलनमा नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका प्राध्यापक मिङ जियाङ, नेपालका लागि भारतका पूर्व राजदूत राकेश सुद, सिचूआन युनिभर्सिटीका प्राध्यापक ली ताओ, नेपाल विश्लेषक महेन्द्र पी लामा, पूर्व अर्थमन्त्री मधुकर शम्शेर जवरा, जलस्रोत क्षेत्रका जानकार दीपक ज्ञवाली, पूर्व अर्थ सचिव रामेश्वर खनालसहितका विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप