बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जन्मदिनमा शैक्षिक सामाग्री वितरण

बिहीबार, ०६ जेठ २०७३, १८ : ४७
बिहीबार, ०६ जेठ २०७३

तेह्रथुम– युवा संघका केन्द्रीय सदस्य तथा युवा नेता अर्जुन ढुंगानाले आफ्नो ३५ औँ वर्ष प्रवेशको अवसरमा बिहीबार सदरमुकाम म्याङलुङस्थित बाल मन्दिरका छात्रछात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

जन्मदिनमा गरिने खर्चले मात्र पनि निम्न वर्गका बालबालिकाको पठनपाठनमा सहयोग पुर्याउन सकिने भन्दै ढुंगानाले बाल मन्दिरमा एक कार्यक्रम गरी शैक्षिक सामाग्री वितरण गरेका हुन् । उनले बिहीबार मन्दिरमा उपस्थित सबै २२ जना छात्रछात्रालाई एक–एक थान कापी, पेन्सिल र इरेजर वितरण गरेको प्रधानाध्यापक गीता उप्रेतीले जानकारी दिइन् ।

बाल मन्दिरमा सदरमुकाम आसपासका निजी विद्यालयमा महँगो शुल्क तिरेर पढ्न नसक्ने करिब ३० बालबालिका अध्ययनरत छन् । कक्षा–५ सम्म पठनपाठन हुने स्कुलका नानीहरुको शैक्षिक उन्नयनको कामना गर्दै आफुले शैक्षिक सामाग्री वितरण गरेको युवा नेता ढुंगानाले बताए । जन्म दिनकै अवसरमा ढुंगानाले आफुले अक्षर चिनेको सदरमुकाम म्याङलुङकै त्रिचोक निमावि, लाफेटारका कार्यालय सहयोगी इन्द्रबहादुर दाहाललाई सम्मान स्वरुप एक सेट कपडा र जुत्ता प्रदान गरेका छन् ।

आफुले विद्यालयमा पढ्दा आफुलाई माया, ममता साथै अहिलेसम्म पनि चासौ र चिन्ता लिइरहने गरेको भन्दै उनले दाहाललाई एक सेट कपडा र जुत्ता सम्मान स्वरुप उपलब्ध गराएको बताए । ढुंगानाले विद्यालयहरुमा काम गर्ने कार्यालय सहयोगीहरुको सेवा सुविधाको बारेमा समेत राज्यले ध्यान दिनुपर्ने बताएका छन् ।

आफूलाई माया गर्ने कार्यालय सहयोगी दाहालले सेवा सूरुवातमा १५० रुपैयाँदेखि ८०० हुँदै अहिले ३,००० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने गरेकोमा अहिलेको महँगी र समय अनुसार त्यसबाट बाँच्न नसक्ने धारणा राखेका छन् । उनले दाहाल जस्तै साना नानीहरुको रेखदेख र भविष्य निर्माणमा खटिनेहरुलाई सरकारले न्यायोजित व्यवस्था गर्नुपर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप