बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रंगमञ्च : सिर्जना सुब्बाको ‘युमा’ अवतार

शुक्रबार, ०७ जेठ २०७३, ०९ : ५०
शुक्रबार, ०७ जेठ २०७३

एसएलसी दिएर ०६१ सालमा काठमाडौं छिर्दा सिर्जना सुब्बासँग सिनेमा खेल्ने सपनामात्र थियो । हिरो हिरोइन हरियो डाँडामा नाचेको स्वप्निल दृश्यको मोहनी थियो । तर काठमाडौं आएर सिनेमा संसारमा छिरेपछि उनले आफ्ना सपनाका ‘ब्ल्याक एण्ड ह्वाइट’ पक्षसँग पौंठेजोरी खेलिन् । नवल खड्काको ‘आवाज’मा माओवादी छापामारको भूमिका निर्वाह गरेसँगै उनको सिनेमा–यात्रा सुरु भयो । लुट, नतिजा, धुलो हुँदै डाइङ क्यान्डलसम्म आइपुग्दा उनले नेपाली सिनेमामा आफ्नो मौलिक पहिचान बनाएकी छिन् ।

त्यसो त उनले आफूलाई रंगमञ्चमा बढी ‘एक्सप्लोर’ गरिन् । काठमाडौं आएर नृत्य सिक्दा–सिक्दै राष्ट्रिय नाचघरले गर्ने अञ्चलस्तरीय नाटक प्रतियोगितामा भाग लिएपछि उनको रंगमञ्च–यात्रा सुरु भएको हो । त्यतिबेला उनले अभिनय गरेको नाटक ‘मैना’ प्रथम भयो । मण्डला थिएटरको सुरुवातसँगै उनको रंगमञ्चको यात्राले गति लियो । मण्डलाका विभिन्न नाटकमा उनले निर्वाह गरेका चरित्रको छुट्टै छाप छ ।

भारतीय रंगकर्मी हबिब तनवीरले लेखेको नाटक ‘चरणदास चोर’की महारानीको रुपमा उनलाई सम्झिने धेरै दर्शक छन् । थोरै समयमा निकै मिहिनेत गरेर उनले नाटकमा आफ्नो प्रभावशाली छाप छोडेकी थिइन् । दयाहाङ राईको कन्सेप्टमा बनेको नाटक माइला डट कममा उनले क्याफेकी साहुनीको भूमिका निर्वाह गरिन् । दयाहाङ निर्देशित तथा शायद अशोक लिखित डिग्री माइलामा एसएलसी अनुत्तिर्ण भएकी गाउँले युवतीको भूमिकामा देखिइन् । दयाहाङकै लेखन र निर्देशन रहेको मितज्यूमा हाटबजारमा भेटिएकी केटी मनमाया र वैतरणी क्याफेमा रानी मौरीको भूमिकामा निर्वाह गरिन् । त्यस्तै सोमनाथ खनाल निर्देशित ‘र...माइलो’मा लेखककी श्रीमती र आशान्त शर्मा निर्देशित कथा एक्सप्रेसमा थारु युवतीको भूमिकामा प्रभावशाली अभिनय गरिन् । यीलगायत आफूले अभिनय गरेका हरेक नाटकमा चरित्रमार्फत प्रभाव छोड्नु उनको विशेषता हो ।

अब उनको प्रभाव क्षेत्र विस्तार भएको छ । मण्डला थिएटरमा आज (शुक्रबार)बाट मञ्चन सुरु हुने नाटक ‘युमा’मार्फत उनी निर्देशक बनेकी छिन् । आख्यानकार युग पाठकले लेखेको नाटकबाट उनले निर्देशनमा हात हालेकी हुन् । भन्छिन्, ‘निश्चित अवधि पूरा गरिसकेका कलाकारलाई निर्देशकको रुपमा विकास गर्ने मण्डलाको योजनाअनुसार नै मैले नाटक निर्देशन थालेकी हुँ । त्यसको लागि आख्यानकार युग पाठकलाई नाटक लेख्न अनुरोध गरेकी थिएँ । उहाँले नाटक लेखेर निर्देशनमा मलाई नै विश्वास गर्नुभयो ।’

सिर्जनाका अनुसार नाटकमा चखिलो प्रेमकथा छ र वर्तमान समयको गढिलो कथा छ ।

युगले लेखेको नाटक निर्देशन गर्न उनलाई तुलनात्मक रुपमा सजिलो पनि भयो । कारण, नाटक लेख्नुअघि युगसँग अन्तरक्रिया भएको थियो । युगले नाटक लेख्न लिम्बू मिथक नै छनोट गरेका कारण पनि उनलाई अझ सजिलो भयो । ‘लिम्बू समुदायको मिथक नाटकका प्रयोग गरिएको कारण यसका संगीत र संस्कृतिका विविध विम्बलाई यसमा प्रयोग गरेकी छु । म हुर्केको समुदायको विम्ब प्रयोग गर्न मलाई केही सहज पनि भयो ।’ उनले भनिन् । मिथक लिम्बू समाजको भए पनि नाटकको कथा भने वर्तमान समय भोगिरहेका समग्र नेपालीको भएको उनले बताइन् ।

त्यसो त ‘युमा’मा उनको निर्देशनकौशलमात्रै होइन, अभिनय पनि हेर्न पाइनेछ । नाटकको मूख्य चरित्र ‘युमा’को भूमिकामा उनी नै छिन् । आफैंले निर्देशन गर्ने नाटकमा अभिनय गर्न उनलाई रहर त थिएन, तर खोजेजस्तो चरित्र तत्कालको लागि नभेटिएपछि आफैंलाई स्टेजमा उपस्थित गराएकी हुन् । त्यसो त आफ्नै समुदायको मिथक भएका कारण जानकारी भए पनि ‘युमा’बारे धेरै गहन अध्ययन भने गरेकी थिइनन् नाटक निर्देशन गर्ने निर्णय गर्नुअघि । त्यसपछि उनले ‘युमा’बारे अध्ययन बढाइन् । त्यस विषयमा अध्ययन गरिरहेकासँग अन्तरक्रिया गरिन् । यसले उनलाई आफैं ‘युमा’ बन्न सघायो ।

लिम्बू संस्कृतिमा युमा शक्तिशाली नारी पात्र हो । जो सिर्जना र व्यावहारिक कलाको नेतृत्व पनि हो । त्यही पात्रमार्फत वैदेशिक रोजगारी र त्यसले समाजमा पारेको प्रभाव तथा मनोविज्ञानलाई नाटकमा उतारिएको छ । ‘यसमा नारीलाई मूख्य पात्र बनाइएको छ । पात्र मूख्यमात्रै होइन, शक्तिशाली पनि छ । यसले नारीको कोणबाट समाजको वर्तमान यथार्थलाई हेर्न मद्दत मिल्छ ।’, नाटकबारे उनले भनिन् । नाटकमा सिर्जनाका साथमा पशुपति राई, अंकित खड्का, जीवन भट्टराई, लक्ष्मी बर्देवा, केनिपा सिंह, सुलक्षण भारती, सरिता साह, सन्देश लामिछाने, विनिता गुरुङ र रञ्जना ओलीले अभिनय गरेका छन् । शुक्रबारबाट मञ्चन हुने नाटक जेठ महिनाभर मण्डला थिएटरमा मञ्चन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप