घोषणा गरे पनि भक्तपुरका इँटा भट्टा बालश्रमिक मुक्त भएन
भक्तपुर - भक्तपुरमा सञ्चालित इँटा भट्टामा हजारौँ बालश्रमिकको प्रयोग भएको पाइएको छ ।
जिल्लामा सञ्चालित ६२ वटा इँटा भट्टामध्ये अधिकांश इँटा भट्टामा बाल श्रमिकको प्रयोग गरिएको पाइएको छ । चैत, वैशाख र जेठ महिनामा जिल्ला बाल कल्याण समिति र विभिन्न गैरसरकारी संस्थाले पटकपटक गरेको अनुगमनमा यस्तो पाइएको हो ।
भक्तपुर जिल्लालाई सन् २०१७ भित्र बाल श्रम मुक्त जिल्ला घोषणा गर्ने अभियान सञ्चालन भइरहेको भए पनि इँटा भट्टामा काम गर्ने बाल श्रमिकमा भने कमी आउन सकेको छैन ।
रामेछाप फर्कश्वारबाट जिल्लाको नगरकोट नगरपालिका सुडालमा सञ्चालित सरस्वती माता इँटा भट्टामा काम गर्न आएका १४ वर्षका इनोद तामाङले गत पुसदेखि काम गर्न थालेका हुन् ।
इँटा भट्टामा इँटा पल्टाउने, चाङ लगाउने र माटो ओसार्ने काम गर्ने गरेको बताउँदै उनले बाबुआमासँगै इँटा बनाउने कामसमेत गर्ने गरेको बताए ।
सोही भट्टामा काम गर्ने आठ वर्षीया पूजा खत्रीले बिहान इँटा फर्काउने र सुकाउने काम गर्ने गरेको बताइन् । उनले भनिन् ˗ “पैसा कति पाइन्छ, मलाई थाहा छैन, म काम गर्छु, बुबाले पैसाको हिसाब गर्नुहुन्छ ।”
सिन्धुली झागाझोली रातामाटैबाट सुडालकै महामञ्जुश्री इँटा भट्टामा काम गर्न आएका ११ वर्षका मनिष तामाङ र आठ वर्षका अनिल तामाङको दैनिकी पनि इँटा पल्टाएरै बित्ने गरेको छ ।
हातमा किताब, कापी च्याप्नुपर्ने इँटा भट्टाका अधिकांश बालबालिकाको हातले इँटा च्याप्ने गरेको छ । इँटा भट्टामै काम गर्ने सन्तलाल तामाङले बालबालिकाले आमाबाबुलाई सघाउने काम गर्ने गरेको बताउँछन् ।
उनले भने ˗ “अधिकांश बालबालिका बाबुआमासँगै आउँछन्, सक्नेले इँटा बनाउन सघाउँछन्, नसक्नेले इँटा पल्टाउने र चाङ लगाउने काम गर्छन् ।”
बाबुआमासँग आउनेबाहेक ११ वर्षदेखि १६ वर्षसम्मका कतिपय बालबालिकालाई इँटा भट्टाका नाइकेले ललाइफकाइ गर्ने गरेको समेत पाइएको छ ।
नाइकेले इँटा भट्टामा कामदार ल्याएबापत मासिक कमिसन पाउने भएकाले कतिपय नाइकेले इँटा भट्टामा बालबालिका ल्याएर काममा लगाउने र बढी कमिसन लिने गरेको समेत अनुगमनमा पाइएको छ ।
नाइके र इँटा भट्टा सञ्चालकले बालबालिकालाई उमेर ढाँट्न सिकाएको समेत पाइएको छ । नाइकेसँग भट्टामा आउने अधिकांश बालबालिकाले आफ्नो उमेर ढाँटेर १६ वर्षभन्दा माथिको बताउने गरेका छन् ।
महामञ्जुश्री इँटा भट्टाका लेखा अधिकृत सहदेव वाटीले इँटा भट्टा सञ्चालकले बालबालिकालाई काममा नलगाउन भने पनि बाबुआमाले लगाउने गरेको बताए। नाइकले ल्याउने बालबालिका भने सानै देखिए पनि १६ वर्ष नाघेको बताउने गरेको उनको दाबी छ ।
महिला विकास अधिकृत नीला घिमिरेले इँटा भट्टामा १६ वर्षमुनिका बालबालिकालाई काममा लगाएमा कारबाही गर्ने बताइन् ।
उहाँले केही दिनअघि गरेको अनुगमनमा महामञ्जुश्री इँटा भट्टामा काम गर्ने तीनजना बालकको उद्धार गरी घर फर्काएको बताउनुभयो । श्रम कार्यालय टेकुका बाल शाखा प्रमुख जालन्धर भुसालले इँटा भट्टामा बालश्रम प्रयोग भएको उजुरी परेमा कारबाही गर्न सजिलो हुने गरेको बताए ।
बालश्रम प्रयोग गर्नेलाई रु एक हजारदेखि ५० हजारसम्म जरिवाना र थप क्षतिपूर्ति भराउने कानुनी व्यवस्था भएको बताउँदै गतवर्ष श्रम कार्यालयले यस्ता ७५ वटालाई कारबाही गरेको बताए ।
जिल्ला बाल कल्याण समितिले भक्तपुरका साटवटा इँटा भट्टालाई बालश्रम मुक्त घोषणा गरे पनि अझै यहाँका इँटा भट्टामा १० हजारभन्दा बढी बाल श्रमिक रहेको बताइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण