बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सन् २०४० मा नेपाललाई दश हजार मेगावाट विद्युत् आवश्यक : अध्ययन

शुक्रबार, ०७ जेठ २०७३, १५ : ४२
शुक्रबार, ०७ जेठ २०७३

काठमाडौँ - सन् २०४० मा नेपाललाई १० हजार मेगावाट विद्युत् आवश्यक पर्ने विश्व बैंकको एक अध्ययनले देखाएको छ ।

‘दक्षिण एसियामा क्षेत्रीय विद्युत् सहयोग एवम् व्यापार’ शीर्षकमा उक्त बैंकले झन्डै तीन वर्ष गरेको अध्ययनले २५ वर्षपछि नेपालको आन्तरिक खपतका निम्ति १० हजार मेगावाट बिजुली आवश्यक पर्ने देखाएको हो ।

माल्दिभ्सबाहेक दक्षिण एसियाका सबै मुलुकको जलविद्युत् उत्पादनको क्षमता, अन्तरदेशीय व्यापार र त्यस निम्ति गर्नुपर्ने उत्पादन समेटेर उक्त बैंकका अध्येताद्वय गोविन्दराज तिमिल्सिना र माइकल टोम्यानले गरेको अध्ययनमा नेपालले ५२ हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने जनाइएको छ ।

“नेपालको २५ वर्षपछिको १० हजार मेगावाट विद्युत्को आन्तरिक आवश्यकता पूरा गर्न रु आठ खर्ब लाग्नेछ” – अध्ययनमा भनिएको छ ।

नेपालको जलविद्युत्का साथै ऊर्जा विकासका विविध परियोजनमा करिब रु ३५ अर्ब लगानी गरेको विश्व बैंक समूहले विद्युत् उत्पादन, विकास तथा सुधारका कार्यक्रमका लागि झन्डै रु एक खर्बका अन्य परियोजना सञ्चालन गर्ने महात्वाकाङ्क्षी योजना पनि अघि सारेको छ ।

अध्ययनका परिणाम आज यहाँ सार्वजनिक गर्दै अध्येताद्वय तिमिल्सिना र टोम्यानले सुस्त क्षेत्रीय सहयोग, नीतिगत एवम् प्राविधिक सुधार, संस्थागत र संयन्त्रगत व्यवस्थाको अभावले विद्युत्को क्षेत्रीय व्यापारले अपेक्षाकृत गति लिन नसकेको अध्ययनको निष्कर्ष सुनाए ।

जलविद्युत् उत्पादनको अपार सम्भावना रहेको नेपालले नेपाल विद्युत् प्राधिकरणको संरचनागत सुधार, विद्युत् उत्पादन गर्ने बेग्लै प्रसारण एवम् उत्पादन निकायको आवश्यकता, एकल क्रेता ढाँचाबाट बहुक्रेता प्रारुपमा जानुपर्ने तथा बङ्गलादेशसहित अन्य मुलुकसँग पनि व्यापार सम्पर्क विस्तार गर्नुपर्नेमा अध्ययनले जोड दिएको छ ।

अध्ययनले भारतसँग बजारमा आधारित विद्युत् व्यापार सम्पर्क विस्तार, जलविद्युत् क्षेत्रको विकासका निम्ति अधिक लगानी र नीतिगत एवम् संरचनागत सुधारलाई केन्द्रमा राखेर नेपालले काम गर्नुपर्ने सुझाव दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप