आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

गर्भपतन गराउने महिलाको संख्या घट्यो तर ‘सिजरिन’ गराउने प्रवृत्ति मौलायो

बिहीबार, ०९ भदौ २०७३, १४ : २५
बिहीबार, ०९ भदौ २०७३

काठमाडौं–प्रसुति अस्पतालमा भर्ना हुने मध्ये ८ प्रतिशत महिलाले गर्भपतन गराउने गरेको देखिएको छ । नेपालकै एक मात्र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको तथ्यांक अनुसार भर्ना भएकामध्ये ७ दशमलव ८५ प्रतिशत महिलाले गर्भपतन गराउने गरेका छन् । प्रसूति अस्पतालमा गत वर्ष २३ हजार ५ सय ४७ जना महिला भर्ना भएकामा १ हजार ८ सय ४९ जनाले गर्भपतन गराएका थिए ।

अस्पतालले आफ्नो ५७ औं वार्षिकोत्सवका अवसरमा विहिवार गरेको कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांक अनुसार गर्भपतन गराउनेको दर दुई वर्षमा एउटै देखिएको छ । अघिल्लो वर्ष प्रसूति अस्पतालमा १ हजार ८ सय ४५ जनाले गर्भपतन गराएका थिए । अस्पतालले १२ वर्षदेखि गर्भपतन सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालले अघिल्ला वर्षहरुको तुलनामा गर्भपतन गराउने संख्यामा कमी आएको बताएको छ । आर्थिक वर्ष २०६९÷०७० मा २ हजार १ सय १८ तथा ०७०÷०७१ मा २ हजार १० जनाले गर्भपतन गराएका थिए । प्रसूति अस्पतालले एक वर्षमा १८ हजार ९७ जना महिलालाई सुत्केरी गराएको छ । अस्पतालले गत आर्थिक वर्ष १ लाख ६० हजार महिलालाई स्वास्थ्य सेवा उपलब्ध गराएकामा त्यसमध्ये १८ हजार ९७ जनालाई सुत्केरी गराएको हो । अस्पतालका निर्देशक प्रा. डा. जागेश्वर गौतमले ४ हजार ५ सय ४८ महिलालाई सिजरिनमार्फत सुत्केरी गराइएको जानकारी दिए । प्रसूति अस्पतालमा अघिल्लो वर्ष पनि सिजरिनमार्फत बच्चा जन्माउने महिलाको संख्या ४ हजार ८ सय ७ थियो । प्रसुति अस्पताललाई नेपालमै सबैभन्दा कम सिजरिन गराउने अस्पतालको रुपमा लिइन्छ । सरकारी स्वामित्वको प्रसुति गृहले नै २५ प्रतिशत महिलालाई सिजरिनमार्फत सुत्केरी गराउनुले सिजरिन गराउने प्रवृत्ति मौलाएको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप