आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

आइतबार, २८ असार २०८३, १९ : ५४
आइतबार, २८ असार २०८३

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षापछि बाढी आएको छ। आज बिहानदेखि निरन्तर वर्षा भइरहँदा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङमा बाढी आएको हो। वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा मोदीखोलाको बहाव पनि अत्यधिक बढेको छ।

बाढीले कास्कीका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। दिउँसो ३ बजेदेखि मोदीखोलामा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वत र मोदी गाउँपालिकाले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले मोदीखोला किनारमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन्। उनले खोला किनारमा काठदाउरा संकलन गर्न, माछा मार्न वा अन्य कुनै प्रयोजनका लागि नदी नजिक नजान पनि अनुरोध गरेका छन्।

मोदी गाउँपालिकाले पनि सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई सतर्क रहन अपिल गरेको छ।

खोलामा बहाव अत्यधिक बढेपछि मोदीखोलामा सञ्चालित चारवटै जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरेका छन्। मध्यमोदी, मोदीखोला, तल्लो मोदी र युनाइटेड मोदी जलविद्युत् आयोजनाले सुरक्षाका लागि उत्पादन रोकेका हुन्।

तल्लो मोदी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र वेलवासेका अनुसार बाढीसँगै ढुंगा, बालुवा लगायतका वस्तु विद्युत् गृहमा पस्दा उपकरणमा क्षति पुग्ने जोखिम भएकाले उत्पादन बन्द गरिएको हो।

उता, मोदीखोलाको पर्वत खण्डमा सुरक्षा सावधानीका लागि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप