विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
सारांश
- गण्डकी प्रदेशले सम्भावित विपद्जन्य क्षति न्यूनीकरण र तत्काल उद्धार तथा राहतका लागि प्रतिकार्य योजना तयार गरेको छ।
- प्रदेश सरकारले विपद् व्यवस्थापन कोषमा २२ करोड ५१ लाख रुपैयाँ मौज्दात राखेको छ र आपतकालीन उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा छ।
- विपद् प्रतिकार्यका लागि गण्डकी प्रदेशमा ८ हजार जनशक्ति, १३४ गोताखोर र विभिन्न जिल्लामा अस्थायी बेस निर्माण गरिएको छ।
पोखरा। बर्खामा हुन सक्ने सम्भावित विपद्जन्य क्षति न्यूनीकरण र तत्काल उद्धार तथा राहतका लागि कास्की प्रशासनले प्रतिकार्य योजना तयार गरेको छ ।
जिल्लामा विपद् पर्दा कसले कुन भूमिका खेल्ने भन्ने विषय यसमा उल्लेख छ । केही दिन अघि बसेको बैठकले यसअघि विपद्बाट क्षति भएका निजी आवास पुनर्निर्माण तथा प्रवलीकरणका लागि रकम भुक्तानी दिने निर्णय गरेको छ।
यस्तै, पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा आवश्यक तयारीका लागि सम्बन्धित पक्षलाई सिफारिस गरेको छ । गण्डकीका ११ वटै जिल्लाले जिल्लास्तरमा हुन सक्ने विपद्का घटनाबाट क्षति न्यूनीकरण गर्न आवश्यक तयारी गरिरहेका छन्।
गण्डकी प्रदेशमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । यसबाट पहाडी भेगमा पहिरो र सडक अवरोध हुने जोखिम देखाएको छ ।
गण्डकी प्रदेश सरकारले पनि सबै जिल्लासँग समन्वय गरेर तत्काल राहत र उद्धारलाई प्राथमिकता दिएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन परिषद् र प्रदेश कार्यकारी समिति गठन भएको छ ।
समितिको बैठक बसेर विपद् प्रतिकार्यका लागि आवश्यक समन्वय गरिरहेको प्रदेश सरकारको विपद् महाशाखाले जनाएको छ ।
यस्तै, मनसुन प्रतिकार्यलाई प्रभावकारी बनाउन प्रदेश सचिवको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधिहरू सम्मिलित मनसुन प्रतिकार्य कमाण्ड पोस्ट समेत गठन भइसकेको छ ।
विपद्को समयमा आर्थिक स्रोतको अभाव हुन नदिन प्रदेश विपद् व्यवस्थापन कोषमा सरकारले २२ करोड ५१ लाख रुपैयाँ मौज्दात राखेको छ । यसैगरी, प्रत्येक जिल्ला विपद् व्यवस्थापन कोषमा न्यूनतम १० लाख रुपैयाँ मौज्दात रहने व्यवस्था मिलाइएको महाशाखाका प्रमुख नवराज पोखरेलले जानकारी दिए ।
जिल्लाको कोषबाट रकम खर्च भएमा प्रदेश सरकारले तत्काल थप रकम उपलब्ध गराई न्यूनतम मौज्दात रहने उनले सुनाए । यस्तै, आपतकालीन उद्धारका लागि नेपाली सेनाको पश्चिम पृतना विजयपुरमार्फत गण्डकी प्रदेशका लागि डेडिकेटेड हेलिकप्टर तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ । विपद्बाट पुलमा क्षति भए सवारी आवागमनमा असर नपर्ने गरी बेलिब्रिजको व्यवस्था हुने नेपाली सेनाले जनाएको छ ।
प्रदेश सरकारले विपद्मा राहत र उद्धारका लागि सामग्रीहरू छुट्टै राखेको छ । पोखराको पुरानो विमानस्थल र सशस्त्र प्रहरीको क्याम्पमा गोदाम घर निर्माण गरिएको हो ।
तर, जेनजी आन्दोलनमा गोदाम घरको स्रेस्ता जलेका कारण अभिलेख अद्यावधिक गर्ने काम चलिरहेको पोखरेलले सुनाए । ‘अहिले हामी विवरण अद्यावधिक गरिरहेका छौँ । तर, प्रभावितहरूका लागि त्रिपाल, म्याट लगायतका आवश्यक राहत सामग्री पर्याप्त मात्रामा मौज्दात राखिएको छ,’ उनले भने, ‘यसका लागि नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश र जिल्ला विपद् व्यवस्थापन समितिसँग निरन्तर समन्वय भइरहेको छ ।’
सशस्त्र प्रहरीले पनि विभिन्न जिल्लामा ४ वटा अस्थायी बेस निर्माण गरेको छ । १ सय ३४ जना गोताखोर अलर्ट अवस्थामा राखिएका छन् भने ८ हजार जनशक्ति विपद् प्रतिकार्यमा खटिने छन्। बढी क्षति हुन सक्ने ठाउँहरूको आङ्कलन गरेर ८ ठाउँमा डिजास्टर रिलिफ कन्टेनरको व्यवस्था गरिएको छ।
प्रहरीले पनि सम्भावित ठाउँहरूलाई रेकी गर्ने, नागरिकलाई सचेतना जगाउने देखि तत्काल उद्धारका लागि आवश्यक सामग्री परिचालनका लागि सरोकारवालासँग संवाद गरिरहेको छ ।
विपद् उद्धार टोली पनि तैनाथी अवस्थामा छन् । प्रदेश सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आपतकालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गरेर तत्काल उद्धारमा जोड दिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ
-
बागमतीमा सकसः एमाले सत्ता परिवर्तन र कांग्रेस यही सरकारको निरन्तरताको पक्षमा
-
शिक्षा नियमावलीको दशौँ संशोधनप्रति आपत्ति, तत्काल सच्याउन माग
-
परिवारको खुसी खोज्दै दुबई गएका भक्तबहादुर २० दिन नबित्दै बाकसमा फर्किए
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण