आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

नर्भिकले मनायो विश्व मुटुरोग दिवस, विभिन्न व्यक्ति सम्मानित

शनिबार, ०८ असोज २०७३, १७ : ४७
शनिबार, ०८ असोज २०७३

काठमाडौ–नर्भिक इन्टरनेशनल हस्पिटलले विविध कार्यक्रमका साथ यस वर्षको विश्व मुटु दिवस मनाउनले योजना बनाएको छ । यस वर्षको विश्व मुटु दिवस असोज १३ गते परेपनि नर्भिकले उक्त दिवस विविध कार्यक्रमका साथ असोज ८ गतेदेखि नै सुरु गरेको हो ।

मुटुरोग परीक्षणका विशेष योजना एक सातासम्म सुचारु राखिने हस्पिटलले जनाएको छ । वश्व मुटु महासंघको अाह्वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारीख यो दिवस मनाइने गरेको छ । सन् २००० को सेप्टेम्बर २४ तारीखदेखि मनाउन थालिएको यस दिवसले डेढ दशक पार गरिसकेको छ । विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्न, रोग रोकथामका उपाय अवलम्बन गराउन दिवसको मुख्य उद्देश्य रहेको छ । नर्भिकमा शनिबार आयोजित एक कार्यक्रममा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवन यापन गर्दै आएका बिरामी सहित करिब २ सय जनाको सहभागिता रहेको थियो । नर्भिक हस्पिटलका अध्यक्ष बसन्त चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा यादवदेव भट्ट, लगायत मुटुरोग शल्य चिकित्सक डा. ज्योतीन्द्र शर्मा, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जेपी जैसवाल र पोषण विज्ञ प्रणीति सिंहले मुटुरोगका विषयमा जानकारी गराएका थिए । नर्भिकमा गत वर्ष जटिल एन्जियोप्लाष्टी, प्राइमरी एन्जियोप्लाष्टी (व्यक्तिलाई हृदयाघात भएपछि जीवन बचाउन तत्कालै गरिने एन्जियोप्लाष्टी प्रक्रिया) र हृदयरोग शल्यक्रिया (वाइपास सर्जरी) गराई स्वास्थ्य लाभ गरिरहेका करिब सय बिरामी मध्ये १ दर्जनलार्ई सो अवसरमा सम्मान समेत गरिएको थियो । वास्थ्यलाभ गरिरहेका जेष्ठ नागरिकहरूलाई समेत सभापति चौधरीले सम्मान गरेका थिए । हस्पिटलका विभिन्न विभागहरुमा रही वर्षभर उत्कृष्ट कार्य गर्दै मुटुरोग उपचारमा विशेष योगदान पु¥याउने कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । पत्रकारिताका माध्यमबाट नेपाली जनमानसमा स्वास्थ्यसम्बन्धी विविध जनचेतना अभिबृद्धि गर्न योगदान गर्ने कान्तिपुरकर्मी अतुल मिश्र, नेपाल समाचार पत्रकी भगवती तिमिल्सिना, जनस्वास्थ्य सरोकार मासिकका पुरुषोत्तम घिमिरे एवम् नर्भिक हस्पिटलका सञ्चार संयोजक तथा संस्थागत सञ्चार विभागका नायव महाप्रबन्धक आरपी मैनालीलाई सभापति चौधरीले सम्मान गरेका थिए । निकट भविष्यमै अत्याधुनिक प्रविधि र सुविधासम्पन्न २०० शय्याको हस्पिटल थप गरिने, १०० शय्याको साधनसम्पन्न क्यान्सर हस्पिटल थपिने र नर्भिकको विशेषज्ञ सेवालाई पोखरा र बिराटनगरमा समेत विस्तारित गरिने चौधरीले बताए । यस वर्षको विश्व मुटु दिवसका अवसरमा पनि नर्भिकले ‘विशेष मुटु जाँच योजना’ कार्यक्रमको तय गरेको थियो । उक्त जाँच कार्यक्रम अन्तर्गत विशेषज्ञबाट जाँच, लगायत रक्त सुगरको जाँच, कोलेस्टेरोलको जाँच, जीवनदायी सङ्केतहरुको जाँच र परामर्श सेवा रहेका छन् । यो योजना असोज १४ गतेसम्म सुचारु रहने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप