आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

थाहा पाउनुहोस्-आफैँ जाँचेर पत्ता लाग्छ स्तन क्यान्सर

आइतबार, ०९ असोज २०७३, १० : ३८
आइतबार, ०९ असोज २०७३
नेपालमा महिलालाई हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । पाठेघरको मुखमा हुने क्यान्सर सबैभन्दा बढी हुन्छ । क्यान्सर भयानक रोग भए पनि समयमै उपचार गरे पूर्ण रूपमा निको हुन्छ । महिलाले वेला–वेलामा आफौ स्तन परीक्षण गरेर क्यान्सर भए/नभएको पहिचान गर्न सक्छन् । निश्चित समयमा यो विधि अपनाउादा ६० प्रतिशत रोग पत्ता लाग्न सफल भएको छ । स्तन क्यान्सर परीक्षण गर्न त सकिन्छ । तर,  कसरी ? क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालले तरिका सिकाएका छन् : जाँच्ने दुई तरिका स्तन क्यान्सर भए/नभएको प्रारम्भिक अवस्थामै थाहा पाउन घरमै दुई तरिका अपनाउन सकिन्छ । ऐनाअगाडि उभिएर या ओछ्यानमा पल्टिएर नियमानुसार जाँच्नुपर्छ ।  स्तनको माथिल्लो बाहिरी भाग, माथिल्लो भित्री भाग, तल्लो बाहिरी भाग, तल्लो भित्री भाग र मध्य भाग (निप्पल भएको स्थान)को जाँच ऐनाअगाडि उभिएर या सुतेर गरिन्छ । जाँच गर्दा दुई स्तनबीच फरक देखिन्छ भने क्यान्सर भएको हुनसक्छ र तुरुन्त विशेषज्ञकहाँ जानुपर्छ । ऐनामा उभिएर ऐनाअगाडि सीधा उभिएर आफ्ना दुवै स्तनलाई हेर्ने । दुवै स्तनको आकार समान छ/छैन अध्ययन गर्ने । बनावट, मुन्टो, छालाको रङ र नरमपना फरक तथा स्तनको कुनै भागमा गिर्खा देखिएको छ/छैन हेर्ने । दुवै हातलाई माथि उठाएर स्तनमा परिवर्तन देखिएका छन् या छैनन् भन्ने बुझ्न एनाअगाडि उभिएर हेर्ने । दुवै हातले कम्मरमा हल्का थिचेर ऐनाअगाडि हेर्ने । यसो गर्दा स्तनमा लुकेर बसेका केही परिवर्तन झनै स्पष्ट देखिन्छ । सुतेर देब्रे काखीमुनि तकिया राख्ने र देब्रे हातलाई टाउकोपछाडि राखेर सुत्ने । दाहिने हातको बीचका तीनवटा औँलाको माथिल्लो एकतिहाइ भागले देब्रे स्तन छामेर जाँच गर्ने । स्तनलाई औँला र बुढीऔँलाको बीचमा राखेर छाम्ने । यसरी छाम्ने क्रममा घडी घुम्नेतिर या उल्टो दिशामा क्रमबद्ध रूपमा सबै भागमा जाँच गर्ने । दाहिने काखीमुनि तकिया राखेर माथिकै प्रक्रियाअनुसार दाहिने स्तन जाँच गर्ने । अन्त्यमा स्तनको मुन्टोलाई पालैपालो गरी बुढीऔँला र चोरऔँलाको बीचमा राखेर निचोर्ने । स्तनको मुन्टोबाट रगत या फोहोर पदार्थ आउँछ या आउँदैन हेर्ने । छुट्याइएको पाँचै भागमा क्रमबद्ध रूपमा छामेर हेर्ने । नुहाएको समयमा पनि यो जाँच्न सकिन्छ । यसरी जाँच्दा देब्रे हातले दाहिने स्तन र दाहिने हातले देब्रे स्तन क्रमश: जाँच्ने । यी लक्षण देखिए क्यान्सरको शंका स्तनमा छाम्दा गिर्खा भेटिए । स्तनको छाला सुक्खा भएर आएको छ भने । स्तनमा सुन्तलाको दानामाजस्तो प्वाल परेजस्तो देखिए । स्तननजिक काखीतर्फको भागमा गिर्खा भेटिए । स्तनको मुन्टाबाट पिपजस्तो फोहोर आए । कहिले जाँच्ने ? २० वर्ष कटेका प्रत्येक महिलाले आफैँ परीक्षण गर्दा राम्रो हुन्छ । नियमित महिनावारी हुने महिलाले महिनावारी भएको ५ दिनपछि जाँच गर्दा राम्रो हुन्छ । तर, महिनावारी अनियमित छ भने प्रत्येक महिनाको कुनै एक निश्चित गतेलाई तोकेर परीक्षण गर्नु राम्रो हुन्छ । क्यान्सरको लक्षण शंका लागे तुरुन्त अस्पताल जानुपर्छ । वेलैमा थाहा पाए निको हुन्छ क्यान्सर क्यान्सर लाग्नबाट रोक्न सकिँदैन । तर, चाँडै पत्ता लागेमा निको भने पार्न सकिन्छ । स्तन क्यान्सर पनि सुरुकै अवस्थामा थाहा भए पूर्ण रूपमा निको हुन्छ । अन्य क्यान्सर जाँच गर्न चिकित्सक र अस्पताल जानु अनिवार्य हुन्छ । तर, स्तन क्यान्सरको लक्षण महिला आफैँले माथि भनेअनुसार  जाँच गरेर पत्ता लगाउन सक्छन् । महिलाले स्तनलाई छामेर शंका गर्न सक्छन् । नियमित स्तन परीक्षण गर्ने ६०–७० प्रतिशतले सुरुकै अवस्थामा स्तन क्यान्सर शंका गर्न सक्छन् । शंका लागेमा तत्काल चिकित्सककहाँ उपचार गर्न जानुपर्छ । विश्वको तथ्यांक हेर्ने हो भने स्तनपान नगराएको स्तनमा बढी क्यान्सर भएको पाइएको छ । म्यामोग्राम अर्को तरिका स्तन क्यान्सर पत्ता लगाउने अर्को प्रविधि भनेको म्यामोग्राम हो । यो स्तन क्यान्सर पत्ता लगाउने एक्सरे हो । यसले स्तनलाई स्क्यानिङ गरेर हेरिन्छ । यसरी हेर्दा स्तनमा गिर्खा भए/नभएको तथा स्तनमा क्यान्सर भएको सजिलै पत्ता लाग्छ । सोहीअनुसारको उपचार गर्नुपर्छ । क्यान्सर छ या छैन मात्र हैन, निको भइसकेको क्यान्सर अर्कोमा सरेको छ/छैन भनेर प्रत्येक वर्ष जाँच गराउनुपर्छ । यसरी परीक्षणबाट पत्ता लागेमा वा शंका लागेमा थप परीक्षण गरी समयमा नै उपचार गर्न सकिन्छ । क्यान्सर पहिलो र दोस्रो तहमा छ भने उपचार गर्दा पूर्ण रूपमा निको हुन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप