मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

पत्नीबाट छुटकारा पाउन जेलको बास

सोमबार, १० असोज २०७३, १४ : ३५
सोमबार, १० असोज २०७३

अमेरिकामा एक व्यक्ति पत्नीबाट छुटकारा पाउनकै लागि जेल पुगेका छन् । ७० वर्षीय लरेन्स जोन रिप्पलले अमेरिकाको कान्सास सिटी बैंकमा आफूलाई पक्राउ पार्नकै लागी चोरीको प्रयास गरेको कान्सास सिटी स्टारले जनाएको छ ।

केही समयअघि कानसासनको ७५६ मिनिसोटा एभेन्युमा रहेको बैंक अफ लेबरमा जोन पुगेका थिए । त्यहाँ पुगेर उनले त्यहाँको बैंकको कर्मचारीलाई एउटा सानो नोट दिए, जसमा लेखिएको थियो, ‘मसँग बन्दुक छ, पैसा देऊ ।’

अदालतमा पेस गरिएको दस्तावेजका अनुसार बैंकका कर्मचारीले पनि चुपचाप उनले भने जस्तै गरिदिए । तर, पैसा लिएर भाग्नुको साटो जोन त्यही बैंकको लबीमा बसिरहे । जब बैंकका सेक्युरिटी गार्ड त्यहाँ आइपुगे जोनले उनलाई ‘तिमीहरुले खोजिरहेको व्यक्ति आफू रहेको’ बताए । लगत्तै गार्डले प्रहरीलाई जोनले ३ हजार डलर लुट्न खोजेको भनेर खबर गर्यो । रोचक कुरा, प्रहरी कार्यालय पनि त्यही बैंक नजिकै थियो ।

पछि, प्रहरी कार्यालयमा लगेर सोधपुछका दौरान जोनले प्रहरीलाई आफ्नो पत्नीसँग झगडा परेको र उनीसँग बस्न नचाहेको बयान दिए । प्रहरीका अनुसार जोनले बयानमा आफू पत्नीको साथमा घरमा भन्दा जेलमा नै बस्न चाहेको बताएका थिए ।

उनी आफ्नो पत्नीसँग यति चिढिएका थिए, उनले आफ्नो मुद्दा लड्न वकिलसमेत राखेनन् । अन्ततः उनको इच्छा पूरा भयो र चोरीको मुद्दामा उनलाई वेयनडट काउन्टी डिटेन्सन सेन्टरमा राखियो । समाचारका अनुसार अहिले उनलाई कानसासकै अर्को फेडरल फेसिलिटीमा सारिएको छ ।

के कुरामा जोनको झगडा भयो र उनी आफ्नो पत्नीसँग किन यति रुष्ट भए ? यो कुराको उत्तर भने जोनले दिएका छैनन् । त्यो कुरा प्रहरीको दस्तावेजमा पनि छैन । मिडियाले यसबारे जोनको पत्नीलाई सम्पर्क गर्न खोजे पनि उनले कुनै प्रतिक्रिया दिइनन् । जोनको फेसबुकको प्रोफाइलमा भने उनी र उनको पत्नीकै तस्विर राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप