आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

दसैँको टिप्स : खसी ढिलै किन्नु राम्रो

सोमबार, १७ असोज २०७३, ११ : ४७
सोमबार, १७ असोज २०७३
दसैँको आगमन भएसँगै खसी–बोका तथा च्यांग्रा खरिद गर्ने तयारीमा हुनुहुन्छ होला । तर, खसी–बोका किन्दै गर्दा केही कुरामा भने सजगता अपनाउनुपर्छ । अन्यथा, रमाइलो गर्न खरिद गरेको खसी–बोकाले नै दसैँलाई खल्लो बनाउन सक्छ । ग्रामीण भेगमा त दसैँलाई भनेर केही समय पहिलेदेखि नै बोका पालेर राखिएको हुन्छ । तर, सहरी क्षेत्रका बासिन्दाले खसी–बोका किन्दा भने केही सजगता अपनाउनुपर्ने हुन्छ । दसैँमा वध गर्नुभन्दा केही समयपहिले नै खसी–बोका किनेर राख्ने स्थान उपयुक्त भएन भने समस्या पर्न सक्छ । अझ बहालमा बस्नेहरूले त घरधनी तथा छिमेकीसँग पनि सल्लाह गरेर खरिद गर्नु राम्रो हुन्छ । सकेसम्म वध गर्नुभन्दा केही समयअघि तथा अघिल्लो दिन खरिद गर्नु राम्रो हुन्छ । खसी किन्दा डम्म पेट भएको मोटो तथा बलियो भनेर छनोट गर्नु हुँदैन । बिक्रीमा राखिएको खसी–बोका मोटाघाटा देखाउन प्रशस्त अन्न खुवाएर राखिएको हुन सक्छ । त्यस्तो खसी–बोका किनिहाल्नुभयो भने घरमा ल्याई वध नगरुन्जेल धेरै अन्न खान नदिनु राम्रो हुन्छ । अन्यथा, खसीको स्वास्थ्य बिग्रन सक्छ । खसी–बोका–च्यांग्रालाई वध गर्नुअघि सादा पानी र थोरै मात्रामा स्याउलो वा इलेक्ट्रोलाइट दिए पुग्छ । यसो गर्दा खसी–बोकाले पहिला खाएको अन्न, घाँसपात शरीरबाट मलमूत्रका रूपमा विसर्जन गर्छ । जसले गर्दा त्यसको जिउमा लादी पनि कम हुन्छ । र, वधपछि आन्द्राभुँडी सफा गर्न कम झन्झटिलो हुन्छ । यस्तो गर्दा खसी–बोका–च्यांग्राले खाएको अन्न घाँसपातसँगै उसको शरीरमा उत्पन्न हुने विष पनि शरीरबाट बाहिरिएको हुन्छ । जसका कारण त्यस्ता खसी–बोका–च्यांग्राबाट तयार पारिएका परिकार स्वस्थ्य पनि हुन्छन् । तपाईं आफैँ वध तथा काँटछाँटमा संलग्न हुनुभएको छ भने त्यस्तो मासु स्वच्छ र सफा भएकोमा आफैँ ढुक्क भइन्छ । यसो भयो भने दसैँमा खाएको मासुबाट कुनै पनि जोखिम नहुने कुरामा निर्धक्क भइन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप