शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

टेटनस यसकारण खतरनाक

मङ्गलबार, ३० कात्तिक २०७३, १४ : ३२
मङ्गलबार, ३० कात्तिक २०७३

समयमै सचेत हुन सके टेटनस (हाम्रो उच्चारणमा ‘टिटानस’, नेपालीमा ‘धनुषटंकार’) संक्रमणबाट सहजै बच्न सकिन्छ । सुत्केरी महिला, नवजात शिशु टेटनसबाट छिटै संक्रमित हुन सक्छन् । त्यस्तै, जनावरको मल चलाउँदा खेतबारीमा काम गर्ने किसानलाई पनि यसले सताउन सक्छ । फलामे औजारसँग काम गर्दा कहिलेकाहीँ औजारले काटेर चोट लाग्न सक्छ । त्यस्तो वेलामा तुरुन्त उपचार गर्न सकिएन भने टेटनसका जीवाणुले संक्रमण गर्ने सम्भावना धेरै हुन्छ ।

टेटनस (धनुषटंकार) संक्रमण भयो भने सर्वप्रथम बंगारा र घाँटी बाँध्ने वा कसिने हुन्छ । जसलाई ‘लक–ज’ पनि भनिन्छ । यो ‘क्लस्ट्रिडियम टेटनी’ नामक जीवाणु संक्रमण (ब्याक्टेरियल इन्फेक्सन) द्वारा मानिसलाई आइलाग्ने समस्या हो । यो रोग संक्रामक भए पनि सरुवारोग होइन । टेटनसको जीवाणु धुलो–मैलो, फलामको खिया तथा जनावरको गोबरबाट पैदा हुन्छ । घोडाको लिदीबाट यो सबैभन्दा छिटो संक्रमण हुन्छ भन्ने हाम्रो परम्परागत विश्वास छ ।

यो जीवाणुले ‘टेटनोस्पाजमिन’ नामक विषाक्तता फैलाइदिन्छ । जुन विषाक्तताले यस्तो विष फैलाउँछ, जसले मेरुदण्ड हुँदै मांसपेशीमा स्नायु सञ्चारको काम ठप्प गराइदिन्छ । त्यसैले मांसपेशीमा ऐठन हुन थाल्छ । यसबारे वेलैमा होस पुर्‍याएमा खासै समस्या बनाउँदैन । तर, होसियारी अपनाइएन भने यसबाट ज्यान पनि जान सक्छ ।

टेटनसको संक्रमण र ओथरा (इन्क्युबेसन) तीन दिनदेखि तीन हप्तामा हुन्छ । हुन त मेनिन्जाइटिस र रेबिजका बिमारको लक्षण पनि योसँग मिल्दाजुल्दा हुन्छन् । छालामा काटेको, पोलेको, छेडेको, टाटु खोपेको ठाउँ, किरा वा जनावरले टोकेको, पुरानो बिग्रेको घाउ, दाँतको संक्रमण, फोहोरबाट नजोगाइएको घाउ–चोट आदिबाट टेटनस हुने प्रबल सम्भावना हुन्छ । यो मानिसहरूबीच आपसमा सर्ने सरुवारोग होइन । टेटनस लाग्न थालेपछि मुख खोल्न र खाएको निल्न गाह्रो हुन्छ । मांसपेशीसहित छाती, पिठ्युँ, घाँटी अररिन्छ । टेटनसको संक्रमणले निमोनिया र अक्सिजनको अभावका कारण मस्तिष्कमा क्षति निम्त्याउन सक्छ । मुटुको धड्कन र रक्तचाप बढ्छ, ज्वरो आउँछ । चिटचिट पसिना पनि आउँछ । यस्तै लक्षण र यसको खोप लिए–नलिएको आधारमा चिकित्सकले स्वास्थ्य परीक्षण गरी ठहर गर्छन् ।

जुनसुकै उमेरमा खोप दिन सकिन्छ टेटनसले ल्याएका समस्याको आधारमा यसको उपचार गरिन्छ । समस्याको गम्भीरताका आधारमा थेरापी र एन्टिबायोटिक वा अन्य किसिमका औषधिका साथ उपचारमा विविधता ल्याउनुपर्छ । समस्या उत्पन्न गरेको घाउ वा चोट सफा राख्ने, संक्रमित तथा मृत कोषिका हटाउन आवश्यकताअनुसार सानो शल्यक्रिया पनि हुन सक्छ । टेटनसको विषाक्ततालाई सामान्यीकरण गर्न ‘टेटनस इम्युन ग्लोबुलिन’ (टिआइजी) उपचार पनि गर्नुपर्ने हुन सक्छ । टेटनसको खोप पनि दिइन्छ । मुख खोल्न, निल्न अप्ठ्यारो, मांसपेशीमा ऐठन भए बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने हुन सक्छ । बच्चालाई डिपिटी खोप दिँदा टेटनसप्रतिरोधी खोप पनि त्यसैमा हुन्छ । खोप जुनसुकै उमेरका मानिसलाई पनि दिन सकिन्छ । एकपटक लगाएको खोपले १० वर्षसम्म प्रतिरक्षा दिन्छ ।

कुनै पनि बिमार लागेको वेला खानाको अद्वितीय भूमिका हुन्छ । टेटनसको समस्या भएको वेला दाँतले चपाउन गाह्रो पर्ने हुँदा झोल खानेकुरा दिनु उचित हुन्छ । पर्याप्त प्रोटिन भएका खानाले यसका जीवाणुको संक्रमण घटाउन मद्दत पुग्छ । त्यसैले हरेक दिन एक सय ५० ग्राम प्रोटिनको मात्रा दिइन्छ । मेट्रोनाइडेजोल, डाइजिपामजस्ता औषधिका साथै म्याग्नेसियमको सुई पनि दिइन्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप