शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

बच्चामा ज्वरो दोहोरिए के गर्ने ? पढ्नुहोस् डाक्टरका उपाय

शनिबार, ११ मङ्सिर २०७३, १० : ०३
शनिबार, ११ मङ्सिर २०७३
६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा अचानक काम्ने र अचेत हुने समस्या देखिन सक्छ । जसलाई ‘फेब्राइल सिजर’ भनिन्छ । यस्तो समस्या एकपटक मात्र देखिने वा दोहोरिन पनि सक्छ । सामान्यतः यस्तो अवस्थामा आँखा माथि फर्काउने, हातगोडा सबै कम्पन हुने, जिउ नै अररो हुने, मुखबाट फिँज निकाल्ने, दिसापिसाब छोड्नेलगायतका लक्षण देखिन्छन् । बिरामीलाई यस्तो लक्षण दुई–तीन मिनेटदेखि १०–१५ मिनेटसम्म देखापर्न सक्छ । यसलाई सिम्पल फेब्राइल सिजर भनिन्छ । कहिलेकाहीँ कुनै एक भाग मात्र काम्ने हुन्छ । अनि २४ घन्टामा पटक–पटक काम्ने र १५ मिनेटभन्दा बढी समयसम्म यस्तो समस्या देखिन सक्छ । यसलाई चाहिँ ‘कम्प्लेक्स फेब्राइल सिजर’ भनिन्छ । यो समस्या बारम्बार बल्झिने पनि हुन सक्छ । विशेष यस्तो अवस्थामा समस्या पटक–पटक बल्झिने सम्भावना हुन्छः १ वर्षभन्दा कम उमेरका बालबालिका । ज्वरो आएको २४ घन्टाभित्र । एक सय डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आएमा । घरपरिवारमा अरू कसैलाई यस्तो समस्या भएमा । घरपरिवारमा छारेरोगको समस्या भएमा । पुरुष बच्चा कम्प्लेक्स फेब्राइल सिजर भएकोमा । रगतमा सोडियमको मात्र कम भएको अवस्थामा । माथि उल्लेखित जोखिमको कुनै पनि अवस्था नभएमा यो रोग बल्झिने सम्भावना १२ प्रतिशत मात्र हुन्छ । त्यसैगरी, माथिका कुनै पनि तीनवटा समस्या रहेमा दोहोरिने जोखिम ७३ देखि शतप्रतिशतसम्म हुन्छ । के गर्ने, के नगर्ने ? बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने । जतिसक्दो चाँडो नजिकैको अस्पतालमा लैजाने । ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने । आत्तिएको खण्डमा बच्चा लड्ने तथा खाटबाट खसेर चोटपटक लाग्ने सम्भावना हुन्छ । बच्चालाई उत्तानो पारेर राख्दा थुक वा अरू केही सर्किने सम्भावना हुन्छ, जुन अत्यन्तै खतरनाक हुन्छ । बच्चाको मुखमा केही नघुसार्ने । औँला घुसार्दा औँला टोकिने सम्भावना हुन्छ भने अन्य चिज राख्दा दाँत भाँचिने सम्भावना हुन्छ । अस्पतालमा गरिने उपचार ज्वरोसँगै कम्पन हुने वा बेहोस हुने अवस्था फेब्राइल सिजर नै हो वा अरू कुनै गम्भीर रोगको लक्षण हो भन्ने निक्र्योल चिकित्सकले मात्र गर्न सक्छन् । त्यही भएर कम्पन रोकिएको अवस्थामा पनि एकपटक नजिकैको अस्पतालमा बच्चालाई लगेर परीक्षण गराउनुपर्छ । अस्पतालमा यसको सही पहिचान र ज्वरो आएको कारण पत्ता लाग्छ । सामान्यतः पहिलो २४ घन्टा निगरानीमा राखेर हेर्नुपर्ने हुन्छ । अवस्था हेरेर चिकित्सकको सल्लाहबमोजिम केही परीक्षण गर्नुपर्छ । सामान्यतः रगतको परीक्षण, रगतको कल्चर, पिसाबको परीक्षण र छातीको एक्स–रे गर्नुपर्ने हुन्छ । रोकथाम गर्न के गर्ने ? यो रोगको रोकथाम विधि भनेको ज्वरो आउनै नदिनु हो, जुन सम्भव छैन । त्यही भएर ज्वरो आएर यस्तो लक्षण देखिएमा बढी सजगता अपनाउनु नै यसको रोकथाम हो । घरमा अनिवार्य ज्वरो नाप्ने यन्त्र र सिटामोल राख्ने । ज्वरो आएमा तत्काल पारासिटामोल खुवाउन सकिन्छ । बच्चालाई गुम्स्याएर राख्नु हँुदैन । ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउनुपर्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप