शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

गाविसको रकम हिनामिना गरेर सचिव फरार

आइतबार, ०३ पुस २०७३, १० : ०१
आइतबार, ०३ पुस २०७३

डोटी - गाविसको रकम हिनामिना गरेर फरार भएका डोटीका एक सचिव अझै बेखबर रहेका छन् ।

सामाजिक सुरक्षा भत्तावापतको लाखौँ रकम लिएर पोखरी र जिजौडामाण्डौ गाविसबाट दसैँदेखि फरार भएका गाविस सचिव ईश्वरबहादुर सिंहले हिनामिना गरेको रकम मध्ये केही रकम गाविसको खातामा जम्मा गरेको तर आफू भने बेखबर भएको जिविस, डोटीले जानकारी दिएको छ ।

सिंहले मङ्सिर २९ गते दुवै गाविसका लागि रु ३७ लाख ४९ हजार ६२३ बैंकमा जम्मा गरेका छन् । उनले पोखरी गाविसको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सिलगढीमा रहेको खातामा दीपक नामबाट सो रकम जम्मा गरेको राष्ट्रिय वाणिज्य बैंक सिलगढीले जानकारी दिएको छ ।

सचिव सिंहले हिनामिना गरेको पोखरी गाविसको रु ३८ लाख ४४ हजार ७४३ मध्ये अब रु १३ लाख ५१ हजार ४९१ र जिजौडामाण्डौ गाविसको रु २९ लाख ७५ हजार ५०१ मध्ये अब रु १७ लाख १९ हजार १३० बुझाउन बाँकी रहेको छ । गाविस सचिव सिंहले दुवै गाविसको रु ६८ लाख २० हजार २४४ रकम बुझेर फरार भएका थिए ।

पोखरी र जिजौडामाण्डौ गाविसको रकम लिएर फरार सचिव अझै सम्पर्कमा आएका छैनन् । आफूले हिनामिना गरेको रकम भने जम्मा गर्न लागेको जिविस, डोटीले जनाएको छ ।

डोटीका स्थानीय विकास अधिकारी कृष्ण गौतमका अनुसार गाविस सचिव सिंहले हिनामिना गरेको रकम फिर्ता गरे तापनि उनलाई कारबाही हुने छ । सरकारी कर्मचारीको नियम र मर्यादा विपरीत जाने जोकोही पनि कानुनी कारबाहीको भागी हुनुपर्ने गौतमको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप