शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

एसिया कप क्रिकेट : मलेसियाद्वारा नेपालसामु १ सय ५४ रनको लक्ष्य

आइतबार, ०३ पुस २०७३, १२ : ५८
आइतबार, ०३ पुस २०७३

काठमाडौँ – उन्नाइस वर्षमुनिको (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा मलेसियाले नेपाल सामु १ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ४४.४ ओभरमा मलेसिया १५३ रनमा अलआउट बनेको हो ।

मोन्डेस्क्रिप्ट खेल मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । नेपालले उत्कृष्ट शुरुवात पनि गर्यो । ३.२ ओभरभित्र ८ रनको स्थितिमा नेपालले मलेसियाको दुई विकेट झार्न सफल भयो ।

त्यसपछि आएका सैफुल्लाह मलिक र भिरानदीप सिंहले मलेसियाको स्थिति सम्हाले । दुवै मिलेर तेस्रो विकेटका लागि ४० रनको साझेदारी गरे । मलिकलाई रनआउट गर्दै दीपेन्द्र सिंह ऐरले साझेदारी तोडे ।

एक छेउमा कप्तान सिंह टिकेर खेलेपनि मलेसियाले लगातार विकेट गुमाउँदै गयो । अदिल खानले लगातार तीन जना ब्याटसम्यानलाई पभिलियन फर्काए ।

नवौँ नम्बरमा आएका मोहमद हसिफले आक्रमक ब्याटिङ गरे । शुभंकार उराउले आउट गर्न अघि उनले १९ बलमा १ छक्का र दुई चौकाको मद्दतले २१ रन बनाए ।

मलेसियाका लागि कप्तान सिंहले सर्वाधिक ७५ रनको योगदान दिए ।

नेपालका लागि खानले ३ तथा कप्तान सन्दीप लामिछाने र ऐरले २ विकेट लिए ।

जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । पहिलो खेलमा नेपाल  श्रीलंकासँग १ रनले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप