शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

कुर्सीमा बस्ने तरिका नमिले के हुन्छ ?

मङ्गलबार, ०५ पुस २०७३, १० : ५८
मङ्गलबार, ०५ पुस २०७३

घर या कार्यालयमा नै पनि टेबल वर्क गर्ने तरिका नजान्दा अहिले धेरैलाई स्वास्थ्य समस्या हुने गरेको पाइन्छ । अझ हाम्रो नेपाली समाजमा त घर या कार्यालयमा कसरी बस्ने भन्ने अज्ञानता धेरै नै छ । कुर्सीमा बसेको तरिका नमिल्दा धेरै मानिस ढाड दुख्ने समस्याबाट पिरोलिइरहेका छन् । हामीले सामान्य होसियारी मात्र अपनाउन सके पनि यस्ता समस्याबाट मुुक्ति पाउन सक्छाैँ । घर र कार्यालयमा टेबल वर्क गर्दा बस्ने सही तरिकाबारे वरिष्ठ फिजियोथेरापिस्ट डाक्टर हरि लम्सालले दिएका सुझाब यस्ता छनः

ढाड दुख्नु एक प्रकारको जटिल समस्या मात्रै नभएर अन्य रोगको कारणका रूपमा पनि देखापर्न सक्छ । यसरी ढाड दुख्नुलाई मेकानिकल ब्याक पेन भनिन्छ । कुर्सीमा बस्ने सामान्य तरिका थाहा नहुँदा हामीले आफ्नो शरीरलाई बिगारिरहेका  हुन्छाैँ । जसले गर्दा जन्मिँदै निर्माण भएको शरीरको बनावट बिगार्ने काम भइरहेको हुन्छ । यसरी अज्ञानताको कारण गलत तरिकाले बस्दा ढाड तथा शरीरमा नै समस्या निम्तिरहेको हुन्छ ।

ढाड दुख्ने कारण बसेर काम गर्दा हाम्रो शरीरमा कम्मरको भागको मांसपेशीमा बढी लोडपर्छ । अझ, अगाडि झुकेर काम गर्ने मानिसले गलत कुर्सी प्रयोग गर्दा यस्तो लोड झन् बढ्न जान्छ । यसले शरीरको जुन भागमा बढी लोड नपर्नुपर्ने हो सोही भागमा दबाब पर्छ । लोड नपर्ने स्थानमा दबाब बढ्दा मेकानिकल स्ट्रेस पर्न जान्छ । यसले गर्दा मानिसलाई ढाड दुख्ने समस्या सुरु हुन्छ । यसरी ढाड दुख्ने समस्याले बिस्तारै शरीरको हड्डी खिइँदै जाने क्रम सुरु हुन्छ ।

बसाइको आसन नमिल्दाका समस्या

घर या कार्यालयमा काम गर्दा कुर्सीमा कसरी बस्ने, कस्तो कुर्सी प्रयोग गर्ने, कुर्सी टेबलको दूरी कति हुनुपर्ने, कति उचाइमा टेबल कम्प्युटर हुनुपर्नेजस्ता विषयमा फिजियोथेरापिस्टसँग जानकारी लिनु राम्रो हुन्छ । तर, यसलाई सामान्य ठानेर बेवास्ता गर्दा वा सम्बन्धित चिकित्सकसमक्ष परामर्श नलिँदा ढाड दुख्ने समस्या बढिरहेको हुन्छ । कुर्सीमा कसरी बस्नेभन्दा पनि धेरै समय बस्ने कुर्सीको बनावटमा विशेष ध्यान दिनुपर्छ । कुर्सीमा मानिस बस्दा केही भाग भित्र पसेकोजस्तो देखिन्छ । बस्दा यस्तो कर्पलाई ध्यान दिएर बस्नुपर्छ । हामी बस्दा सीधा ब्याक सपोर्ट भएको कुर्सीको प्रयोग गर्नुपर्छ ।

कम्मरको भागलाई अगाडि धकेल्ने खालका कुर्सी छनोट गर्नु राम्रो हुन्छ । त्यस्ता कुर्सीमा बसेर अफिस या घरको काम गर्दा शरीरलाई फाइदा हुनुका साथै स्वास्थ्य पनि राम्रो हुन्छ । कम्प्युटर चलाउँदा शरीरको अगाडिको भाग नझुक्ने गरी किबोर्डको उचाइ मिलाउनुपर्छ । आँखाको सीधा हुने गरी मनिटर राख्नुपर्छ । आई लेभल मनिटरसँग नमिलेमा आँखामा पनि समस्या हुन सक्छ । किबोर्ड र मनिटर साइडमा राखेर काम गर्दा जति वेला पनि शरीर बंग्याउनुपर्ने हुन्छ । यस्तो बानीका कारण धेरै मानिसमा ढाड दुख्ने समस्या पाइएको छ । किबोर्ड छातीको एंगल सीधा हुने गरी राख्नुपर्छ । मनिटर र किबोर्ड मिलाएर राखेमा ढाड दुख्ने मात्र नभएर अन्य समस्या पनि आउन दिँदैन ।

ख्याल नगरे के हुन्छ ? यति सामान्य कुरामा पनि हामीले ध्यान नदिने हो भने शरीरको हड्डी खिइने सम्भावना अत्यधिक रहन्छ । हड्डी खिइएपछि सो स्थानमा टुसा पलाउँदै जान्छ । यदि यसरी हड्डीमा टुसा पलाउँदै गएको खण्डमा पलाएको टुसाले नसालाई घोच्न सक्छ । जसका कारण खुट्टा पोल्ने, दुख्ने झमझमाउनेलगायत समस्या देखापर्न सक्छन् ।

नयाँ पत्रिकाबाट

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप