शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म

शुक्रबार, २६ असार २०८३, ०७ : ३१
शुक्रबार, २६ असार २०८३

सारांश

  • काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा गरिएको अनुगमनमा ७ मध्ये ५ वटा व्यवसायलाई जनस्वास्थ्यमा खेलबाड गरेको भन्दै कुल ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।
  • रोयल म:म एण्ड नेवारी खाजा घरलाई झिँगा र साङ्लाको सङ्क्रमण, अशुद्ध पानी र एउटै चक्कुको प्रयोग गरेकोमा २ लाख ५० हजार जरिवाना गरिएको छ।
  • अन्य चार व्यवसायलाई सरसफाइको कमी, म्याद नाघेका वस्तु प्रयोग र अखाद्य तेल प्रयोग गरेकोमा जनही ५ हजारदेखि २५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा जनस्वास्थ्यमा खेलबाड गर्ने विभिन्न खाद्य उद्योग, पसल तथा होटलहरूलाई कारबाही गरिएको छ। बुधबार काभ्रेको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेवेशी क्षेत्रमा गरिएको अनुगमनमा ७ वटा व्यवसायमध्ये ५ वटालाई कुल ३ लाख रुपैयाँ जरिवाना तिराइहो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेपलाञ्चोकको नेतृत्वमा गरिएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, नमोबुद्ध नगरपालिका, प्रहरी, सशस्त्र प्रहरी र पत्रकार महासंघलगायतका सरोकारवालाहरु सहभागी थिए । 

अनुगमनका क्रममा सबैभन्दा गम्भीर लापरवाही नमोबुद्ध-७ स्थित रोयल म:म एण्ड नेवारी खाजा घरमा पाइएको छ। विगत डेढ वर्षदेखि दर्ता नै नगरी सञ्चालनमा रहेको उक्त खाजा घरको भान्छामा झिँगा र साङ्लाको सङ्क्रमण भेटिएको थियो। 

साथै, ग्राहकलाई पिउनका लागि शुद्धीकरण नगरिएको पानी दिने गरेको र काँचो मासु तथा सलाद काट्न एउटै चपिङ बोर्ड र चक्कुको प्रयोग गरेको पाइएपछि टोलीले उक्त खाजा घरलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

यसैगरी, नमोबुद्ध-०९ स्थित नेवारी खाजा एण्ड भान्छा घरलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यहाँ भान्छाको सरसफाइ अत्यन्तै फोहोर रहेको, म्याद नाघेका खाद्य पदार्थ छुट्टै नराखेको र म्याद सकिएका बियर तथा हल्का पेय पदार्थहरू फेला परेका थिए।

त्यस्तै, मासु बिक्रीको उद्देश्यले दर्ता भएर होटल समेत सञ्चालन गरिरहेको उत्सव चिकेन हाउसलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ। उक्त पसलको डिप फ्रिजरको तापक्रम नमिलेको, काँचो मासु र पकाएको खानेकुरा एकै ठाउँमा राखेको तथा म्याद सकिएका पेय पदार्थ भेटिएको थियो।

अनुगमन टोलीले लोटस बेकरी एण्ड सप र माता चण्डेश्वरी मिठाई पसललाई जनही ५ हजार रुपैयाँ जरिवाना गरेको छ। लोटस बेकरीले म्याद सकिएको कृत्रिम रङ्ग प्रयोग गरी केक बनाउने गरेको पाइएको थियो भने माता चण्डेश्वरी मिठाई पसलले एउटै तेललाई पटक-पटक तताएर प्रयोग गरेको र फोहोर पानीको ट्याङ्की प्रयोग गरेको फेला परेको थियो।

अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका हल्का पेय पदार्थ, बियर, केकमा प्रयोग हुने कृत्रिम रङ्ग, एक प्याकेट मसला र पटक-पटक तताएर खान अयोग्य भएको करिब ५ लिटर खाने तेल टोलीले तत्कालै नष्ट गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप