शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

राताेपाटीकर्मी आचार्यसहित  चार पत्रकार पुरस्कृत हुने

शुक्रबार, २६ असार २०८३, ०७ : ०८
शुक्रबार, २६ असार २०८३

विराटनगर । विराटनगरमा रहेको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो १५औँ स्थापना दिवसको अवसरमा यसवर्ष चारजना पत्रकारहरूलाई पुरस्कृत गर्ने भएको छ। 

सहकारीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुरस्कृत हुने पत्रकारहरूको नाम टुङ्गो लगाएको हो। 

सहकारीले ५१ हजार रुपैयाँ राशिको  तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष एवं दर्शन दैनिकका सम्पादक शिवबहादुर कार्कीलाई प्रदान गर्ने निर्णय गरेकाे छ। 

यस्तै, ५० हजार रुपैयाँ राशिको  ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार रातोपाटी अनलाइनका विराटनगर संवाददाता अर्जुन आचार्यलाई प्रदान गर्ने निर्णय भएको संस्थाका अध्यक्ष दिपक दाहालले जानकारी दिए ।

यस्तै २१ हजार रुपैयाँ राशिको  मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार मकालु टेलिभिजनका संवाददाता पदम सरदारलाई   र १० हजार रुपैयाँ राशिको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार नेपाल टाइम्स अनलाइन टेलिभिजनकी पत्रकार रस्मिता उदासलाई  प्रदान गर्ने निर्णय गरेको छ। 

यी घोषित पुरस्कारहरू आगामी शनिबार दिउँसो नेपाल पत्रकार महासंघ माेरङ्काे विराटनगरस्थित सभाकक्षमा आयोजना हुने एक विशेष समारोहका बीच समर्पण गरिने सहकारीले जनाएको छ।

तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मानबाट राजेन्द्र दाहाल, प्रमोद प्रधान, मोहन भण्डारी र सुवास ढकाल सम्मानित भइसकेका छन्। त्यस्तै, ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट भीम चापागाईं, गजेन्द्र बुढाथोकी, अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, मोहन मानन्धर, नवराज कट्टेल, सुशीला पाठक र बन्धु पोखरेल सम्मानित भइसकेका छन्।

यसअघि  सञ्चार श्रमजीवी पुरस्कारबाट रोहितकुमार लुइटेल, मोहन मानन्धर, उद्धव घिमिरे, अभयकुमार राई, देवनारायण साह, मोहम्मद सदरुल, तारा आचार्य, बाबुराम भण्डारी, सन्तोष सिग्देल, नवीनचन्द्र कर्ण र अनिल श्रेष्ठ तथा महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई, बिनु तिम्सिना, ज्योति चौहान, उमा थापा, राजकुमारी तामाङ, एलिना दियाली, उषा सरदार, रञ्जीता पोखरेल, झुना भट्टराई र रुमा दाहाल निशा सम्मानित भइसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप