पशुपालन व्यवसायतर्फ महिला आकर्षित
पाल्पा - व्यावसायिक पशुपालनमा पुरुषसँगै महिला पनि आकर्षित हुँदै गएका छन् ।
व्यापार व्यवसाय, उद्योग, कलकारखाना, पसल, पशु तथा कृषि फार्मलगायत क्षेत्रमा पुरुषको वर्चस्व रहेकामा जिल्लाका महिला आर्थिक उपार्जनका निम्ति आफैँ सक्रिय भएर पशु फार्म व्यवसायमा संलग्न हुन थालेका छन् ।
व्यावसायिक पशु फार्म सञ्चालन गरी उनीहरुले मनग्य आम्दानी गर्न थालेका छन् । धेरै ठाउँमा महिलाले व्यवसाय चलाए पनि फार्म दर्ता पुरुषको नाममा हुने गरेकोमा पछिल्लो समय महिला आफ्नै नाममा फार्म दर्ता गरेर व्यवसाय चलाउन थालेका छन् । यहाँका महिलाले पशुपालनलाई बलियो आम्दानीको स्रोत बनाएर दिगो रुपमा व्यवसायलाई अगाडि बढाउँदै गएपछि आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएका छन् ।
पशुपालनबाट यथेष्ट फाइदा हुने देखेपछि शिक्षण पेसा छाडेर आर्यभन्ज्याङकी सावित्रा न्यौपाने कुखुरापालनमा लाग्नुभएको छ । दश वर्षसम्म शिक्षण पेसामा आबद्ध रहेका न्यौपानेले गत वर्षदेखि कुखुरा फार्म सञ्चालन गरेकी हुन् । “सुरुमा व्यवसायभन्दा ठूलो मानेर जागिर गरे, सामान्य खर्च धान्न पनि गाह्रो प¥यो,” – उनले भनिन्– “जीवनयापन गर्न नसकिने भएपछि कुखुरापालन सुरु गरेकी हुँ ।”
सहकारीबाट रु पाँच लाख ऋण झिकेर पाँच रोपनी जग्गामा कुखुरा फार्म सञ्चालन गरेकी हुन् । एक हजार कुखुराबाट व्यवसाय सुरु गर्नुभएका न्यौपानेले फार्म निर्माण, चल्ला, दाना खरिदमा रु २० लाख खर्च गरेकी छिन् । “एक वर्षमा खर्च कटाएर रु दुई लाख आम्दानी भयो,” उनले भनिन् । उनले तीन हजार कुखुरा पालेर वार्षिक रु पाँच लाख बढी आम्दानी लिने सोच बनाएकी छिन् ।
यस्तै, रमा घर्ती गाई फार्म सञ्चालन गरेपछि आत्मनिर्भर बनेकी छिन् । नौ वर्षदेखि व्यवसाय चलाएकी उनको फार्ममा अहिले १२ वटा माउ गाई रहेका छन् । रु नौ लाखको लगानीमा व्यवसाय चलाएकी घर्तीले मासिक रु ६० हजार आम्दानी गर्छिन् ।
पछिल्लो समय चेतना र शिक्षाको विकासका कारण महिला आफैँ सक्रिय भई आफ्नै नाममा व्यवसाय दर्ता गराउन थालेका छन् । रामपुरकी विष्णुदेवी गैरेले रु सात लाखको लगानीमा गाई फार्म चलाएकी छिन् । सातवटा होलस्टिन र जर्सी जातको गाई पाल्नुभएका उनले मासिक रु ४० हजार आम्दानी गर्छिन् ।
जिल्ला पशुसेवा कार्यालयमा पछिल्लो समय महिलाको नाममा फार्म दर्ता गर्ने कृषकको सङ्ख्या बढेको पाइएको छ । कार्यालयका पशु विकास अधिकृत डा चन्द्रबहादुर रानाका अनुसार महिलाले गाई र भैँसी फार्म १४, बाख्रा फार्म तीन, कुखुरा फार्म २२ र एउटा बङ्गुर फार्म चलाएका छन् । जिल्लाभरिमा गाई र भैँसी फार्म ८७, बाख्रा फार्म ७७, कुखुरा फार्म १३९ र बङ्गुर फार्म ५३ वटा रहेका छन् । कार्यालयले गाउँ गाउँमा पशु व्यवसाय प्रवद्र्धनका लागि तालिम, गोष्ठी, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै युवा लक्षित अनुदान रकम उपलब्ध गराउन थालेपछि पुरुषसँगै महिलाको पनि व्यावसायिक पशुपालनमा आकर्षण बढेको रानाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
-
काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण