बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

आजबाट शुरु हुँदैछ सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : ९५२ पदकका लागि ३९७२ खेलाडी भिड्ने

शुक्रबार, ०८ पुस २०७३, ०९ : ४०
शुक्रबार, ०८ पुस २०७३

काठमाडौं– आजबाट पूर्वाञ्चलमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदै छ ।

तयारी पूरा

–खेलकुदमन्त्री दलजित श्रीपाली, खेलकुुद सचिव महेशप्रसाद दाहाल र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिहीबार पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी सकिएको बताएका थिए ।

राष्ट्रपतिबाट उद्घाटन

–राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरको सहिद रंगशालामा प्रतियोगिताको उद्घाटन गर्नेछिन् ।

–उद्घाटन समारोह दिउँसो ३ बजेदेखि साँझ ५ बजेर २७ मिनेटसम्म चल्नेछ ।

–उद्घाटनको सुरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्यान्डले विशेष प्रस्तुति दिनेछन् ।

–नेपाल आर्मीले तेक्वान्दो ड्रिल प्रस्तुत गर्नेछ ।

–विराटनगरका १५ वटा विद्यालयका विशेष प्रस्तुति दिनेछन् ।

–सातौँमा सहभागी पाँच विकास क्षेत्र र तीन विभागीय टोलीले मार्चपाससमेत गर्नेछन् ।

–उद्घाटन समारोहमा प्रत्यक्ष रूपमा तीन हजार पाँच सयजना सहभागी हुनेछन् ।

९५२ पदकका लागि ३९७२ खेलाडी

–सातौँ राष्ट्रिय खेलकुदमा नौ सय ५२ पदकका लागि तीन तीन हजार नौ सय ७२ खेलाडीबीच प्रतिस्पर्धा हुने छ ।

–जसमा दुई सय ६८ स्वर्ण पदक हुनेछन् ।

–रजत पदकको संख्या पनि स्वर्ण जति नै हुनेछ ।

–चार सय ४७ कांस्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

–२९ सय १४ खेलाडीले छनोट चरण पार गरेर आएका छन् ।

–एक हजार ५८ खेलाडी भने खुला रूपमा छानिएका छन् ।

–खेलाडी, निर्णायक, प्रशिक्षक, व्यस्थापक र संघ प्रतिनिधि गरी पाँच हजार आठ सय ४९ जनाले प्रत्यक्ष रूपमा भाग लिनेछन् ।

चौथो प्रयासमा सातौँ खेलकुद

–सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा भएको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दुई वर्षपछि हुनुपर्ने सातौँ बृहत् खेलकुद पाँच वर्षपछि सम्भव भएको छ । राजनीतिक खिचातनीले प्रतियोगिता प्रभावित हुँदै आएको थियो ।

–परिषद्ले यसअघि तीनपटक स्थगित भएको सातौँ राष्ट्रिय खेलकुद चौथो मितिमा आयोजना गर्न लागेको हो ।

–गत वर्ष सदस्यसचिवमा नियुक्त भएलगत्तै विष्टले २०७२ मंसिरका लागि सातौँको मिति घोषणा गरेका थिए । तर, समयमै बजेट नआएको भन्दै अन्तिममा स्थगित गरिएको थियो ।

–गत वर्षको फागुनका लागि सातौँको मिति तय गरिए पनि फेरि स्थगित गरियो । त्यसबेला पनि खेलकुद परिषद्ले बजेटलाई नै मुख्य समस्या देखाएको थियो ।

–गत मंसिरका लागि तय भएको थियो । तर, बजेट तथा विभिन्न कारण देखाउँदै सातौँको नयाँ मिति ८ देखि १५ पुससम्मका लागि तोकिएको थियो ।

२९ करोड बजेट

–प्रतियोगिताका लागि सरकारले २९ करोड बजेट उपलब्ध गराएको छ ।

–सरकारले बजेट भाषणमार्फत २० करोड दिने घोषणा गरेको थियो ।

–केही दिनअघि मात्र थप ८ करोड रकम निकासा भएको थियो ।

संयुक्त रूपमा उच्च सुरक्षा सतर्कता

–सहिद रंगशालामा उद्घाटन हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उच्च सुरक्षा सतर्कता अपनाइने छ ।

–प्रतियोगिता उद्घाटन हुने सहिद रंगशालमासहित विराटनगरका सबै नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानले संयुक्त सुरक्षा प्रदान गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप