बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

कतारबाट फर्केर पाखोमा पैसा फलाउँदै केशरबहादुर

शुक्रबार, ०८ पुस २०७३, १३ : ५३
शुक्रबार, ०८ पुस २०७३

मोरङ - मोरङको वारङ्गी–६ कुम्लेटारका ४१ वर्षीय केशरबहादुर खड्काले सात वर्ष कतारमा पसिना बगाए ।

सात वर्ष कतार बसे पनि आम्दानी सोचे जस्तो भएन । भ्याकु अपरेटर काम गरेका उनले त्यहाँ परिवारका लागि पुग्ने गरी कमाउन सक्नु भएन । कम्पनीले भनेजति पैसा नदिए पनि परिवार चलाउनकै लागि खडकाले कतारमा सात वर्ष समय बिताए ।

पाँचजनाको परिवारको जिम्मेबारी बोकेका उनले केही समयअघि स्वदेश फर्केपछि थोरै पाखोबारी किने । सानोे घर पनि बनाए । स्वदेशमै केही गर्ने सोच बनाएपनि खडकासँग लगानी गर्न पर्याप्त बजेट भएन । कोलबोटे सामुदायिक संस्थाबाट उनकी श्रीमती मनकुमारीले रु २५ हजार ऋण लिइन् ।

गाउँमा एकीकृत गरिबी निवारण कोषको कार्यक्रम सञ्चालित थियो । उनले ऋण लिएको सामुदायिक संस्थाले गरिबी निवारण कोषबाट आयआर्जनका लागि अनुदान पायो । त्यहीबाट खडकाले १२ प्रतिशत ब्याजदरमा ऋण लिएर लगानी गरे । सो ऋणबाट तीन रोपनी पाखोबारीमा अदुवा र एक रोपनी पाखोबारीमा गोलभेँडा रोप्नुका साथै दुई वटा बाख्राको पाठा खरिद गरे ।

उनले भने – “विदेश त कोही पनि नजाओस्, विदेशको जति परिश्रम स्वदेशमा गरे जति पनि पैसा कमाउन सकिने रहेछ ।” खडकाको बारीमा अहिले अदुवा बिक्रीका लागि तयार भइसकेको छ । प्रतिबोट तीन किलोसम्म अदुवा फलेको छ। गोलभेँडा पनि पाक्न थालेको छ । प्रतिबोट चार किलोसम्म गालभेँडा उत्पादन भएको खड्काको भनाइ छ । गाउँमा उत्पादित वस्तु बिक्रीका लागि बजारसम्म लैजानु नपर्ने उनले बताए । उत्पादन दिनुभन्दा अघि नै व्यापारीले खरिदका लागि बैना दिएका छन् ।

उत्पादन भएको आम्दानीबाट ऋण तिर्ने र बाँकी पैसाले घर खर्च र बालबालिकाको पठनपाठनका साथै बचत गर्छु भन्दै खडकाले “कुम्लेटार क्षेत्रमा सिँचाइका लागि पानीको समस्या नहुने हो भने भएको सबै पाखोबारी भाडामा लिएर भए पनि काम गर्ने सोच रहेको बताए ।

परिवारसँग बसेर आम्दानी गर्दा छुट्टै आनन्द हुन चर्चा गर्दै खडका भन्छन्– “हाम्रा गाउँका धेरै युवा विदेशिएका छन्, स्वदेशमा लगानी गरे विदेशको भन्दा बढी कमाउन सकिन्छ”, उनको कामले गाउँमा अरुलाई जागरण ल्याएको कोलबोटे सामुदायिक संस्थाकी अध्यक्ष पवित्रा विश्वकर्माले बताइन् ।

कोलबोटे सामुदायिक संस्थाको सफल कृषक भएको खडकाको कामप्रतिको लगनशीलताले गर्दा संस्थाले पहिलो पटकको उनको ऋण भुक्तानीपछि पुनः ऋण लगानी गर्ने सोच बनाएको उनले बताइन् ।

कोलबोटे सामुदायिक संस्थाबाट धेरैले ऋण लगे पनि खड्काको जतिको प्रगति गर्न नसकेको कोषाध्यक्ष देवीमाया कुरुङ्वाङको भनाइ छ । उनले भनिन् – “आजभोलि संस्थाका सदस्यहरु खडकाको कामप्रति प्रभावित भएका छन् ।” वैदेशिक रोजगारीबाट फर्केकाहरु पनि उनकामा गएर बाली लगाउने तरिका र संरक्षणबारे पनि सिक्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप