शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

चक्रिवाङमा खानेपानीको चरम अभाव, २५ घरधुरी एउटै कुवामा आश्रित

आइतबार, २४ वैशाख २०७४, १७ : ४२
आइतबार, २४ वैशाख २०७४
राधिका भुसाल प्यूठान, बैशाख २४– प्यूठान नगरपालिका ३ विजयनगरका समुदाय आजभोलि जुम्रीखोला सुकेकोमा चिन्तित देखिन्छन् । उनीहरु न त खेतबारीमा पानी हाल्न नपाएर चिन्तित भएका हुन् न त नुहाउन, कपडा धुन नपाएर नै दैनिक जिविका चलाउन नभै नहुने शुद्ध खानेपानीको अभावमा उनीहरु चिन्तित भएका हुन् । चक्रिवाङ्गका समुदायले खाँदै आएको जुम्रीखोला किनारको पानीको मुल खोलो ठुलो हुँदा ठुलो हुने र खोलो सुक्दा सुक्ने भएकाले चक्रिवाङमा खानेपानीको चरम अभाव देखिन थालेको छ । जसका कारण स्थानीयवासी २५ घरधुरीले एउटै कुवाको पानी खान बाध्य छन् । २५ घरधुरी रहेको चक्रिवाङवासीहरुले वर्षातको समयमा धमिलो पानी खानपर्ने र हिउँदको समयमा मुल नै सुकेपछि पानी ल्याउन १ कोष टाढा जान पर्ने बाध्यता रहेका स्थानीय चक्रिबाङबासीको समस्यातर्फ अहिले सम्म कसैको ध्यान जान सकेको छैन । ‘जुम्री खोलाको किनारमै मुल छ’ स्थानीयवासी माधव मगरले भने– ‘बर्षाको समयमा मुलमा पानी ल्याउन जाँदा खोलाले बगाउने डर हुन्छ तर आजभोलि त त्यहि मुल पनि सुकेर साह्रै सास्ती भोग्नु परेको छ ।’ मौका छोप्दै पानी बोक्दै खानेपानीको समस्या भएपछि शोभबहादुर नेपालीको जग्गामा रहेको मेथीखोलाको मिल मुनिको मुलबाट पानी ल्याउन बाध्य छन् उनीहरु । उक्त मुलपानी मिलको तलपट्टी भएका कारण मिल नचलेका बेलामा मात्र पानी भर्न मिल्ने हुंदा बिहान साँझको मौका छोपेर मात्र पानी भर्न पाउने स्थानीयवासी हिरा खड्काले बताइन् । कहिले कसो विद्यालय जाने समयमै मिल बन्द भएपछि गाग्री टिपेर पानी लिन जानु पर्छ कक्षा दशमा अध्ययनरत विद्यार्थी कमला परियारले भनिन्–‘बुबा आमा बिहानै पसलमा जानु हुन्छ घरधन्दा गरेर स्कुल जानु पर्ने त्यसमाथि पानीको समस्याले गर्दा पढ्ने समय त पानी बोक्नमा नै खर्च हुने गर्छ ।’ चक्रिवाङ्गवासीको खानेपानी समस्यातर्फ वडाको योजनाबारे प्यूठान नगरपालिका– ३ का वडा सचिव ध्वजबहादुर केसीले सानो योजनाले वस्तीको आवश्यकता पूरा नहुने भएकाले पनि वडाबाट पानीको समस्या समाधान गर्न नसकिएको तथा नजिक खानेपानीको मुल नभएकाले पनि ठूला योजना पार्न नसकिएको बताए । माल्लेवडारबाट आउने योजनाको पानीको एक दुई वटा प्वाइन्ट ल्याएर त्यस बस्तीको समस्या समाधान गर्ने तर्फ आफुहरु लागि परेकोसमेत सचिव केसीले बताए । बृहत योजनाले छोएन चक्रिवाङको बस्तीलाई नजिकै रहेको बृहतखाने पानीले पनि चक्रिवाङलाई नछोएपछि बषौं खोलाकिनारकै बर्षातको धमिलो र हिउँदको फोहोर पानी खाँदै आएका छन् । उक्त बस्ती देखि झन्डै एक किलोमिटर पारी टारीका बस्तीहरुमा बृहत पानी व्यवस्था तथा रातामाटाको कुमाल समुदाय तथा दैलिसिमलमा विभिन्न खानेपानी योजना अन्तर्गत पानीको व्यवस्था भए पनि चक्रिवाङलाई २ वटा प्वायन्ट माग्दा समेत नदिएपछि स्थानीयहरुले फोहोर पानी खान बाध्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप