शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

हुम्लामा खाद्यान्न ढुवानीमा नीजिको आलटालपछि सेनाको स्काई ट्रकबाट शुरु

आइतबार, २४ वैशाख २०७४, १८ : २२
आइतबार, २४ वैशाख २०७४
आकाश तारा बयक सुर्खेत, वैशाख २२ –हुम्लामा खाद्यन्न अपुग भएपछि नेपाल खाद्य संस्थान सुर्खेतले ढुवानी शुरु गरेको छ । निजी विमान सेवाले ढुवानी गर्न आलटल गरेपछि संस्थानले नेपाली सेनाको स्काइ ट्रक मार्फत शनिबारदेखि खाद्यन्न ढुवानी शुरु गरिएको जनाएको छ । कर्णालीका विभिन्न जिल्लामा नियमित ढुवानी गर्दै आईरहेका निजी विमान सेवा कम्पनीहरु लुक्लातिर पर्यटक ओसार्न व्यस्त भएपछि हुम्लामा ढुवानी प्रभावित भई खाद्यन्न अभाव भएको हो । वार्षिक ढुवानी लक्ष्यसँगै चुनाव पनि नजिएकाले स्काई ट्रकको निर्णय भएको खाद्य संस्थान शाखा सुर्खेतका प्रबन्धक भिमबहादुर थापाले बताए । ‘स्काई ट्रकको प्रयोग पहिलोपटक हो । यसले हुम्लाको सदरमुकामसम्म पु¥याउँछ,’ उनले भने, ‘शनिबारदेखि शुरु भएको ढुवानी शुक्रबारसम्म दुई सय क्विन्टल चामल ढुवानी भएको छ ।’ हुम्ला सदरमुकाममा २५ सय क्विन्टल ढुवानी गरिने छ । सेनालाई ५० लाख रुपैयाँ संस्थानको केन्द्रबाटै पेस्की पनि दिइसकिएको उनले जानकारी दिए । उनका अनुसार हुम्लाको दक्षिण भेग तथा बाजुरीको उत्तरी क्षेत्रमा पर्ने श्रीनगर डिपोका लागि ३ हजार एक सय ५७ र सर्केगाढ डिपोका लागि ३ हजार १ सय १३ क्विन्टल चामल पुगिसकेको छ । हुम्ला जिल्लाभरीका लागि १८ हजार पाँच सय क्विन्टल स्वीकृत गरिएको छ । हुम्ला सदरमुकामका लागि १३ हजार क्विन्टल कोटा रहेको छ । सदरमुकामका लागि स्वीकृत कोटामध्ये ७२ प्रतिशत हवाई मार्गबाट ढुवानी गर्नुपर्छ । साढे ६ हजार क्विन्टल व्यवसायीले हवाई मार्गबाट ढुवानी गरेका थिए । व्यवसायीले प्रतिकिलो ७९ रुपैयाँको दरले ढुवानी गरेको संस्थानको तथ्यांकमा उल्लेख छ । यसअघि संस्थानले टेन्डर प्रक्रियामार्फत ढुवानी गर्दै आएको थियो । व्यवसायीले ढुवानी भाडा कम भएको भन्दै माघदेखि ढुवानी गर्न छाडेका थिए । वार्षिक ढुवानी लक्ष्यसँगै चुनाव पनि नजिएकाले वैकल्पिक व्यवस्था गर्न खाद्य संस्थान बाध्य भएको हो । स्काई ट्रकबाट ढुवानी गर्दा प्रतिकिलो ७ रुपैयाँ महँगो छ । संस्थानले सेनाका लागि प्रतिकिलो करिब ८६ रुपैयाँ तोकेको छ । व्यवसायीले भने प्रतिकिलो ७९ रुपैयाँमा ढुवानी गर्दै आएका थिए । सेनाले ढुवानीमा १२ प्रतिशत छुट दिएको संस्थानको भनाइ छ । ‘सेनाका लागि टेन्डर अव्हान गरिएको होइन,’ सुर्खेत शाखा प्रबन्धक थापाले भने, ‘१२ प्रतिशत सहुलियतसहित प्रतिकिलो ८६ रुपैयाँ लागत पर्दछ ।’ उनले सेनासँग ‘जी टु जी’ प्रक्रियाबाट ढुवानी गरिएको जिकिर गरे । यसअघि हेलिकप्टरबाट प्रतिकिलो २ सय १० रुपैयाँको दरले ढुवानी भएको थियो । ‘सुक्खाका कारण दशै, तिहार ताका खाद्यान्न अभाव भएपछि मन्त्रीस्तरीय निर्णयअनुसार हेलिकप्टर प्रयोग गरेर ढुवानी ग¥यौं,’ प्रबन्धक थापाले भने, ‘आपतकालीन अवस्था भएकाले ढुवानी दर बढी देखिएको हो ।’ साउन–भदौमा हुम्लाको गाउँतिर ढुवानी भएको थियो । लामो समयसम्म खडेरीका कारण हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्लालगायतमा खाद्य संकट भएको छ । डोल्पामा करिब ९० प्रतिशतले खडेरी भएको कृषि कार्यालयको भनाइ छ । कर्णालीको उत्पादनले स्थानीय जनतालाई पनि पुग्दैन । यस वर्ष उत्पादनमा थप गिरावट भएकाले तत्काल आपूर्ति बढाउनुपर्ने सरोकारवालाको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप