शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

धुलिखेललाई पर्यटनको हब बनाइने

सोमबार, २५ वैशाख २०७४, ०८ : ३०
सोमबार, २५ वैशाख २०७४
बनेपा, २५ वैशाख । स्थानीय तह निर्वाचनका लागि धुलिखेलमा प्रमुख राजनीतिक दलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न धुलिखेलमा दलहरुले बाजागाजासहित घरदैलो अभियान तीव्र बनाएका छन् । खानेपानी, सडक, पर्यटन प्रवद्र्धनलगायत चुनावी नारा लिएर घरदैलो अभियान सुरु गरेका सबै राजनीतिक दलले निर्वाचनको परिणाम आफ्नो पक्षमा पर्ने जिकिर गर्दै धुलिखेललाई पर्यटनको हब बनाउने बताएका छन् । स्थानीय तहमा लामो सयमको रिक्ततापछि हुन लागेको निर्वाचनमा खासगरी नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने बताइएको छ । यसबाहेक धुलिखेलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल, फोरम लोकतान्त्रिक पार्टीलगायत पार्टी पनि प्रतिस्पर्धामा उत्रेका छन् । काँग्रेसका तर्फबाट धुलिखेल नगरपालिकाको नगरप्रमुखका उम्मेदवार रमेश हुमागाईं धुलिखेललाई पर्यटन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिएको बताउँछन् । उनले धुलिखेललाई शिक्षा र स्वास्थ्यको समेत हब बनाइने बताए । “पिछडिएको वर्ग, दलित, जनजातिको आर्थिक स्तर उकास्न सामाजिक सुरक्षाको विशेष व्यवस्था गरिनेछ,” उनले भने । यस्तै नेकपा एमाले, काभ्रेपलाञ्चोकका उपाध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुखका उम्मेदवार अशोक व्याञ्जु धुलिखेल नगरपालिकाका सबै वडालाई विकास मोडलका रुपमा विकास गर्न उत्पादनको पहिचान गरिने बताउँछन् । उनले दलित, जनजाति र पिछडिएको वर्गलाई परिषद् बनाएर आर्थिक उर्पाजनको काम गर्ने लक्ष्य लिएको बताए । नेकपा माओवादी केन्द्रका तर्फबाट धुलिखेल नगरपालिकाको नगरप्रमुखका उम्मेदवार सरस्वती लामाले पर्यटन पूर्वाधार र निर्माणसँगै धुलिखेललाई कृषि पर्यटनका रुपमा विकास गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको बताइन् । धुलिखेलको ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर विकासका योजना अघि बढाइने उनको भनाइ छ । “पुनः संरचनापछि हामीले नयाँ सोच र योजनाका साथ निर्वाचनमा सहभागी भएका छौँ त्यसैले हाम्रो योग्यता पहिचानको आवश्यकता छ,” उनले भनिन् । धुलिखेल नगरपालिका आसपासको रविओपी, पात्लेखेत, देवीटार, शङखु, शारदा वतासेका केही वडा अहिले पुनः संरचनापछि धुलिखेल नगरपालिकाको क्षेत्रमा पर्छन् । १२ वटा वडा रहेको धुलिखेल नगरपालिकामा २० हजार चार सय ३० मतदाता सङ्ख्या रहेको छ । काठमाडौँबाट ३० किमीको दूरीमा धुलिखेल समुन्द्र सतहबाट करिब एक हजार ६ सय २५ मिटर उचाइमा अवस्थित छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप